कारोबार


कुस्माको एडभेन्चर रिसोर्ट : जहाँ लिन पाइन्छ ह्युमन स्विङ सर्टको मज्जा

१५ करोड लागतमा बनेको रिसोर्टमा र्‍याफटिङ, बिचसाइट, बिच भलिबल, बिच स्नुकरको सुविधा
कुस्माको एडभेन्चर रिसोर्ट : जहाँ लिन पाइन्छ ह्युमन स्विङ सर्टको मज्जा

नेपालखबर
पुस १४, २०७९ बिहिबार १४:४, पर्वत

पर्वतको कुस्माबजार पछिल्लो समय नेपालमा साहसिक पर्यटनको गन्तव्य बन्दै गएको छ। यहाँ एकपछि अर्को साहसिक खेल र सुविधासम्पन्न होटल तथा रिसोर्ट बन्न थालेका छन्। 

आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्दै जाँदा कुस्मामा साहसिक पर्यटकका लागि लक्षित गरेर एड्भेन्चर रिसोर्ट निर्माण भएको छ। 

कुस्मामा सुपरम्यान शैलीमा विश्वकै दोस्रो लामो जिपलाइन सञ्चालन गरिरहेको हार्नेस प्रालिले साहसिक पर्यटकका लागि लक्षित गरेर जीपलाइनको अन्तिम विन्दु कालीगण्डकी किनारको सानोबगरमा एड्भेन्चर रिसोर्ट निर्माण गरेको हो। 

कालीगण्डकी नदीको किनारमा प्राकृतिक र पर्यावरणमैत्री ढंगले रिसोर्ट निर्माण भइरहेको छ। दुई वर्ष अघिबाट निर्माण भएको  रिसोर्टको ८० प्रतिशतभन्दा बढी निर्माण कार्य भइसकेको हार्नेस प्रालिका कार्यकारी प्रमुख सुनिलसिंह बाँनियाले बताए। रिसोर्ट आगामी नेपाली नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। 

रिसोर्टमा १८ वटा रुम छन्। त्यसमध्ये ५ वटा स्विट रुम छन् भने १३ वटा डिलक्स रुम हुनेछन्। यसबाहेक यस क्षेत्रमा नै पहिलोपटक रिसोर्टले ५ वडा डोम टेन्ट स्विट रुम समेत निर्माण गरेको छ। रिसोर्टमा लक्जरी रुम, स्विमिङ पुल, साउना, स्टिम बाथको सुविधा हुनेछ भने ३ सय जना अटाउने क्षमताको सेमिनार हल समेत बनेको छ। कन्सर्ट तथा स्टेज कार्यक्रमहरुका लागि चौरमा स्टेज समेत बनाइएको छ।  

रिसोर्टको अर्को आकर्षण भनेको गुम्बज आकारमा निर्माण गरिएको रेष्टुरेन्ट हो। तीन तलमा खुल्ला रुपमा रहेको आकर्षक रेष्टुरेन्टमा एकैपटक ५ सय ग्राहकले खान सक्ने गरी व्यवस्थापन मिलाइएको छ। नेपाली, इन्डियन, चाइनिज र कन्टिनेन्टल परिकार रेष्टुरेष्टमा पाईनेछन। 

रिसोर्टमा पुग्ने पर्यटकहरुले नेपालमा नै पहिलो पटक साहसिक खेल ह्युमन स्विङ सर्ट खेल्ने सुबिधा पनि पाउनेछन्। अहिलेसम्म दुबई लगायतका ठाउँमा लोकिप्रय ह्युमन स्विङ सर्ट पुस महिनाभित्र नै तयार गरी सञ्चालनमा ल्याउने तयारी भएको कार्यकारी प्रमुख बाँनियाले बताए। त्यसबाहेक लामो र छोटो दूरीको र्‍याफटिङ, बिचसाइट , बिच भलिबल, बिच स्नुकरको सुविधा पनि छ।

बाँनियासहित कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र स्थानिय युवाहरुको लगानी रहेको हार्नेस प्रालिले एक बर्ष अघि देखि बिश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाईन सञ्चालनमा ल्याएको छ। कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुवाती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ। 

१४ सय ८० मिटरको दूरी पार गरिसक्दा कालीगण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको एडभेन्चर रिसोर्टमा पुगेर जिपलाइनको ल्यान्डिङ हुने गर्दछ।  शालिग्राम पाइने धार्मिक नदी कालीगण्डकीलाई दुई ठाउँबाट ‘क्रस’ गर्न सकिने भएकाले पनि देशका अन्य ठाउँमा रहेका जिपलाइनभन्दा पर्वतको जिपलाइन विशेष रहेको छ। 

नदी नै पार गर्नुपर्ने भए पनि सामान्यतः एक ठाउँमा पार हुनेमा पर्वतको जिपलाइन कालीगण्डकी नदीलाई दुई ठाउँमा पार गर्छ।
जीपलाइन र रिसोर्टमा गरी १५ करोडभन्दा बढी लगानी भइसकेको सञ्चालकले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .