ad ad

कारोबार


पाटा नेपालले गर्‍यो नेपाल–बंगलादेश पर्यटन प्रवर्द्धन तथा बीटूबी एक्सचेन्ज  कार्यक्रम

पाटा नेपालले गर्‍यो नेपाल–बंगलादेश पर्यटन प्रवर्द्धन तथा बीटूबी एक्सचेन्ज  कार्यक्रम

नेपालखबर
मंसिर ६, २०७८ सोमबार १७:२९, काठमाडौँ

पाटा नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरसँगको सहकार्यमा यही १६ देखि २१ नोभेम्बर २०२१ सम्म ‘नेपाल–बंगलादेश पर्यटन प्रवर्द्धन र बीटूबी एक्सचेन्ज’ कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। 

पाटाको नेपाल र बंगलादेश च्याप्टरहरुबीचको यो संयुक्त सहकार्यमा सम्पन्न उक्त कार्यक्रम कोभिड–१९ पश्चातको पर्यटन पुनरुत्थानका लागि आवश्यक पहलको रूपमा दुई छिमेकी राष्ट्रहरू बीचको आन्तरिक र बाह्य पर्यटन लाई आपसी गठबन्धन र सहयोगको माध्यमबाट एकअर्काको गन्तव्यहरू प्रवर्द्धन गर्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको हो।

पाटा नेपालले  आफ्ना सदस्य र साझेदार संस्थाहरूको सहयोगमा बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक र सचिव, पाटा बंगलादेशका अध्यक्ष र महासचिव, १० टुर अपरेटरहरू, २ सञ्चारकर्मी  र पाटा बंगलादेश ढाका युनिभर्सिटी स्टुडेन्ट च्याप्टरका २ विद्यार्थीहरू सहित १७ सदस्यीय बंगलादेशी प्रतिनिधिमण्डललाई नेपाल आमन्त्रण गरेको जनाएको छ। 

उक्त कार्यक्रम अन्तर्गत १७ देखि १९ नोभेम्बर २०२१ सम्म बंगलादेशी प्रतिनिधिहरूका लागि आयोजना गरिएको पोखराको परिचयात्मक भ्रमणका क्रममा १८ नोभेम्बरका दिन  होटल वाराहीमा पोखरा पर्यटन परिषद् र पर्यटन बोर्ड पोखराको सहकार्यमा ७० भन्दा बढी टुर अपरेटर र सेवा प्रदायकहरुको उत्साहजनक सहभागितासहित ‘पर्यटन नेटवर्किङ र अन्तर्क्रिया सत्र’ समेत आयोजना गरिएको थियो। 

औपचारिक कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य व्यक्त गर्दै पाटा नेपालका अध्यक्ष विभूति चन्द ठाकुरले पर्यटन पुनरुत्थान कार्ययोजनाका रूपमा तत्काल क्षेत्रीय यात्रालाई प्रवर्द्धन गर्नुपर्ने कुरामा जोड दिए।  

उनले पर्यटकहरु र गन्तव्य व्यवस्थापन संस्थाहरू वा सेवा प्रदायकहरूका लागि समेत सबैभन्दा उपयुक्त बाटो भएको औँल्याए।  

लामो दूरीको यात्रा रिकभर हुन अलि बढी समय लाग्ने भएकाले सडक वा छोटो दूरीको उडानबाट पुग्न सकिने नजिकका गन्तव्यहरुलाई पर्यटन पुनर्सुचारू एवं पुनरुत्थान गर्न बढी अवसर रहेको बताउँदै नेपाल–बंगलादेश १ घण्टाभन्दा कम उडान समयले नजिक भएको अवस्थामा यस सहकार्यमार्फत दुई देशबीचको पारस्परिक आन्तरिक तथा बाह्य पर्यटनको व्यवसायिक सम्भावनालाई सुदृढ गर्न नयाँ मार्गनिर्देशन हुने अपेक्षा रहेको बताए।   

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मी र बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक तथा उपसचिव मोहम्मद सैफुल हसनले आ–आफ्नो गन्तव्यबारे जानकारी तथा नेपाल र बंगलादेशबीचको पर्यटन आदानप्रदानको सम्भावनाबारे विचार एवं प्रस्तुति पेश गरे। 

साथै, हिमालय एयरलाइन्सको ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले बंगलादेश लगायत अन्य क्षेत्रहरूमा हिमालय एयरलाइन्सको सञ्चालन योजनाहरूबारे प्रश्तुतिकरण पेश गरिन्।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै पाटा बङ्गलादेशका अध्यक्ष शहीद हमिदले नेपालको न्यानो आतिथ्यबाट आफू सारै मोहित एवं प्रभावित भएको र बंगलादेशी यात्रुहरूलाई आकर्षित गर्न नेपालमा धेरै आकर्षक पर्यटन उत्पादन तथा सेवाहरू रहेको बताए। 

उनले महामारी अघि वार्षिक २६ हजार बंगलादेशीलाई नेपालले स्वागत गर्ने गरेको र यसलाई प्रभावकारी प्रवर्द्धन र मार्केटिङ पहलबाट दोब्बर सहज रुपमा भित्र्याउन सकिने बताए । 

कार्यक्रममा प्रमुख अतिथि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले नेपाल र बंगलादेशका पाटा च्याप्टरले क्षेत्रीय पर्यटन प्रवर्धनका लागि आवश्यक र समयसापेक्ष पहल गरेकोमा धन्यवाद ज्ञापन गरे। 

उनले नेपाल र बंगलादेशमा पर्यटन फस्टाउनका लागि नेपालले आफ्नो सहयोगी मार्केटिङ र प्रवर्द्धनात्मक कार्यक्रमहरू बढाउनपर्ने, यात्राहरू आयोजना गर्नुपर्ने, पूर्वाधारहरु (विशेष गरी सडक जडान) स्तरोन्नति गर्नुपर्ने  तथा बंगलादेश र नेपालका पर्यटकहरूका लागि विस्तारित टुर प्याकेजहरू विकास गर्न आवश्यक रहेको बताए। 

उनले नेपाल र बंगलादेशबीचको पर्यटन सम्बन्धलाई अभिवृद्धि गर्न पर्यटन मन्त्रालयले सरकारी स्तरमा आवश्यक सहयोग र सहयोग गर्ने आश्वासन समेत दिए।

यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र बंगलादेश पर्यटन बोर्डले प्रवर्द्धन गरेको थियो भने हिमालय एयरलाइन्स र बुद्ध एयर (एयरलाइन्स पार्टनर्स), पोखरा टुरिजम काउन्सिल (आयोजक साझेदार), द रोयल माउन्टेन ट्राभल (ट्रान्सपोर्टेसन पार्टनर), र हस्पिटालिटी पार्टनर्सको रुपमा  द एभरेष्ट होटल, केजीएच ग्रुप अफ होटल्स, अलफ्ट, र्याडिसन, सिद्धार्थ होटल र द ओल्ड इन ले सहयोग गरेका हुन्।  

बंगलादेश टुरिजम बोर्डले पाटा बंगलादेश च्याप्टरसँग मिलेर दुवै देशबीचको पर्यटन विकासको आपसी सम्भावनालाई थप आदानप्रदान र विस्तार गर्न पाटा नेपालमार्फत नेपाली समकक्षीहरूलाई चाँडै बंगलादेश भ्रमण गर्न आमन्त्रण गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .