अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरेका छन्। नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उनले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गरे।
अर्थमन्त्री डा महतले भने, ‘अब आर्थिक सङ्कटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन्। मुलुकमा रहेको आर्थिक सङ्कट धेरै समय रहँदैन।”
आर्थिक सङ्कटको अन्त्य गर्न सरकारले नीतिगत योजना बनाएको उल्लेख गर्दै उनले भने, ‘प्राथमिकताका आधारमा लगानी गर्ने, जग्गाको कारोबार बढाउन प्रक्रियागत सुधार गर्ने र व्यवसायीलाई लगानीको वातावरण बनाउन सरकार लागि परेको छ।’
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, किरण पौडेल, जिल्ला सभापति राजेश्वर खनाल, निर्वतमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, खैरहनी नगरपालिकाका प्रमुख शशी खनिया, राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामा, संविधानसभा सदस्य सावित्रीदेवी चौधरीलगायतले पार्टी सही तवरले अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति किरणभूषण सिंह ओलीले राजनीतिक प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मी थापा भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। क्षेत्रीय पार्टी कार्यालयको भवन निर्माणको लागि जग्गा प्रदान गर्ने संविधानसभा सदस्य सावित्री चौधरी र स्वर्गीय उदयनाथ अधिकारीसहित पार्टीको संस्थागत विकासमा योगदान दिनुभएका नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो।
Shares

प्रतिक्रिया