एनआईसी एसिया बैंकले मंगलबार जारी गरेको ‘सुपर चामत्कारिक मासिक निक्षेप खाता’बारे प्रकाशित समाचारबारे ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण दिएको छ।
बैंकका अनुसार ग्राहकलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले ‘सुपर चामत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरिएको हो। ‘उक्त योजना बैंकको सुपर चामत्कारिक रिकरिङ्ग निक्षेप खाताको नाम परिर्वतन मात्र रहेको समेत जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘आम जनमासहरुलाई सजिलोसँग बुझ्न र बुझाउन सजिलो होस् भन्ने हेतुले यस योजनालाई सुपर चामत्कारिक मासिक निक्षेप खाता भनी नामाङ्कन गरिएको हो।’
रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना रहेको जनाउँदै बैंकले यसमा ग्राहकले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तीय स्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सकिने जनाएको छ।
रिकरिङ्ग निक्षेप योजना अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत निकै नै प्रचलित एवं पहिलादेखि नै सञ्चालनमा रहेको योजना रहेको दाबी बैंकले गरेको छ। नेपालमा समेत केही बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप स्रोत परिचालन गरिरहेका छन्।
बैंकले सार्वजनिक गरेको सुपर चामत्कारिक खाताहरुअन्तर्गत उक्त सुपर चामत्कारिक मासिक निक्षेप खाता बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिनादेखि १० वर्षसम्मको लागि आफ्नो आवश्यकताअनुुसार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्ने बैंकले जनाएको छ।
प्रतिक्रिया