कारोबार


सरकार र उखु किसानबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सरकार र उखु किसानबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

नेपालखबर
पुस १८, २०७६ शुक्रबार १३:३,

उखु किसानको बक्यौता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उठाइदिने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गर्न किसानहरु सहमत भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शुक्रबार भएको छलफलमा किसान र सरकारबीच ५ बुँदे सहमति भएको हो।

सहमतिअनुसार माघ पहिलो हप्ताभित्र उद्योगीबाट पैसा उठाइनेछ। त्यसको समन्वय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्नेछ। उद्योगमन्त्री लेखराज भट्टले संसदमा नै उल्लेख गरेका स्वचालित प्रणाली लागू गर्न त्यसको अध्धयन तत्काल थालिने भएको छ। सरकारले दिने अनुदान रकम समेत समयमा नै दिइनेछ।

यस्ता छन् सहमतिका बुँदा
नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्यबमोजिमको उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले २०७६ माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने

उखु किसान र सञ्चालकहरुसँग सम्बन्धित उखुको उत्पादकत्व बढाउने, किसानहरुलाई समयमै मल, बीउलगायत मेसिन उपलब्ध गराउने, नेपाली चिनी उद्योगलाई आत्मनिर्भर र चिनी निर्यात समेत गर्नसक्ने बनाउन चिनी उद्योगको सहउत्पादनको उपयोग, उखुबापतको रकम तत्काल भुक्तानी गर्न चिनी उद्योगहरुलाई आवश्यक चालू पुँजी र नगद प्रवाहको व्यवस्थापनका उपाय सिफारिस गर्न तथा उखु किसानहरुको हरेक वर्ष देखिने भुक्तानी समस्याको दिगो समाधान गर्न उखु खरिदबिक्री गरेको रकम तुरुन्त भुक्तानी हुने स्वचालित प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन यस (उद्योग) मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायहरु चिनी उद्योगी, किसान प्रतिनिधि र विज्ञहरु समेत रहेको कार्यदल गठन गर्ने र उक्त कार्यदलको प्रतिवेदन क्रमशः कार्यान्वयन गर्ने

नेपाल सरकारबाट उखु किसानहरुलाई उपलब्ध गराइने अनुदानबापतको रकम किसानहरुले समयमै नपाएको गुनासोका सम्बन्धमा समयमै पर्याप्त रकम निकासाको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयमा अनुरोध गरी पठाउने

उखु किसानहरुको भुक्तानी, चिनीको आपूर्ति लगायतका विषयमा कुनै समस्या वा गुनासो भए उखु किसान र उद्योगीहरुले तत्काल जानकारी गराउन र सोको सम्बोधन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखाको रुपमा तोक्ने ।

भुक्तानीका लागि काठमाडौंमा आई सरकारसमक्ष समेत माग राखेकोमा सबै किसानहरुले आजैबाट ध्यानाकर्षण गतिविधिहरु तुरुन्त स्थगित गर्ने

यसअघि श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई भुक्तानी नदिएको भन्दै किसानहरु आन्दोलित भएका थिए।

उद्योगले एक अर्ब बढी रुपैयाँ भुक्तानी दिन बाँकी रहेको भन्दै किसानहरुले राजधानीमा आएर आन्दोलन गरेका हुन्। उनीहरुले एक वर्षको मात्रै नभई करिब ५ वर्षदेखिको भुक्तानी बाँकी रहेको बताएका थिए।

त्यस्तै सरकारले दिने अनुदान रकम समेत उद्योगीहरुले नै लिएको गुनासो गर्दै आएका थिए।

गत वर्षदेखि सरकारले सरकारनी निकायमार्फत नै अनुदान रकम दिने भने पनि झन्झटिलो भएको बताएका थिए। अनुदान लिन लालपुर्जा अनिवार्य गरे पनि अरुको जग्गा कमाएर उखुखेती गर्नेले अनुदान रकम लिनै नसकेको गुनासो गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad