ad ad

कारोबार


उड्डयन प्राधिकरणको बजेट ४१ अर्ब, ८ विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

उड्डयन प्राधिकरणको बजेट ४१ अर्ब, ८ विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल।


वसन्त अर्याल
साउन १५, २०७९ आइतबार १७:२६, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले ४१ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। साउन ८ गते पोखरामा सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बजेट प्राधिकरणले आइतबार सार्वजनिक गरेको हो। 

प्राधिकरणको कुल बजेटमा आम्दानी १४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने सरकारको ऋण तथा सेयर १२ अर्ब २४ करोड रुपैयाँ छ। 

त्यस्तै नेपाल सरकारबाट प्राप्त हुनुपर्ने ८६ करोड, जेठ २०७९ सम्म बढी भुक्तानी भएको मूल्यअभिवृद्धि कर नेपाल सरकारबाट फिर्ता पाउनुपर्ने ३ अर्ब १ करोड रहेको छ। 

साउन १ को सुरुको पेश्की मौज्दात ३ अर्ब ५ करोड, साउन १ को शुरुको बैंक मौज्दात ८ अर्ब ३५ करोड रुपैयाँ गरी ४१ अर्ब ८५ करोड रुपैयाँ स्रोत देखाएको छ। 

प्राधिकरणले खर्चतर्फ २६ अर्ब ८२ करोड, कर्मचारी खर्च २ अर्ब २० करोड, कर्मचारी अवकाश भुक्तानी ७७ करोड र अन्य कार्यसञ्चालन खर्च ३ अर्ब ७३ करोड रुपैयाँ छ। 

मूल्यअभिवृद्धि कर भुक्तानी १ अर्ब ७३ करोड, कर्मचारी अवकाश कोष भुक्तानी २० करोड, नेपाल सरकारलाई लाभांश भुक्तानी ८५ करोड, नेपाल सरकारको ऋणको सावाँ १ अर्ब ३२ करोड, नेपाल सरकारको ऋणको ब्याज भुक्तानी १ अर्ब ३२ करोड छ। 

प्राधिकरणले कर्मचारी बोनर ४ करोड १२ लाख रुपैयाँ छ। वायुयान सञ्चालन कोषको निष्क्रिय खाता ७६ करोड, स्थिर सम्पत्ति प्रतिस्थापन कोष १ अर्ब ११ करोड, आयकर व्यवस्था १ अर्ब ५७ करोड रहेको छ। 

नयाँ बजेटमा के छन् प्राथमिकता? 
नयाँ बजेटले विमानस्थलमा टर्मिनल भवन निर्माणलाई प्राथमिकता राखेको छ। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण कार्य अघि बढाउँदै छ। 

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन निर्माणको प्रारम्भिक काम सुरु हुन्छ’, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘नेपाली सेना लगायतसँग समन्वय गरी त्यहाँ टर्मिनल भवन बन्छ।’

प्राधिकरणले त्रिभुवन विमानस्थलको गुरुयोजनाअनुसार अधिकांश काम भइसकेको जनाएको छ। टर्मिनल भवन निर्माण गरे गुरुयोजना पूरा हुने अधिकारीले बताए। टीआईएमै आन्तरिक टर्मिनल भवनको आगमन हलको निर्माण गर्ने भएको छ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन २ बनाउने भएको छ। यो वर्ष टर्मिनल भवन २ निर्माण अघि बढ्ने प्राधिकरणले जनाएको छ।

पोखरा विमानस्थलको रिठेपानी डाँडा कटिङ र डम्पिङ साइट स्थानान्तरण गर्ने कार्यक्रम पनि नयाँ बजेटमा राखिएको छ। त्यस्तै, निजगढ विमानस्थलको लागि सर्वोच्च अदालतको आदेशअनुसार विज्ञ टिम बनाई अध्ययन गर्ने भएको छ। प्राधिकरणले यसका लागि विज्ञ समिति बनाउने निर्णय गरिसकेको छ। 

प्राधिकरणले आन्तरिक विमानस्थलतर्फ महेन्द्रनगर एयरपोर्ट नयाँ टर्मिनल भवन, विरानटगर विमानस्थल नयाँ टर्मिनल, नेपालगञ्ज टर्मिनल भवन, जुम्ला टर्मिनल भवन, रामेछाप एयरपोर्ट टर्मिनल भवन बनाउने भएको छ। 

त्यस्तै भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवनसंगै धावनमार्ग विस्तार हुने भएको छ। 

‘भरतपुर विमानस्थलमा एटीआर ७२ जहाज उड्न सक्ने गरी धावनमार्ग विस्तार र नयाँ टर्मिनल भवन बन्छ’, महानिर्देशक अधिकारीले भने। 

चालू आर्थिक वर्षमा प्राधिकरणको नयाँ भवन निर्माण सकिने भएको छ। 

अघिल्लो वर्ष ४१.७० प्रतिशत मात्रै पुँजीगत खर्च
आर्थिक वर्ष २०७८/०७९ मा ४८ प्रतिशत मात्रै खर्च गरेको छ। कुल ४३ अर्ब ६७ करोड रुपैयाँको विनियोजित बजेटमध्ये करिब २१ अर्ब ३२ करोड रुपैयाँ मात्रै खर्च भएको हो। 

प्राधिकरणले पुँजीगततर्फ ३२ अर्ब ३ करोड विनियोजित गरेकोमा १३ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको छ। कार्य सञ्चालन खर्च ४ अर्ब १० करोड विनियोजन भएकोमा ३ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ। वित्तिय व्यवस्थापन तर्फभने ७ अर्ब ५३ करोड बजेट विनियोजन गरिएकोमा ४ अर्ब ६९ करोड रुपैयाँ खर्च भएको हो। 

प्राधिकरणले १ वर्षमा ४८.८१ प्रतिशत कुल खर्चगर्दा ४१.७० प्रतिशत पुँजीगत खर्च, चालू खर्च ७९.४२ प्रतिशत र वित्तिय व्यवस्थापन ६२.३५ प्रतिशत रहेको छ। प्राधिकरणले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, रेन्टलगायतमा ५ अर्ब ५९ करोड रुपैयाँ उठ्ने लक्ष्य राखिएकोमा ६ अर्ब ४३ करोड रुपैयाँ आम्दानी भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .