कारोबार


बागमतीले सडक तथा भौतिक पूर्वाधारमा छुट्यायो २४ अर्ब, यस्ता छन् आयोजना

बागमतीले सडक तथा भौतिक पूर्वाधारमा छुट्यायो २४ अर्ब, यस्ता छन् आयोजना

नेपालखबर
असार १, २०७९ बुधबार १९:५५, काठमाडौँ

भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २४ अर्ब ७५ करोड ८५ लाख विनियोजन गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले आज सार्वजनिक गरेको ७० अर्ब ९३ करोडको कुल विनियोजनमा यस मन्त्रालयलाई सबै भन्दा धेरै बजेट विनियोजन भएको देखिएको हो।

कस्ता छन् आयोजना?
सडक तथा भवन र शहरी पूर्वाधार अन्तर्गत प्रादेशिक लोकमार्ग कार्यक्रममा समावेश भएका निर्माणाधीन सडकहरुलाई प्राथमिकतामा राखी निर्माण सम्पन्न गर्न १ अर्ब ९० करोड ९१ लाख विनियोजन भएको छ।

प्रादेशिक मार्ग अन्तर्गत प्रदेशको मुख्य आर्थिक तथा बजार केन्द्र, धार्मिक, ऐतिहासिक, पर्यटकीय, औद्योगिक तथा अन्य महत्त्वका स्थलहरु जोड्ने रणनीतिक सडक वा उपमार्ग (बाईपास) लगायतका आयोजनाहरु सम्पन्न गर्न ३ अर्ब ७४ करोड ८९ विनियोजन गरेको छ।

प्रदेश भित्र रहेका शहरका मुख्य स्थान, शहरी चक्रपथ, कृषि बजार केन्द्र, शिक्षा र स्वास्थ्य केन्द्र जोड्ने तथा तत्काल प्रतिफल र रोजगारी सिर्जना गर्ने सडक आयोजनाहरुका लागि शहरी तथा स्थानीय सडक कार्यक्रममा ६ अर्ब ८१ करोड ३८ लाख विनियोजन भएको छ। 

प्रदेशको राजधानीलाई संघीय राजधानीसँग जोड्ने रणनीतिक सडकको रुपमा रहेको फर्पिङ–टुल्कु–हुमाने भञ्ज्याङ सडकको स्तरोन्नति तत्काल अगाडि बढाउन १८ करोड विनियोजन भएको छ। 

निर्माणाधीन मदन भण्डारी मार्ग (भैँसे–भिमफेदी–कुलेखानी– सिस्नेरी–दक्षिणकाली) को कुल ५३ किलोमिटर मध्ये भैंसे–भीमफेदी सडक खण्ड दुई लेनमा स्तरोन्नति गर्ने कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने उल्लेख छ। 

कुलेखानीदेखि दक्षिणकालीसम्मको सडक आगामी आर्थिक वर्षमा सम्पन्न गर्न र बाँकी २१ किलोमिटर सडकलाई दुई लेनमा स्तरोन्नति गर्ने कार्यको लागि आवश्यक विनियोजन भएको बजेट कार्यक्रममा उल्लेख छ।  

दोलखा जिल्लाको लामाबगर हुँदै चीनको सिमाना जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्न १० करोड विनियोजन भएको छ।  काभ्रे जिल्लाको राम्चेदेखि दोलखा जिल्लाको खरिदगा जोड्ने चौरी राजमार्ग निर्माणको लागि ५ करोड विनियोजन भएको छ।

बागमती प्रदेश भित्रका विभिन्न जिल्लाबीचको अन्तर आबद्धता बढाउन तथा प्रदेश राजधानीसँग जोड्न र आर्थिक क्रियाकलापलाई टेवा पुर्याउन बागमती प्रदेश चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण शुरु गरिने उल्लेख छ। 

संघ तथा स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा बल्खु–हेटौंडा र खुर्कोट–चियाबारी सुरुङ मार्ग लगायत प्रदेश भित्र अन्य सम्भावित सुरुङ मार्ग अध्ययन गर्न आवश्यक बजेट व्यवस्था भएको छ। 

प्रदेशमा बहुवर्षीय र क्रमागत आयोजनाका रुपमा निर्माणाधीन सडक आयोजनाका लागि बजेट सुनिश्चित गरेको छ। निर्माण सम्पन्न भएका आयोजनाहरुलाई बाह्रै महिना सञ्चालन हुने गरी नियमित, आवधिक तथा आकस्मिक मर्मत सम्भार गर्न आवश्यक रकम व्यवस्था भएको छ। 

प्रदेश भित्रका सडकहरुमा सडक सुरक्षाको भरपर्दो व्यवस्था नहुँदा दुर्घटनाका कारण जनधनको क्षति भइरहेकोले सडक निर्माण र सञ्चालनका सन्दर्भमा डिजाइन तथा लागत अनुमान तयार गर्दा देखि नै सडक सुरक्षाका संरचनाहरू अनिवार्य समावेश गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ। रोड फर्निचर्स लगायत सडक सुरक्षाका आवश्यक संरचना तयार गर्न बजेट व्यवस्था भएको छ। 

प्रदेश भित्र निर्माणाधीन पुलहरु सम्पन्न गर्न आवश्यक रकम विनियोजन भएको छ। 

प्रदेश सरकारले झोलुंगे पुलहरूको निर्माण तथा मर्मत सम्भारका लागि बजेट व्यवस्था गरेको छ। विपद्को समयमा जोखिमयुक्त तरी–तराउलाई व्यवस्थापन गर्न यान्त्रिक पुलको जगेडा व्यवस्था गरिने उल्लेख छ।

प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना मार्फत बागमती प्रदेशको राजधानी हेटौडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पूर्वाधारहरु र हेटौडा चक्रपथ निर्माण गर्न रु १ अर्ब ५ करोड ८० लाख विनियोजन गरिएको छ।

प्रदेशभित्र तीव्र शहरीकरण भएका स्थानहरुमा व्यवस्थित शहरीकरण, फोहोरमैला व्यवस्थापन लगायतका पूर्वाधार सहित एकीकृत विकासका लागि स्थानीय तहसँग सहकार्य गरिने बजेटमा उल्लेख छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग सहकार्य गरी काठमाडौं उपत्यका भित्रका नदी करिडोरमा पूर्वाधार निर्माण गर्न २५ करोड विनियोजन भएको छ। मकवनपुर, चितवन र धादिङ्ग जिल्लामा बसोवास गर्ने सिमान्तकृत चेपाङ, वोटे, वनकरिया जातीको एकीकृत वस्ती तथा आवास निर्माण गर्न ५ करोड विनियोजन भएको छ। 

यस्तै, जनता आवास कार्यक्रम अन्तर्गत बाँकी कार्य सम्पन्न गर्न संघीय सरकारसँग साझेदारी गर्ने बताइएको छ।

बागमती प्रदेशभित्र हालसम्म सडक सञ्जालले नजोडिएको र मानव विकास सूचकाङ्कमा पछाडि परेको तर पर्यटकीय सम्भावना बोकेको रुबीभ्याली क्षेत्रलाई गुरुयोजना तयार गरी सडक, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी सिर्जना लगायतका कामहरु एकीकृत रुपमा अगाडि बढाउन रुबीभ्याली एकीकृत विकास कार्यक्रम कार्यान्वयन गर्न १० करोड रुपैयाँ विनियोजन भएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .