कारोबार


‘सरकारले व्यवसायीको माग सम्बोधन गरेन, अब आन्दोलन गर्नैपर्ने देखियो’

‘सरकारले व्यवसायीको माग सम्बोधन गरेन, अब आन्दोलन गर्नैपर्ने देखियो’

नेपालखबर
चैत ७, २०७९ मंगलबार १४:५८, पोखरा

सरकारले व्यवसायीको माग सम्बोधन नगरेको भन्दै अब सरकारविरुद्धको आन्दोलन जरुरी रहेको उद्योगी तथा व्यवसायी उमेशलाल श्रेष्ठले बताएका छन्। 

उनी नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी हुन्। 

‘हामी उद्यमी व्यवसायीमा आन्दोलन नारा जुलुस भन्ने हुँदैन, हामीले व्यापार व्यवसाय गरी सरकारलाई कर तिरेर नाफा कमाउने हो,’ नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सभामा बोल्दै उनले भने, ‘अहिले हामी यस्तो अवस्थाबाट गुज्रिएका छौं कि आफ्ना माग सुनवाई गर्न पनि सरकार विरुद्ध आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको छ ।’ अहिले सरकारले व्यवसायीका माग सुनुवाई नगरेकै कारण समस्या झन जटिल बन्दै गएको उनको भनाइ थियो । 

अहिलेको समस्या समाधान गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकको मध्यस्थता हुनुपर्ने उनको तर्क छ। यस्तै पछिल्लो समय उद्योगी व्यवसायीको ब्यापार घट्नुका साथै बजारबाट उधारो समेत नउठेका कारण अहिले बैंकको किस्ता र ब्याज तिर्न नसक्ने अवस्थामा पुगिएको उनले जानकारी दिए। 

‘अहिले दैनिक रुपमा बैंकको किस्ता र ब्याज तिर्नका लागि पत्रिकामा तीनपुस्ते सहित सूचना प्रकाशित हुने काम गरेको छ’, उनले भने, ‘अहिलेको जटिल अवस्थामा उद्योगी व्यवसायीलाई बचाउनका लागि सरकार र राष्ट्र बैंकले समन्वय गरी कर्जाको किस्ता र ब्याजको पुर्नतालिकीकरण गर्नुपर्छ ।’

राष्ट्र बैंकको अब्यवहारिक निर्णयका कारण अहिले उद्योगी व्यवसायी उच्च व्याजदरको चपेटामा परेको समेत उनको भनाइ छ। 

‘आधारदरलाई हेर्ने हो भने वाणिज्य बैंकको ब्याज १० प्रतिशत हाराहारीमा छ’, उनले भने, ‘तर राष्ट्र बैकले त्यसमा ६ प्रतिशतसम्म प्रिमियम जोड्न पाउने व्यवस्था गर्दा हामी मारमा परेका छौँ। अब हामीले सरकार र राष्ट्र बैकसँग छलफल गरि प्रिमियमलाई २ प्रतिशतमा कामय गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ।’ 

यस्तै आर्थिक संकटका कारण उद्योगी व्यवसायीले बजारमा दिएको उधारो नउठ्ने सम्भावना बढेको छ भने सरकारले उधारो रकममै भएपनि कर लिदै आएको छ उनको गुनासो थियो। 

‘अहिले हामी दोहोरो मारमा छौं, तसर्थ उद्योग व्यवसाय बचाउनका लागि पनि सरकारले तत्काल क्रेडिट एक्ट ल्याउनु पर्छ,’ उनले भने ।
यसैगरी पछिल्लो समय महासंघको साख समेत गिर्दै गएको उनको तर्क थियो । 

‘हामीले ब्याजदरलगायत अन्य विषयलाई लिएर धेरै ज्ञापन पत्र बुझायौ भने सोही अनुरुप आन्दोलन पनि गरियो,’ उनले भने, ‘तर, सरकारले हामीलाई वेवास्ता गरी व्यवसायीका जायज माग समेत सम्बोधन गरेन ।’ 

महासंघले जनआन्दोलनका वेला होस अन्य थुप्रै समयमा ठुला ठुला आन्दोलन र सरकारसँग वार्ता गरि व्यावसायिक हकहितमा काम गरेको जानकारी दिँदै आगामी दिनमा सोही अनुरुप महासंघको साख पुनर्जागृत गर्न आफुले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको बताए।

आफु सानो उद्यम व्यवसायमा हुर्केको व्यवसायी भएको समग्र उद्योगी व्यवसायीको समस्या बुझेका कारण उक्त समस्या समाधान गर्न वरिष्ठ उपाध्यक्ष भएर महासंघमा आउन लागेको समेत उनले जानकारी दिए । 

‘महासंघको साख जोगाउन मैले चन्द्रप्रसाद ढकालको सारथि भएर काम गर्ने हो,’ उनले भने, ‘मैले जितेको अवस्थामा आगामी वैशाख १ गतेदेखि नै अहिलेको भन्दा फरक महासंघ भएको महशुस गर्न पाउनुहुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .