नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालमा १०० ब्रोकर चाहिने बताएका छ्न्।
उनले समृद्ध नेपालको आधार, पुँजीबजारमा सुधार नामक लगानीकर्ता अन्तर्क्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्।
उनले कोटा प्रणाली हटाएर बजारमा खुला प्रणाली ल्याउन लगेको बताए। प्रणाली खुला हुँदा प्रतिस्पर्धा बढ्ने उनको भनाइ छ।
बजारको हित हुने काममा गर्न जति पनि मिहिनेत गर्न आफू पछि नहटने हमालले बताए।
नयाँ ब्रोकर पुराना कम्पनी व्यवसाय खोस्न आउँछ भन्ने सोच्नु नै गलत हुने उनको भनाइ थियो। बजारमा नयाँ स्टक र कमोडिटी सञ्चालक आए बजार थप विकसित हुने उनले बताए।
उनले नयाँ ब्रोकर सञ्चालन हुँदा बजार पनि सुधार हुँदै जाने र त्योसँगै ब्रोकर कमिसन शुल्क समायोजन गर्ने जानकारी दिए।
‘साथै बजारमा हुने भित्री कारोबार तत्काल समाउने गरी अटाेमेसन सर्भिलियन्सको काम अघि बढाएका छौँ’, उनले भने।
हमालले एसएमई प्लाटफर्म काम अन्तिम चरणमा पुगेको बताए। भोलि नै बोर्डले वेबसाइटमा कानुनी मस्यौदा राख्ने उनको भनाइ छ।
एसएमई प्लाटफर्म सञ्चालनमा आए सेयरबजारमा हुने अस्वाभाविक चलखेल बन्द हुने उनले दाबी गरे।
बजारमा थोरै सेयर सूचीकृत भएका कम्पनीको सेयरमा केही समूह हावी भई अस्वाभाविक सेयर मूल्य बढाउने र घटाउने गरेको हुँदा एसएमई इन्डेक्स सञ्चालनमा आए त्यसको अन्त्य हुने बताए।
हमालले कारोबार शुल्क कम हुँदै जाँदा मात्र बजार विस्तार हुँदै जाने बताएका छन्।
हमालले गत वर्ष सीआस्बा शुल्क ५ रुपैयाँ बढी लिन नपाउने व्यवस्था गरेका थिए। त्यसअघि बैंक तथा वित्तीय संस्थाले सीआस्बा न्यूनतम १० रुपैयाँदेखि १०० रुपैयाँसम्म लिने गरेका थिए।
साथै उनले हालै मात्र ब्रोकर शाखा विस्तार सहज हुने बताएका छन्। मर्जरमा जाने कम्पनीको वर्षौंसम्म बन्द हुने गरेको कारोबार १५ दिन बढी बन्द नहुने व्यवस्था समेत गरेका छन् ।
बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता धेरै हुँदा नेपाल राष्ट्र बैंकले ल्याउने नीति नियमले बजारलाई प्रभाव पार्ने गरेको जानाकार बताउँछन्।
बैंक तथा वित्तीय संस्था, बीमा र हाइड्रोबाहेक रियल सेक्टरका कम्पनीलाई सेयरबजारमा भित्र्याउन बुक बिल्डिङ समेत कार्यान्वयनमा ल्याए पनि कम्पनीहरु आएका छैनन्।
बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न हालसम्म दुई कम्पनीले मात्र आवेदन दिएका छन्।
हमालले अबको दुई महिनाभित्र बुक बिल्डिङमार्फत कम्पनीहरुलाई आईपीओ ल्याउने व्यवस्था गरिरहेको बताए।
प्रतिक्रिया