कारोबार


चीनको व्यापारिक संगठनसँग नेपालका तीन व्यापारिक क्षेत्रको फरक फरक सम्झौता

पर्यटन र कृषि क्षेत्रमा सहकार्य विस्तार गर्ने योजना
चीनको व्यापारिक संगठनसँग नेपालका तीन व्यापारिक क्षेत्रको फरक फरक सम्झौता

नेपाली व्यापारीहरुको टोली चीनमा


नेपालखबर
असोज ८, २०८० सोमबार ११:४३, काठमाडौँ

चीनको एउटा व्यापारिक संगठनसँग नेपालका तीनवटा व्यापारिक क्षेत्रले फरक फरक सम्झौता गरेका छन्। 

चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)सँग उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले छुट्टाछुट्टै सहमति गरेका हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा आइतबार बेइजिङमा दुई देशका व्यवसायीहरुबीच छलफल भएको थियो। 

नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्रीको उपस्थितिमा नेपाल चीन बिजनेस समिट गरेको थियो। 

नेपाल–चीन व्यवसाय परिषद्  स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी भएको छ। 

यता,  नेपाल चेम्बर अफ कमर्स र सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति भएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बिजनेश समिटमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल चिनियाँ लगानीकर्ताहरुका लागि अवसरको भूमि रहेको बताए।  

चीन भ्रमणमा रहेका प्रधामन्त्री दाहालले नेपाल व्यवसाय वृद्धिगर्न जनसंख्यीक लाभ, युवाहरुको बाहुल्यताबाट फाइदा लिन सक्ने उल्लेख गरे। 
 
‘जलस्रोत, हाइड्रोपावर उत्पादनको क्षमता, कृषि, फैलिरहेको पर्यटन उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानी गरी ठूलो नाफा कमाउन सकिन्छ,’ प्रधानमन्त्री दाहालले भने। 

प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो भ्रमण भएको बताउँदै चीन आउँदा विभिन्न क्षेत्रको विकास देखेर चकित परेको बताए। 

चीनले पूर्वाधारदेखि उद्यौगिक क्षेत्र, गरिबी निवारणदेखि शिक्षा र स्वास्थ्य सेवामा उच्च प्रगति गरेको उल्लेख गरे। 

प्रधानमन्त्री दाहालले नेपाल चीन द्विपक्षीय व्यापार स्थिर रहेको बताउँदै चीन नेपालको दोस्रो वैदेशिक लगानीको स्रोत रहेको उल्लेख गरे। 

उनले नेपालको व्यापार घाटा चिन्ताजनक अवस्थामा रहेकाले सम्बोधन गर्ने प्रयासमा रहेको बताए। 

‘हामी चीनमा वस्तु निर्यात प्रयास गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो उत्पादित क्षमता ध्यान, भौतिक पूर्वाधारको विकास र गुणस्तरीय प्रमाणीकरणको प्रणालीलाई सहजन बनाउनेतर्फ लागेका छौंँ।’

नेपालमा लगानी गर्न प्राकृतिक र श्रमशक्ति राम्रो भएकले आकर्षण हुने बताए। नेपाल लगानीका लागि रणनीतिक भूमि रहेकाले विश्वका दुई ठूला बजारबाट फाइदा लिन सक्ने बताए। 

समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध निक्कै पुरानो रहेकाले आर्थिक गतिविधि पनि बढिरहेको सुनाए। नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने दाबी गरे। 

नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउँदै नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने उल्लेख गरे। 

कार्यक्रममा उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताए। 

पछिल्लो समय पर्यटन पुर्वाधारहरु जस्तै केवलकार, थिम पार्क रिसोर्ट लगायतमा विदेशी लगानीको वढि सम्भावना देखिएको बताए। 

‘नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेका छन्,’ उनले भने, ‘दुई देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनियाँ बैंकको आवश्यकता छ।’

उनले चिनियाँ बैंकहरु शाखाका रुपमा वा नेपालीसँगको संयुक्त लगानीमा आउन सक्ने  बताए। 

सीसीपीआईटीका उपाध्यक्ष झांग साओगांगले नेपालमा लगानी बढाउँदै नेपाली उत्पादन आयात गर्न आफहरुले सहयोग प्रदान गर्ने बताएका छन्। 

समिटमा १२० वटा चिनियाँ कम्पनी पनि सहभागी थिए। नेपालबाट महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारीसहित करिब ५० जना उद्यमी व्यवसायी सहभागी थिए। 

लगानी सम्मेलन सम्झौता 
नेपाल चेम्बर अफ कमर्श र सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्न सहमति भएको छ। बीटुबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त रुपमा लगानी सम्मेलन गर्ने सहमति भएको छ।

पूर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधि, लगायतका क्षेत्रमा चिनिँया लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए। 

चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे समेत चेम्बरले उच्चस्तरीय छलफल गरेको छ।

सीसीपीआईटीसँग मिलेर चेम्बरले नेपालमा आगामी बर्ष अन्र्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने अध्यक्ष मल्लले बताए। 

अध्यक्ष मल्लले नेपालको जलविद्युत, कृषि , सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह गरे।

अध्यक्ष मल्लले भने, ‘चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खासगरी उत्पादनवृद्धि, रोजगारी सिर्जना गर्ने महत्वपुर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु।’ 

सीसीपीआईटीसँग मिलेर गर्ने लगानी सम्मेलन विदेशी लगानी आकर्षित गर्न महत्वपुर्ण हुने बताए। 


 
सीएनआई र सीसीपीआईटीबीच सझदारी
नेपाल उद्योग परिसंघ (सीएनआई) र सीसीपीआईटीबीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्द्ध गर्न नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ।  

समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरहरुको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल चीन दुवैका व्यवसायिक समुदायको विकासका लागि सहजीकरणमा सहजता आउने परिसंघले जनाएको छ। 

परिषद्ले दुई देशबीच व्यवसायिक गतिविधिलाई सु–व्यवस्थित गर्न, अनुसन्धान र अध्ययन–सम्बन्धित पहल सञ्चालन गर्न, लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसर सिर्जना गर्न, व्यवसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा संवादलगायत गतिविधि गर्नेछ। 

यी लक्ष्य प्राप्त गर्न परिसंघ र सीसीपीआईटीले काउन्सिलको गठनसहित सहकार्यको रोडम्याप तयार पारेका छन्। 

नेपाल चाइना बिजनेस काउन्सिलमा चार सदस्य रहनेछन्, प्रत्येक संस्थाबाट दुई जना प्रतिनिधि हुने परिसंघले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .