कारोबार


ब्रोकर कम्पनीले पैसा पठाउन ढिलाइ गर्दा आएन टीएमएस

‘वैशाखभित्र टेस्टिङ फेजमा जान्छौँ’
ब्रोकर कम्पनीले पैसा पठाउन ढिलाइ गर्दा आएन टीएमएस

प्रतिनिधिमूलक तस्बिर


केशर बोगटी
चैत २१, २०७९ मंगलबार १०:३६, काठमाडौँ

धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुले गत साउनमै आफ्नो कारोबार व्यवस्थापन प्राणाली (टीएमएस) सञ्चालन गर्ने भनिए पनि हालसम्म सञ्चालन गर्नसकेका छैनन्। 

गत वैशाखमा ब्रोकर कम्पनीहरुलाई नयाँ टीएमएस राख्न पाउने गरी नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘धितोपत्र कारोबार सञ्चालन २०७५’ (तेस्रो संशोधन) विनियमावलीलाई स्वीकृति दिएको थियो। 

त्यसपछि ब्रोकर कम्पनीले आफ्नै टीएमएस राख्न पाउने बाटो खुलेको हो। 

हाल सञ्चालनमा रहेका ५० वटै ब्रोकर कम्पनीले नेप्सेको टीएमएस प्राणालीमार्फत काम गरिरहेका छन्। 

सेबोनले गत वैशाख ८ गते नै ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न स्वीकृति दिएको विनियमावलीलाई नेप्सेको सञ्चालक समितिले असारमा स्वीकृत गरेको थियो।  

एक वर्ष बितिसक्दा ब्रोकर कम्पनीले आफ्नो टीएमएस सञ्चालन गर्नसकेका छैनन्। 

नेप्सेले दिइरहेको टीएमएस सिस्टममा बारम्बार समस्या आउने र लगानीकर्तालाई कारोबार गर्न असहज हुनथालेपछि नयाँ टीएमएस ल्याउने कुरा अगाडि बढेको थियो। 

कहिले नेप्से त कहिले टीएमएसको समस्या देखाएर कारोबार प्रभावित हुने गरेको छ। 

नयाँ टीएमएस अर्थात् अन्तर्राष्ट्रियस्तरको सिस्टम ल्याउँदा लगानीकर्तालाई कारोबार सहज हुने जानकार बताउँछन्। 

साथै एसएमई इन्डेक्स लगायत डेरिभेटिभ कारोबार सञ्चालनमा ल्याउँदा अन्तर्राष्ट्रियस्तरका सिस्टम आवश्यक देखिन्छ। 

‘संसारभर चलिरहेको कन्सेप्टमा अगाडि बढ्न नयाँ टीएमएस ल्याउने कुरा अगाडि बढाएका हौँ’ 

नयाँ टीएमएस आउन जरुरी रहेको धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी बताउँछन्। 

उनका अनुसार नेप्सेको मात्र टीएमएस हुँदा त्यसले मात्र नहुने देखिएपछि नयाँ सिस्टम ल्याउन लागिएको हो।  

‘नेप्सेले ब्रोकरहरुलाई उपलब्ध गराएको सिस्टमले मोबाइल एपबाट कारोबार गर्न सकिने अवस्था थिएन’, उनले भने, ‘मोबाइल एपबाट पनि कारोबार गर्नसक्ने गरी नयाँ टीएमएस सिस्टम भित्र्याउन लागिएको थियो।’

सिस्टम मोडर्नाइज्ड गर्न टीएमएस ल्याउनुपर्छ भन्ने अवधारणा रहेको उनले बताए।  

‘पछि नेप्सेले पनि टीएमएस अपग्रेड गर्यो। नेप्सेले उपलब्ध गराएको टीएमएसमा केही समस्या थियो’, उनले भने, ‘अलि मोडर्न, संसारभर चलिरहेको भन्ने कन्सेप्टमा अगाडि बढाइएको हो।’

नयाँ टीएमएस सञ्चालन हुँदा त्यसले लगानीकर्ताको हित हुने गिरी बताउँछन् । 

‘त्यो बेलामा परिकल्पना गरिएको कुराले लगानीकर्तालाई सहज गरिनुपर्छ भन्ने थियो’, उनले थपे, ‘नेप्सेका ब्रोकरले प्रयोग गरिरहेको सिस्टम प्रब्लमेटिक (समस्याग्रस्त) थियो। त्यसमा कहिले के समस्या देखिने, कहिले के? नयाँ सिस्टम ल्यायो भने त्यसले लगानीकर्तालाई सहज हुन्छ र सेयरको भोलुम बढाउन मद्दत गर्छ भनेर यो प्रक्रिया अगाडि बढाइएको थियो।’ 

‘ब्रोकर कम्पनीले पेमेन्ट पठाउन ढिलाइ गर्दा टीएमएस आएन’ 
धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरु स्वयंका कारण नयाँ टीएमएसमा ढिलाइ भएको नेप्सेका एक अधिकारीले बताए। 

उनका अनुसार ३३ ब्रोकरले श्रीलकंन कम्पनीको नयाँ टीएमएस राख्ने गरी सम्झौता गरेका छन्। 

कम्पनीहरुले श्रीलंकास्थित आइरन वान कम्पनीले उत्पादन गरेको टीएमएस ल्याउने अनुमति मागेका छन्। 

‘आइरन वानको टीएमएस ल्याउन पेमेन्ट पठाउनुपर्छ’, ती अधिकारीले नेपालखबरसँग भने, ‘कम्पनीहरुले सबै काम सम्पन्न गरी लाइभ जाने बेला भयो।’

कम्पनीहरुले टीएमएसको पेमेन्ट नपठाउँदा उसले लाइभ जान नदिएको ती अधिकारीले बताए। 

नासा सेक्युरिटिजले भारतीय कम्पनीको टीएमएस सञ्चालनमा ल्याउन लागेको उनले बताए । उनका अनुसार नासाले भारतीय कम्पनीको टीएमएस सञ्चालन गर्ने अनुमति माग्दै डकुमेन्ट तयार पारेको छ। 

‘वैशाखभित्र टेस्टिङ फेजमा जान्छौँ’
ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनालीले आगामी वैशाखमा ३३ ब्रोकर कम्पनीले आफ्नै टीएमएस सञ्चालन गर्न परीक्षणको चरणमा पुग्ने बताए। 

‘वैशाखसम्ममा नयाँ टीएमएस सञ्चालनमा टेस्टिङ प्रक्रिया सम्पन्न हुन्छ’, उनले भने, ‘नयाँ टीएमएस ल्याउन बाहिर पैसा पठाउनुपर्ने थियो। त्यसमा केही ढिलाइ भयो।’

पहिलो पटक भएर कसले सिफारिस गरिदिने र कसले स्वीकृति दिने भनेर केही समय अल्मलिनुपरेको उनको दाबी छ।  

‘अहिले राष्ट्र बैंकले पैसा पठाउने बाटो खोलिदिएको छ। अब पैसा पठाउन समस्या छैन’, उनले थपे, ‘अब तीव्र रुपमा लोकलाइजेसन गरी टेस्टिङमा जानेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .