कारोबार


१७ बैंकको निक्षेप घट्दा तीनवटाले बढाए, नबिल र एनआईएमबीबीच प्रतिस्पर्धा

१७ बैंकको निक्षेप घट्दा तीनवटाले बढाए, नबिल र एनआईएमबीबीच प्रतिस्पर्धा

फाइल तस्बिर


केशर बोगटी
असोज ९, २०८० मंगलबार २१:४३, काठमाडौँ

चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा १७ बैंकको निक्षेप संकलनमा कमी आएको छ। २०८० असारको तुलनामा १७ वाणिज्य बैंकको निक्षेप घटेको हो।

साउनमा वाणिज्य बैंकहरुको कर्जा प्रवाहसमेत घटेको छ। कर्जा प्रवाह बढ्न नसकेको बेला निक्षेपमा पनि गिरावट देखिएको हो। 

स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाएका कारण साउनमा अधिकांश बैंकको निक्षेप घटेको बताइन्छ। 

२०८० असारसम्म बैंक तथा वित्तीय संस्थाले स्थानीय तहको पैसाको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो। 

त्यही व्यवस्थाले साउनमा पूर्णता नपाउँदा स्थानीय तहको पैसा निक्षेपबाट बाहिरिएको थियो। 

यसका साथै, साउनमा बैंकहरुले घटाएको ब्याजदरका कारण प्रणालीबाट केही निक्षेप बाहिरिएको अनुमान छ।

नेपाल बैंकर्स संघको लामो सयमदेखिको कार्टेलिङ खारेज गरी निक्षेपको ब्याज दर तोक्ने जिम्मा सम्बन्धित बैंकहरुलाई दिइसकिएको छ।

त्यसयता बैंकहरुले आफूअनुकुल ब्याजदर तोक्ने गरेका छन्।

भदौ र असोजमा अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर समेत बढाएका छन्। 

नयाँ निक्षेप नथपिए पनि पुरानो निक्षेप बाहिरिन नदिन ब्याजदर बढाइएको बैंकरहरु बताउँछन। 

फेरि असोजबाट स्थानीय तहको पैसाको ६० प्रतिशत बैंक तथा वित्तीय संस्थाले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरिएको छ। यससँगै प्रणालीमा निक्षेप बढेको देखिन्छ। 

बैंक तथा वित्तीय संस्थामा ५६ खर्ब ११ अर्ब निक्षेप छ। त्यही अवधिमा बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ५७ अर्ब रुपैयाँ लगानी गरेका छन्। 

त्यस अवधिसम्ममा वाणिज्य बैंकहरुले मात्रै ४९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन गरी ४२ खर्ब ९४ अर्ब लगानी गरेका छन्। 

साउनमा तीन वाणिज्य बैंकको निक्षेप बढ्दा अन्य १७ बैंकको घटेको छ। 

साउनमा स्टान्डर्ड चाटर्ड बैंक, नेपाल एसबीआई बैंक र प्राइम कमर्सियल बैंकको निक्षेप संकलन बढेको छ। अन्य सबै बैंकको निक्षेप संकलन घटेको छ।

कुनले कति निक्षेप संकलन गरे? 
२०८० असारको तुलनामा साउनमा नेपाल बैंकको निक्षेप घटेको छ। साउन मसान्तसम्ममा नेपाल बैंकमा २ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप रहेको छ। २०८० असार मसान्तसम्ममा बैंकमा २ खर्ब ४५ अर्ब निक्षेप थियो। 

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकमा २ खर्ब ९४ अर्ब निक्षेप रहेको छ। असारमा बैंकमा ३ खर्ब २२ अर्ब निक्षेप थियो। 

साउन मसान्तसम्म नबिल बैंकमा ३ खर्ब ९२ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ खर्ब ५० अर्ब, स्टान्डर्ड चाटर्ड बैंकले १ खर्ब २३ अर्ब, हिमालयन बैंकले २ खर्ब ७५ अर्ब, नेपाल एसबिआई बैंकले १ खर्ब ५४ अर्ब, एभरेष्ट बैंकले १ खर्ब ९३ अर्ब र एनआईसी एशिया बैंकले ३ खर्ब ११ अर्ब निक्षेप रहेको छ। 

माछापुच्छ्रे बैंकले १ खर्ब ५० अर्ब, कुमारी बैंकले ३ खर्ब १९ अर्ब, लक्ष्मी सनराइज बैंकले २ खर्ब ९८ अर्ब, सिद्धार्थ बैंकले २ खर्ब १८ अर्ब, कृषि विकास बैंकले १ खर्ब ८९ अर्ब, ग्लोबल आइएमई बैंकले ४ खर्ब २६ अर्ब निक्षेप संकलन गरेको छ।

उता सिटिजन्स बैंकले १ खर्ब ६५ अर्ब, प्राइम कमर्सियल बैंकले १ खर्ब ९१ अर्ब, एनएमबि बैंकले २ खर्ब ३ अर्ब, प्रभु बैंकले २ खर्ब ७७ अर्ब र सानिमा बैंकले १ खर्ब ७४ अर्ब निक्षेप संकलन गरेको छ।

२०८० असारको तुलनामा साउनमा नेपाल बैंकबाट १७ अर्ब, राष्ट्रिय वाणिज्य बैंकको २८ अर्ब, कृषि विकास बैंकबाट १० अर्ब निक्षेप घटेको छ। अन्य १५ वाणिज्य बैंकहरुको निक्षेप सामान्य घटेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .