कारोबार


हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर

नेपालखबर
साउन १, २०७९ आइतबार १६:२८, काठमाडौँ

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ। 

आइतवार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली बीमाको इतिहासमा पहिलोपटक दुईवटा बीमा कम्पनीहरु मर्जर भएर एकीकृत कारोबार सुरु गरेका हुन्।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बीमा समितिले मर्जर स्वीकृति दिएसँगै आइतबारबाट एकीकृत कारोबार शुभारम्भ भएको हो। एकीकृत कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले औपचारिक रुपमा गरे। 

एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष सिलवालले बीमा कम्पनीहरूमा अस्वस्थ प्रतिष्पर्धा तथा अहिले कामय रहेको बीमा कम्पनीको पुँजीले बढ्दै गएको दायित्व वहन गर्न नसक्ने भएकाले बीमा कम्पनीको मर्जर जरुरी भएको बताए। उनले पछिल्लो समय बीमा कम्पनीहरुले दुई रुपैयाँमा बीमा गर्ने प्रवृत्ति बढेको बताए।

अध्यक्ष सिलवालले बीमा कम्पनीले पोलिसी बेच्ने तर पोलिसी अनुसार दायित्व वहन गर्न नसक्दा सिँगै बीमाको बजार बदनाम भएको तथा बीमा कम्पनी प्रतिको विश्वसनीयतामा कमी भएकोले बीमा क्षेत्रमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे। उनले नेपालमा कतिवटा बीमा कम्पनीहरु चाहिन्छ भनेर हालसम्म अध्ययन नै नभएको भन्दै अब बीमा समितिले अध्ययन गर्ने बताए।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले अब नयाँ पोलिसीका साथ शहर केन्द्रित भन्दा जनता र ग्रामिण क्षेत्रमुखी भएर लाग्नुपर्ने बताए।

उनले अहिलेको अवस्थालाई हेरेर बीमा क्षेत्रको विकासको लागि निर्जीवन बीमा कम्पनीहरुले २ अर्बको पुँजी बिस्तार जरुरी रहेको बताए।  

उनले भने, ‘बीमा क्षेत्रमा हाम्रो समस्या भनेको पुँजीमा हो। हाम्रो पुँजी एकदमै सानो भयो। बीमा कम्पनीहरुले वहन गर्नुपर्ने दायित्वहरु बढ्दै गए। त्यो बीचमा दुई कम्पनी बीचको अनैतिक प्रतिस्पर्धाले दुई रुपैयाँमा बीमा गर्न थाल्यौँ। हामी सर्भाइब हुनुपर्छ भन्ने पनि छैन। कम्पनीले जसरी भएपनि व्यापार वृद्धि देखाउन मान्यतामा चल्यौँ। यसले गर्दा सिङ्गै बीमाको बजार बदनाम भयो। बीमा कम्पनीहरुले सरकारले बनाएका नीतिहरूलाई मान्छौँ भन्नुपर्यो। अब यदी बीमा कम्पनी पुँजी बढाएनौ भने कम्पनीले दायित्व लिन सक्दैन।’

अध्यक्ष सिलवालले सरकारले नै बीमा नबुझेको आरोप लगाए। उनले सरकारले बीमा नबुझेको अवस्थामा सधारण जनताले बीमा कसरी बुझ्ने भन्दै प्रश्न गरे। अध्यक्ष सिलवालले सरकार र सरकारले गरेका अहिलेसम्मको लगानीको बीमा नभएको बताए। उनले चालु आर्थिक वर्षको बजेटमा बजेटको विषयमा धेरै कुराहरु समावेश भएर आएको र राष्ट्रिय बीमा नीति समेत मन्त्रालयमा ड्राफ्ट बनाएर दिएको बताए।

उनले भने, ‘हाम्रो सरकारले बीमा बुझेन। बीमाका विषयमा सरकारले कुरा बुझेको छैन। जनताले के कुरा बुझ्छन्। सरकारको कुनै सम्पती र सरकार आफ्नै बीमा गरेको छैन। सरकारले गर्ने कुनैपनि लगानीको बीमा छैन। प्रभावकारी बीमा भएन बीमा यस्तो होरे भन्न मिल्छ। यो विषयमा सरकारलाई धेरै फलो गरेपछि यो वर्षको बजेटमा प्राप्त मात्रामा बीमाको विषयमा समावेश भएको छ। बिस्तार सरकारको पनि बीमा प्रति विश्वास बढ्दै गएको छ। सबै क्षेत्रमा राष्ट्रिय नीति छ तर बीमाको थिएन । अहिले हामीले ड्राफ्ट गरेर दिएका छौं। अब राष्ट्रिय बीमा नीतिले सबै सरकारलाई समेत समेट्ने छ। अहिले प्रतिनिधि सभामा पेस भएको बीमा ऐन बसेको छ।’

कार्यक्रममा बोल्दै हिमालयन इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर साहले बीमा कम्पनीहरुले पुँजी वृद्धि गरेर मर्जरमा जाँदा बीमालाई सुधार र बीमाको उचाई बढाउने दाबी गरे। 

हिमालयन र एभरेष्ट दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पारित भएका थिए।

बीमा समितिले यी दुवै कम्पनीको मर्जरलाई गत असार ८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। दुई संस्थाको मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण सम्पती र दायित्वहरु नयाँ बन्ने संस्था हिमालयन एभरेष्ट इन्स्योरेन्सले स्वीकार्ने गरी गत असार २३ गते स्वीकृति प्राप्त भएको थियो।

दुवै बीमा कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएकोमा एमओयुमा हस्ताक्षर भएको थियो। मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad