चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ। मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो।
पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिरिष गौतमले नष्ट गरिएको माछा भारतबाट अवैधरूपमा भित्रिएको हुनसक्ने जानकारी दिए।
‘बिलमा नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) प्रतापपुरको सुजु एण्ड समीक्षा सप्लायर्सबाट आएको भन्ने छ। त्यहाँ उल्लेख गरेअनुसार त्यो प्रजातिको माछा त्यस क्षेत्रमा पालिएको छैन,’ उनले भने, ‘भारतबाट अवैधरूपमा भित्रिएको हुनसक्छ।’
अवैधरूपमा ल्याइएका माछा विगेड कार्भ, सिल्भर कार्भ र रुपचन जातका छन्।
‘भौतिकरूपमा हेर्दा माछामा गन्ध आएको छ,’ उनले भने, ‘अवैध रुपमा भित्रइएको र गन्ध आएपछि नष्ट गरेका हौँ।’
माछा नष्ट गरेपछि अहिलेसम्म व्यवसायी सम्पर्कमा नआएको उनले बताए। नष्ट गरेको माछाको बजार मूल्य तीन लाख २० हजारसम्म पर्छ। तर बिलमा एक लाख ६० हजारमात्र लेखिएको छ।
बरामद माछा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ को नियम २ (ख) अनुसार नियमानुसार विधि अपनाई जलदेवी सामुदायिक वन परिसरमा सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको गौतमले बताए।
चितवनमा वार्षिक पाँच हजार मेट्रिक टन माछा उत्पादन हुन्छ। माछामा आत्मनिर्भर चितवनबाट विभिन्न जिल्लामा माछा निर्यातसमेत हुने गरेको छ। यहाँ करिब पन्ध्र सय किसानले माछा पाल्ने गरेको मत्स्य व्यवसायी सङ्घले जनाएको छ। रासस
Shares

प्रतिक्रिया