कारोबार


निक्षेप लिने, ऋण नदिने भएपछि बैंकहरुले कसरी गर्लान् नाफा?

निक्षेप लिने, ऋण नदिने भएपछि बैंकहरुले कसरी गर्लान् नाफा?

फाइल तस्बिर


केशर बोगटी
साउन ३०, २०८० मंगलबार १२:३९, काठमाडौँ

डिपोजिट (बचत) लिइरहेका बैंकहरुले अझै पनि कर्जा (ऋण) दिन सुरु गरेका छैनन्। 

लगानीयोग्य रकम (तरलता) अधिक हुँदासमेत बैंकहरुले लगानी बढाउनेतिर ध्यान नदिएका हुन्। 

ऋण नदिएका बैंकहरुबीच निक्षेप बढाउन भने प्रतिस्पर्धा चलिरहेको छ। 

प्राणालीमा अधिक तरलता भएका बेला केही वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएको कुराले यसलाई पुष्टि गर्छ। 

तरलता सहज हुँदा बैंकहरु कर्जा प्रवाहमा आक्रामक हुने गर्छन्। तर, अहिले अवस्था त्यस्तो छैन।

एकआध बैंकले स्किम नै सार्वजनिक गरी कर्जा प्रोत्साहन गरिरहेका छन्। तर, अन्य डेढ दर्जन बैंक भने निक्षेप बढाउनतिर केन्द्रित छन्।

यता बैंकर्स संघले भद्र सहमतिका नाममा ब्याजदमा गर्दै आएको कार्टेलिङ खारेज गरिसकेको छ। तर, २०८० साउन १ गतेदेखि लागू हुने गरी बैंकहरुले आफूअनुकुल ब्याजदर तय गरे। 

नबिल र प्राइम कमर्सियल बैंकले साउनमा निक्षेपको ब्याजदर बढाएर सार्वजनिक गरे। अन्य केहीले स्थिर राख्दा केहीले ब्याजदर सामान्य अंकले घटाए। 

निक्षेपको ब्याजदर नघट्दा कर्जाको ब्याजदर घट्ने हुँदैन। यद्यपि साउन तेस्रो सातासम्म कर्जाको डिमान्ड बढ्न नसकेको जानकार बताउँछन्।

साउनको तीन साता (२२ दिनमा) बैंक तथा वित्तीय संस्थाबाट २७ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेको छ।

गत वर्षको अन्तिम दिनसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह गरेका थिए। तर, पछिल्लो २२ दिनमै २७ अर्बले घटेर ४८ खर्ब ५१ अर्ब सीमित भएको छ। 

बैंकहरुले नयाँ कर्जा प्रवाह नगर्दा यता टर्म लोनको किस्ता चुक्ताले कर्जा प्रवाह घटेको हो। 

गत वर्ष खराब कर्जा सुधारमा केन्द्रित भई कर्जा प्रवाह ठप्प पारेका बैंकहरुले आर्थिक वर्ष २०८०/८१ सुरु भएपनि लगानी बढाउने सुरसार गरेका छैनन्। 

अधिकांश बैंकहरुले पछिल्लो समय कर्जाको डिमान्ड नै नभएको जनाउँदै आइरहँदा कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमा भने कर्जाको डिमान्ड उच्च रहेको ती बैंकका अधिकारी बताउँछन्। 

खराब कर्जा सुधारमा केन्द्रित हुँदा नयाँ कर्जा प्रवाह नगरेको उनीहरुको भनाइ छ।  

कर्जाको ब्याजदर नघट्नु नै कर्जामा डिमान्ड कम हुनुमा मुख्य कारण रहेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए। 

उनले अहिलेको अवस्थामा ब्याजदर नघटाएर कर्जाको डिमान्डको अपेक्षा गर्नु अस्वभाविक हुने बताए।  

‘बैंकहरु निक्षेप संकलन गरिरहेका छन्। निक्षेप लिने अनि कर्जा नदिने हुँदा समस्या आउन सक्छ’, ती अधिकारीले नेपाल खबरसँग भने, ‘निक्षेप लिएर कर्जा प्रवाह नगर्दा नाफा कसरी हुन्छ?, यसरी कर्जा प्रवाह नगर्दा भविष्यमा समस्या आउन सक्छ।’

बैंकहरुले थोरै मार्जिन राखेर भए पनि कर्जा प्रवाह केन्द्रित नभए समस्या आउन सक्ने ती अधिकारीको भनाइ छ। 

‘कर्जाको ब्याजदर समेत उच्च छ। कर्जाको डिमान्ड कम छ भन्दैमा व्यवसाय बढाउनतिर नलागे कसरी नाफा हुन्छ?’, उनले भने, ‘डिमान्ड बढाउन त ब्याजदर पनि घटाउनु पर्यो नि, निक्षेपको ब्याज तिरेर बस्दा थप समस्या आउन सक्छ।’

‘खराब कर्जा मुख्य कनसर्न होइन। भारतमा खराब कर्जा १० प्रतिशत पुगेको थियो। गत वर्षसम्म बैंकहरुको खराब कर्जा औसत साढे ३ प्रतिशत तल छ। धेरै होइन’, उनले भने। 

ब्याजदर नघटेसम्म नयाँ कर्जाको डिमान्ड स्वाभाविक रुपमा नबढ्ने ती अधिकारीको भनाइ छ। 

‘ब्याजदर महँगो छ। यस्तो अवस्थामा १५/१६ प्रतिशतमा कर्जा लिँदा २०/२२ प्रतिशत नाफा कमाउनु पर्छ’, उनले भने, ‘यस्तो अवस्थामा मानिहरु रिक्स लिनु भन्दा बैंकमा पैसा राखेर बस्न चाहान्छन।’

मौद्रिक नीतिमार्फत सेयर अटो लोन, रियल स्टेट, धितो कर्जा लगायतको जोखिम भार घटाइएको उनले बताए। 

गत जेठसम्मको डाटा हेर्दा पनि २५ लाखदेखि ५० लाखसम्मको सेयर धितो कर्जा सबैभन्दा धेरै घटेको थियो। 

त्यसलाई मध्येनजर गर्दै ५० लाखसम्मको जोखिम भार घटाइएको हो। जुन क्षेत्रमा धेरै असर गरेको देखिएको छ त्यो क्षेत्रलाई सम्बोधन गरेका छौं,’ उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .