ad ad

कारोबार


१० अर्ब लागतको जुमखोला जलविद्युत् आयोजना लगानी स्वीकृत हुँदै

१० अर्ब लागतको जुमखोला जलविद्युत् आयोजना लगानी स्वीकृत हुँदै

दीपक भट्ट
असोज २२, २०७८ शुक्रबार २०:४२, काठमाडौँ

१० अर्ब लगानीको जुमखोला जलविद्युत आयाेजना लगानी स्वीकृतिकाे तयारीमा रहेकाे छ।

आयोजनाले  सम्भवत: भाेली (शनिबार) लगानी स्वीकृति पाउँदैछ। लगानी स्वीकृतिका लागि लगानी बोर्डमा पुगेको प्रस्ताव बोर्डले स्वीकृत गर्ने गरी अघि बढेको छ।

लगानी बोर्डले आजै सो लगानी स्वीकृत गर्ने योजना बनाएको थियो। र, त्यही अनुसार अपरान्ह ४ बजे बैठक समेत राखेको थियो। तर बोर्ड अध्यक्ष रहेका प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार गर्नमा व्यस्त भएकाले सो लगानी आज स्वीकृत हुन सकेन।

बोर्डका उपसचिव रमेश अधिकारीका अनुसार आजको बैठक शनिवारका लागि सारिएको छ। बैठकको प्रमुख एजेण्डा नै जुमखोला जलविद्युत आयोजनाको लगानी स्वीकृत गर्ने रहेको उपसचिव अधिकारीले जानकारी दिए। 

कस्तो आयोजना हो जुमखोला?
जलविद्युत कम्पनी सानिमा माइ हाइड्रोपावर लिमिटेडले विकास गर्न लागको यस आयोजनाको कुल लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ। दोलखामा निर्माण हुने यस आयोजना ५६ मेगावाट क्षमताको हो।

गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने विगु गाउँपालिका–१ मा उक्त आयोजना निर्माण प्रस्ताव रहेको छ।  

आयोजनामा डिजाइन डिस्चार्ज २५ दशमलव ४५ घनमिटर प्रतिसेकेन्ड रहेको छ। आयोजनाले गौरीशंकर संरक्षण क्षेत्रको १५ दशमलव ९७ हेक्टर जग्गा प्रयोग हुने लगानी बोर्डमा प्रस्ताव भएको विवरणमा उल्लेख छ।  आयोजनाबाट वार्षिक ३२४ दशमलव ७५ गिगावाट घण्टा उर्जा उत्पादन हुने बताइएको छ। 

गैरआवासीय नेपालीहरुको लगानी रहेको यस सानिमा माइ हाइड्रोपावर लिमिटेडको अध्यक्ष टेकराज निरौला रहेका छन्। उनीसहित यस कम्पनीमा सेयर स्वामित्व हुनेले यस आयोजनामा लगानी गर्ने छन्।  

शनिवार हुने बोर्ड बैठकमा अरु प्रस्ताव केके छन्?
शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक लगानी बोर्डको बैठक बस्न लागेको हो। अर्थमन्त्री उपाध्यक्ष तथा  उद्योग मन्त्री, उर्जा मन्त्री लगायत निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने यस बोर्डको ४८ औँ बैठक बस्न लागेको हो। शनिवार हुने बैठकले जुमखोला जलविद्युत आयोजना लगायत अन्य विषय समेत समावेश गरेको उपसचिव अधिकारी बताउँछन्। 

उनले भने, ‘केही आयोजनाको पूँजी वृद्धि, वित्तीय व्यवस्थापनका ढाँचा स्वीकृतिलगायतका एजेण्डा रहेका छन्। त्यसमा अरुण तेस्रो जलविद्युत आयोजनाको पूँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका एजेण्डा समावेश छन्।’

बोर्डको वार्षिक बजेट पनि पारित गर्ने प्रस्ताव समेत समावेश रहेको छ। 

यस्तै, बोर्डले तयार गरेको व्यावसायिक तथा रणनीतिक योजना समेत अनुमोदन गर्ने प्रस्ताव बोर्डका सीईओ सुशिल भट्टले बैठकमा गर्ने छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .