कारोबार


निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

फाइल फोटो


नेपालखबर
असार २५, २०८३ बिहिबार १०:२९, काठमाडौँ

निर्माणका विषयलाई लिएर सरकारले व्यवसायीलाई धरपकड गरिरहेको आरोप लागेको बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। 

बिहीबार दिउँसो निर्माण व्यवसायीहरूलाई छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ। 

निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले नेपालखबरसँग भने, ‘आज प्रधानमन्त्रीसँग छलफल हुने भनिएको छ। तर, समय यकिन भइसकेको छैन। महासंघका पदाधिकारीहरू छलफलमा जान्छौँ होला।’

बुधबार प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीहरूसँग आफ्नै कार्यकक्षमा छलफल गरेका थिए। त्यस लगत्तै उनले निर्माण व्यवसायीसँग  छलफल गर्न लागेका हुन्। 

निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने लगायत सहभागी हुनेछन्। 

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार छलफल सरकार र निर्माण व्यवसायीबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित हुनेछ।

यसअघि बुधबार उद्योगी व्यसायीसँगको छलफलमा प्रधानमन्त्री शाहले व्यवसायीलाई पक्रने नीति र नियत नभएको बताएका थिए। 

शाहले हिजो नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad