ad ad

कारोबार


जनकपुरधामका मेयरको मनपरी : आसेपासेलाई बाँडे एक करोड रुपैयाँ

जनकपुरधामका मेयरको मनपरी : आसेपासेलाई बाँडे एक करोड रुपैयाँ

फाइल तस्बिर


शैलेन्द्र महतो
बैशाख ६, २०७९ मंगलबार १७:३६, काठमाडौँ

जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक सहायता वितरणमा मनपरी गरेको पाइएको छ। 

मेयर लाल किशोर साहको निर्देशनमा उपमहानगरपालिकाको कार्यालयले आफूखुसी निकटहरुलाई झण्डै एक करोड रुपैयाँ बाँडेको हो। 

आर्थिक वर्ष २०७५/०७६ यता मेयर साहले ५ हजारदेखि ५ लाख रुपैयाँसम्म नियमविपरीत आर्थिक सहायता दिएका हुन्। 

जनकपुरधाम उपमहानगरपालिकाले हालसम्म आर्थिक सहायतासम्बन्धी कुनै कानुन र मापदण्ड बनाएको छैन। 

तर नगरसभाको एकलाइन निर्णयबाट मेयर साहले राहत वितरण गर्दै आएका हुन्। मेयर साहले तोकको आधारमा आफूखुशी निकट व्यक्ति, आसेपासे तथा संघसंस्थालाई झण्डै एक करोड रुपैयाँ बाँडेका हुन्।   

सूचनाको हकमार्फत उपमहानगरपालिका कार्यालयले नेपालखबरकर्मीलाई उपलब्ध गराएको आर्थिक वर्ष  २०७५/०७६ देखि हालसम्मको आर्थिक सहायता वितरण विवरणमा यस्तो तथ्य खुलेको हो। 

आ.व.२०७५/०७६ देखि गत चैत २४ गतेसम्म मेयर साहले ९० लाख ९४ हजार ६०५ रुपैयाँ वितरण गरेको छ। जसमा कतिपय संस्था र व्यक्तिलाई त २÷३  पटकसम्म  आर्थिक सहायताका नाममा रकम वितरण गरिएको छ। 

आर्थिक वर्ष २०७८/०७९ को नगरसभाको निर्णय अनुसार मेयरले ७५ हजारसम्म तोकेको आधारमै वितरण गर्ने व्यवस्था छ। आर्थिक सहायता वितरण सम्बन्धमा २०७८/०७९ मा नगरसभाले एउटा निर्णय गरेको छ।

‘निर्णय नं. ४.१५ यस उपमहानगरपालिकाले शैक्षिक संघसंस्थालाई सहायता, धार्मिक तथा सांस्कृतिक संस्थालाई सहायता, अन्य सामाजिक सहायता र अन्य सहायताको शीर्षकबाट ७५ हजार रुपैयाँसम्म सहायता प्रदान गर्ने अख्तियारी नगर प्रमुखलाई दिने निर्णय गरियो,’ नगरसभाको निर्णयमा उल्लेख छ। 

त्यसअघि आ.व. २०७५/०७६ देखि २०७७/०७८ सम्मको अवधिमा वर्षे नगरसभाबाट ६० हजार बाँड्ने निर्णय गरेको थियो। तर, त्यस अवधिमा मेयर साहले नगरसभाकै निर्णय विपरीत ५ हजारदेखि ५ लाख रुपैयाँसम्म बाँडेको तथ्यांकमा देखिएको छ। 

कसलाई कति?
जसअनुसार आ.व.२०७५/०७६ मा जानकी नवमी महामहोत्सव मूल समारोह समिति जानकी मन्दिरलाई ५ लाख, सूर्य युवा क्लब भोइल धनुषा १ लाख ५१ हजार, सामुदायिक मेलमिलाप कार्यक्रम कुर्था २१ लाई एक लाख, राष्ट्रिय महिला संघ धनुषा–८८ हजार २ सय रुपैयाँ आर्थिक सहायता वितरण गरेको विवरणमा उल्लेख छ। 

यस्तै आ.व.२०७६/०७७ मा ओरेक नेपाल संस्था ३ लाख ९८ हजार ४३८, अन्तरपार्टी महिला सञ्जाल ३ लाख १४ हजार ५६३, रामसागर सहनीलाई १ लाख ५० हजार,  कुसुम देवीलाई १ लाख २५ हजार, गीतादेवी कलवारनीलाई १ लाख २५ हजार, रामनरेश यादवलाई  १ लाख २५ हजार र श्रीनारायण यादव १ लाख २५ हजार  रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ। 
यस्तै आ.व.२०७७/०७८ मा वडा नं. ८ का वडा सदस्य अनरुद कुमार साहलाई दुई लाख रुपैयाँ आर्थिक सहायता मेयर साहले उपलब्ध गराएका छन्। 

चालु आर्थिक वर्ष २०७८/०७९ को चैत २४ गतेसम्म मेयर साहले ८३ संघसंस्था तथा व्यक्तिलाई २७ लाख ५१ हजार ७२७ रुपैयाँ बाँडेका छन्। 

जुन चार वर्षयताकै सबभन्दा बढी हो। त्यस्तै गत आ.व.२०७७/०७८ मा ६० संघसंस्था तथा व्यक्तिलाई २२ लाख ३९ हजार ८१३ रुपैयाँ, आ.व.२०७६/०७७ मा ४५ संघसंस्था तथा व्यक्तिलाई २३ लाख ९ हजार ६२३ रुपैयाँ र आ.व.२०७५/०७६ मा ४५ संघसंस्था तथा व्यक्तिलाई १७ लाख ९३ हजार ४५० रुपैयाँ मेयरले वितरण गरेको उल्लेख छ। 

आ.व.२०७४/०७५ मा उनले लाखौं रुपैयाँ आर्थिक सहायता वितरण गरेका कार्यालयले जनाएको छ।  

कतिपय निजी संघसंस्थालाई पनि आर्थिक सहयोग गरिएको छ। आर्थिक सहायता लिएका अधिकांश व्यक्तिको ठेगाना भने खुलाइएको छैन। 

कार्यालयका कर्मचारी स्रोतका अनुसार मेयर साहले कतिपय व्यक्ति र संस्थालाई कमिसन लिएर नै आर्थिक सहायता बाँडेका छन्। 

चार वर्षसम्म नगरसभाकै आधारमा आर्थिक सहायता मेयर साहले बाँडे पनि त्यसलाई व्यवस्थित गर्न मापदण्ड र कार्यविधि भने बनाउन नचाहेको कर्मचारीहरुको गुनासो छ।  

‘मापदण्ड कार्यविधि बनाउन उहाँले ध्यानै दिनु भएन। किन भने कार्यविधि बनाउँदा यसरी मनपरी बाँड्न पाउनु हुुन्थ्यो। औचित्यबिना कतिपय व्यक्ति र संस्थासँग कमिसन लिएर पनि आर्थिक सहायता वितरण गर्नु भएको छ। यसमा त कार्यविधि बाधक हुन्थ्यो नि,’ एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने। 

जनकपुरधाम उपमहानगरपालिका कार्यालयले नियमविपरीत जथाभावी आर्थिक सहायता बाँडेको कुरा महालेखा परीक्षक २०७८ को प्रतिवेदनले पनि देखाएको छ। 

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा पालिकालाई तोकिएको कार्यक्षेत्रमा आर्थिक सहायता तथा कार्यक्रमगत सहयोग दिने उल्लेख छैन। तर यस पालिकाले आन्तरिक चालु तथा नेपाल सरकारको चालू खर्च शीर्षकबाट बिरामीको प्रमाण राखी विभिन्न व्यक्तिलाई औषधी उपचार सहायता वापत पर्व पूजा जात्रा, छट, तीज कार्यक्रम, विद्यालय बाल विकास, खेलकुद कार्यक्रम र अन्य विभिन्न संघ तथा संस्थालाई विभिन्न सामाग्री, खाजा, खाना, खाद्य सामाग्री, खेलकुद सामाग्री खरिद गरेका बिल र मागको आधारमा खर्चको सुनिश्चितता नहुने गरी आर्थिक सहायतामा खर्च गरेको छ’, महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।  

आर्थिक सहायता वितरण खर्चको प्रमाणित बिल वेगर भुक्तानी गर्दा खरिद गरिएका सामानको दुरुपयोग हुने वास्तविक कार्यक्रममा खर्च नभई व्यक्ति विशेषलाई फाइदा पुग्ने र भुक्तानी रकम वास्तविक खर्च हो भनि एकीन गर्न सक्ने अवस्था नभएको हुँदा यस्तो खर्चमा नियन्त्रण गर्न पनि मलेप प्रतिवेदनले जनकपुरधाम उपमहानगरपालिका कार्यालयलाई सुझाव दिएको छ। जसअन्तर्गत प्रतिवेदनले ७९ लाख ७२ हजार ३६७ रुपैयाँ बेरुजु पनि ठहर्याएको छ। 

यता आर्थिक सहायता वितरणमा मेयर साहले अनियमितता गरेको वडा नं. ९ का वडाध्यक्ष परमेश्‍वर साहले पनि आरोप लगाएका छन्। 

‘आवश्यक्ता र औचित्यभन्दा आफूनिकट व्यक्ति र संस्थालाई पैसा बाँड्नु भएको छ। थुप्रै संग कमिसन नै लिनु भएको सुनेको छु’, उनले भने, ‘यो साढे चार वर्षमा हरेक शीर्षकमा विकास भन्दा लुट्ने काममा मात्र मेयर साहेबले गर्नु भएको छ।’ 

नियमविपरीत मेयर साहले आर्थिक सहायता वितरण गरेको विषयमा उपमहानगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्याय अनभिज्ञ छन्। 
‘मनलाग्दी आर्थिक सहायता बाँडेको विषयमा मलाई थाहा छैन। यदि त्यस्तो छ भने बेरुजु आइहाल्छ। नियमित अन्तर्गत नै गर्नु भएको मेरो जानकारीमा छ’, प्रशासकीय अधिकृत उपाध्यायले भने। 

उनले नगरसभाको निर्णय कानुनसरह भएकाले त्यहीअनुसार मेयरले आर्थिक सहायता  बाँडेको बताए। तर, कार्यविधि बनाएर व्यवस्थित गर्नुपर्ने उनले स्वीकारे।  

‘नगरसभाको निर्णय कानुनसरह हुन्छ। यसलाई कार्यविधि बनाएर गर्दा अझ राम्रो हुन्थ्यो। तर म आएदेखि एउटा पनि नगरसभा भएको छैन। एउटा मात्र कार्यपालिका बैठक भएको छ,’ उनले भने। 

यता मेयर साहले नगरसभाकै निर्णय अनुसार आर्थिक सहायता वितरण गरेको स्वीकार गरे। उनले यस विषयमा अरु केही बोल्न मानेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .