ad ad

कारोबार


यही बर्खामा बिजुली बंगलादेश निर्यात गर्ने नेपालको तयारी

यही बर्खामा बिजुली बंगलादेश निर्यात गर्ने नेपालको तयारी

दीपक भट्ट
जेठ ३०, २०८० मंगलबार २१:१०, काठमाडौँ

नेपालले यही वर्षा याममा तेस्रो बंगलादेशमा विद्युत् निर्यात गर्ने तयारी गरेको छ। सोही अनुसार नेपालले भारत र बंगलादेशसँग त्रिपक्षीय सम्झौताका लागि तयारी गरिरहेको छ।

नेपालमा मनसुनको समय सुरु हुँदै छ। वर्षायाममा नेपालको विद्युत उत्पादन २ हजार ६ सय ६७ मेगावाटसम्म पुग्ने गर्छ।

नेपालको माग चाहिँ योभन्दा निकै कम भएकाले नेपालले यसै बर्खामा निर्यातको चाहना राखेको हो। गत दुई वर्षमा पनि नेपालले भारतमा बिजुली निर्यात गरेको थियो। तर, अहिलेसम्म ४ सय ५० सय मेगावाटसम्म मात्रै भारत निर्यात भएको छ। यसपालि त्यसको दोब्बर निर्यात गर्ने र बंगलादेशसँग विद्युत व्यापार सुरुवात गर्ने योजना छ।

तर त्यसको लागि छोटो समयमै नेपालले थप सहमतिहरु गर्न आवश्यक छ। उर्जा मन्त्रालयका अनुसार नेपाल र भारतबीच थप सम्झौता हुन बाँकी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रारम्भिक सम्झौता भएको छ।

त्यसलाई पूर्णता दिन भारतसँग दुई देशीय बैठकको तयारीमा नेपाल जुटेको छ। नेपालले वर्षामा थप बिजुली निर्यात गर्न मिल्नेगरी भारतसँग सम्झौताको प्रयास गरिरहेको छ। प्रधानमन्त्रीको भारत भ्रमणको सहमतिलाई टुङ्गोमा पुर्‍याउने गरी बैठक बस्न नसके पनि थप सम्झौता भने गर्नै पर्ने हुन्छ।

त्यसबाहेक बंगलादेशसम्म विद्युत् निर्यात गर्न नेपालले भारत र बंगलादेशसँग अर्को त्रिपक्षीय सम्झौता गर्नुपर्ने हुन्छ।

यही जेठको सुरुमा बंगलादेशमा भएको नेपाल–बंगलादेश उर्जा बैठकमा बंगलादेशले नेपालको ४० मेगावाट विद्युत् खरिद गर्न सहमति जनाएको थियो। उसले थप विद्युत् समेत खपत गर्ने इच्छा व्यक्त गरिसकेको छ। 

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उर्जा महाशाखा प्रमुख मधु भेटवाल भन्छन्, ‘सम्भव कति हुन्छ, त्यो चाहिँ थाहा छैन। तर हामी यो सिजनमा नै बिजुली बंगलादेश निर्यातको तयारी भने गरिरहेका छौँ। त्यसमा हाम्रो ठूलो आशा छ।’

प्रधानमन्त्रीको भारत भ्रमणमा बंगलादेशमा दीर्घकालीन विद्युत् निर्यातका लागि डेडिकेटेड लाइन विस्तारबारे छलफल गराउने लक्ष्य उर्जा मन्त्रालयले राखेको थियो। तर उक्त छलफल भने हुन सकेन। 

तैपनि त्यसले बंगलादेशसँगको निर्यातमा कुनै असर नगर्ने नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्। 

उनी भन्छन्, ‘बंगलादेशसँगको विद्युत व्यापारमा डेडिकेटेड लाइन मात्रै समाधान होइन। भारतले दिल्लीको युटिलिटिले आसामको हाइड्रो पावर किन्छ। त्यसमा पनि ट्रान्सिमिसन लाइनको शुल्क तिर्छ। कस्तो लाइन भन्ने मुख्य विषय हुँदैन। विद्युत बजार भनेको क्रस बोर्डर लाइन नै हो। नेपालको भारतसँग र भारतको बंगलादेशको क्रस बोर्डर लाइन पनि छ। त्यसैबाट निर्यात गर्न सकिन्छ।’ 

तथापि, डेडिकेटेड लाइन भए नेपाल र बंगलादेश दुवैलाई फाइदा हुने उनको भनाइ छ।

‘भारतको भूमि हुँदै नयाँ लाइन बनाउनै पर्छ। डेडिकेटेडको हकमा पनि थप काम त गर्नुपर्ने हुन्छ,’ उनले भने। 

तर अहिले भारतसँग भएको विद्युत् व्यापार सम्झौताबारे नयाँ सिराबाट समेत छलफल अघि बढेको उनी बताउँछन्। दीर्घकालीन व्यापार समेत गर्न मिल्नेगरी छाता सम्झौतामा छलफल भएको उनको भनाइ छ।

गत वर्ष कति निर्यात भएको थियो विद्युत्?
यो वर्ष ढिलोगरी पानी पर्ने भएको छ। अहिलेसम्म नेपालले भारतको विद्युत नै आयात गरिरहेको छ। निर्यात गर्न सकेको छैन। गत वर्ष भने जेठ १९ गतेदेखि नै विद्युत् निर्यात गरेको थियो। 

गत वर्ष ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको नेपाल विद्युत प्राधकिरणको तथ्याङ्कले देखाएको छ। देशभित्र खपत गरी बचेको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको थियो। 

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् १९ जेठ २०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको थियो।  

सुरुमा दुई वटा जलविद्युत् केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री सुरु गरिएको थियो। त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो। प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .