ad ad

कारोबार


वस्तु विनिमय बजार व्यवसायलाई अनुमति छैन, कारोबार गरे कारबाही गर्छौँ : बोर्ड

वस्तु विनिमय बजार भनेको के हो?
वस्तु विनिमय बजार व्यवसायलाई अनुमति छैन, कारोबार गरे कारबाही गर्छौँ : बोर्ड

नेपालखबर
माघ १५, २०७९ आइतबार १५:२६, काठमाडौँ

नेपाल धितोपत्र बोर्डले विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय नगर्न वा नगराउन जानकारी गराएको छ। 

बोर्डले वस्तु विनिमय बजार सञ्चालनको लागि हालसम्म कुनै कम्पनीलाई अनुमति नदिएको हुँदा सो कार्य नगर्न वा नगराउन जानकारी गराएको हो। 

पछिल्लो समयमा वस्तु विनिमय बजारसम्बन्धी कारोबार हुनथालेको सूचना आउनथालेपछि बोर्डले सूचना जारी गर्दै कसैले कारोबार गरेको भेटिएमा कारबाही गर्ने चेतावनी दिएको हो। 

वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था उल्लेख छ। 

बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी संस्थापना गर्न पूर्वस्वीकृतिका लागि निवेदन दिनेसम्बन्धी गत असोज २ मा सूचना प्रकाशित गरेको थियो। तर यसबारे सर्वोच्च अदालतमा मुद्दा परेसँगै यसबारेको सबै प्रक्रिया रद्द अवस्थामा छ। 

सर्वोच्चले यसबारे अल्पकालीन आदेश दिएको थियो। योसँगै उक्त सूचनासँग सम्बन्धित सम्पूर्ण प्रक्रिया यथास्थितिमा स्थगित रहेको बोर्डको भनाइ छ। 

सोही कारण वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसायहरु अनुमति नलिई सञ्चालन गरेमा गैरकानुनी हुने र प्रचलित कानुन बमोजिम कारबाही हुने बोर्डले जनाएको छ।

वस्तु विनिमय बजार भनेको के हो? 
कुनै पनि वस्तुको निश्चित मूल्य निर्धारण गरी विनिमय गर्ने प्रक्रियालाई कमोडिटी मार्केट अर्थात् वस्तु विनिमय बजार भनिन्छ। वस्तु विनिमय बजार (कमोडिटी) मा कृषिउपज, पशुपन्छी, धातुमा सुन, चाँदी, तामा आदि कपास, कफी, कच्चा तेललगायत वस्तुको कारोबार हुन्छ।

यी वस्तुहरु मूल्य दिनहुँजसो परिवर्तन हुने भएकाले उत्पादनकर्तालाई निश्चित आम्दानी र लगानीकर्ता नाफा सिर्जना गराउने उद्देश्यले कमोडिटी मार्केट सञ्चालनमा आएको हो। 

उत्पादकहरूलाई भविष्यमा हुने मूल्यको घटबढको जोखिम कम गर्ने उद्देश्यले अहिले विश्वको कतिपय मुलुकमा यस्ता वस्तुहरूको व्यवस्थित तवरले स्टक एक्सचेञ्जमार्फत कारोबार हुन्छ।

तर, हालसम्म यस्तो कारोबार गराउन बोर्डले नेपालमा कुनै पनि कम्पनीलाई अनुमति दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .