ad ad

कारोबार


सरकारले हवाई टिकटमा भ्याट लगाउँदा महँगियो दसैँ यात्रा

प्रतिस्पर्धा नभएको ठाउँमा अधिकतम भाडा लिँदै वायुसेवा कम्पनी
सरकारले हवाई टिकटमा भ्याट लगाउँदा महँगियो दसैँ यात्रा

वसन्त अर्याल
असोज २८, २०८० आइतबार १९:३९, काठमाडौँ

सरकारले हवाई भाडामा भ्याट लगाउँदा दसैँ यात्रा महँगो भएको छ। चालु आर्थिक वर्षको बजेटमा घोषणा गरी १३ प्रतिशत भ्याट लगाउँदा अघिल्ला वर्षको तुलनामा यसवर्ष टिकट महँगो भएको हो। 

नागरिक उड्डयन प्राधिकरणसँगै हवाई सेवा प्रदायकले भ्याट लगाउँदा ५–६ प्रतिशत भाडा वृद्धि भएको बताएका छन्। सरकारको निर्णयसँगै हवाई सेवा सञ्चालकले साउन १ गतेबाटै टिकटमा भ्याट जोडेर भाडा लिन थालेका थिए।

तर नेपाल टुर एन्ड ट्राभल्स एजेन्सीले सर्वोच्चमा मुद्दा दायरगरेसँगै न्यायाधीश अनिलकुमार सिन्हाले हवाई भाडामा भ्याट नजोड्न अल्पकालीन अन्तरिम आदेश दिएका थिए। 

भदौ १५ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले अत्पकालीन आदेश खारेज गरेको थियो। जसका कारण भाडामा भ्याट लाग्दै आएको छ। हवाई कम्पनीले प्राधिकरणले तोकेको भाडामा १३ प्रतिशत भ्याट जोडेर लिने गरेका छन्।  

काठमाडौंबाट लामो दुरीमा पर्ने धनगढीको भाडा १७ हजारमाथि पुगेको छ। दुवैतर्फ यात्रु हुँदा कम मूल्यमै टिकट बिक्री गरे पनि अहिले एकतर्फी भएकाले भाडा बढेको हवाई कम्पनीले बताएका छन्। 

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सरकारले हवाई टिकटमा भ्याट लगाउँदा मूल्य बढेको बताए। 

‘कुनै गन्तव्यमा फुल भाडा छ। अधिकांशमा मध्यमखालकै छ,’ उनले भने, ‘काठमाडौंको ट्राफिकले १ घण्टासम्म जहाज होल्ड गर्नुपर्ने अवस्थाले हामीलाई अप्ठेरो छ।’

यती, बुद्ध र श्री एयरलाइन्स तीनवटैले उडान भर्ने गन्तव्यमा भाडा मध्यम खालको छ भने एउटा मात्रै वायुसेवा सञ्चालन हुने ठाउँमा फुल भाडा लिएका छन्।

काठमाडौं–दिल्लीभन्दा धनगढीको भाडा ५ हजार महँगो छ। सोमबारका लागि दिल्लीको भाडा १३ हजार २२३ रहँदा धनगढीमा बुद्ध एयरको भाडा १७ हजार १८६ रुपैयाँ छ। काठमाडौंबाट दिल्ली करिब ८०० किलोमिटर टाढा छ भने धनगढीसम्मको दुरी ४८३ किमि छ। 

सोमबारका लागि भुटान एयरलाइन्सको काठमाडौं–दिल्ली भाडा १३ हजार २२३ रुपैयाँ रहेको छ। सोही रुटमा इन्डिगोको १४ हजार ७३४ रुपैयाँ छ। काठमाडौंबाट धनगढी श्री एयरलाइन्स र बुद्ध एयरले उडान गरिरहेका छन्। सोमबारका लागि श्री एयरलाइन्सका केही उडानको भाडा १३ हजार ५०० रुपैयाँ छ। बुद्ध एयरको भने १७ हजार १८६ रुपैयाँ रहेको छ। 

बुद्ध एयरका सेल्स एन्ड मार्केटिङ प्रमुख रुपेश जोशीले सरकारले १३ प्रतिशत भ्याट लगाएकाले भाडादर वृद्धि स्वाभाविक भएको दाबी गरे।

‘अहिले इन्धनको मूल्य बढेको छ। त्यसमा सरकारले भ्याट थपिदिएको छ,’ जोशीले भने, ‘दसैँमा यात्रु एकतर्फी मात्रै हुने भएकाले हामी फुल भाडा लिन बाध्य छौँ।’

पछिल्लो समय हवाई इन्धनको मूल्यमा वृद्धि हुँदा भाडादर फेरिएको उनले बताए।

‘यताबाट जानेको चाप धेरै छ। उताबाट खाली जहाज उडान गर्नुपर्छ,’ उनले भने, ‘सबै गन्तव्यमा टिकट पाइरहेकाले धेरै उडान थप गर्न आवश्यक परेको छैन।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले हवाई कम्पनीले दसैँमा अधिकतम भाडा लिने गरेको बताए। 

‘हवाई कम्पनीलाई अधिकतम भाडा तोकिएको हुन्छ,’ भुलले भने, ‘हामीले तय गरेको भाडादरमा १३ प्रतिशत भ्याट जोडिएको छैन।’

प्राधिकरणले २०७३ सालमा तोकेको भाडादरकै आधारमा टिकट शुल्क लिइरहेका छन्। आन्तरिक उडानमा १० प्रतिशत थप भएको प्राधिकरणले जनाएको छ। चार्टर उडान ४ प्रतिशतले थपिएको छ। 

बुद्ध एयरले दैनिक १८० (आउजाउ) वटा उडान अनुमति लिएको छ। २० वटा उडान थपिएको छ। यती एयरलाइन्स र श्री एयरलाइन्सको १० वटा उडान थपिएका छन्। 

‘कुनै गन्तव्यमा उडान प्रतिस्पर्धा कम हुँदा भाडा बढी हुनसक्छ,’ भुलले भने, ‘यात्रु माग बढी भएको ठाउँमा उडान संख्या पनि थप गरिएको छ।’

दिल्लीको तुलनामा धनगढीमा साना जहाज उड्ने भएकाले भाडा महँगो भएको उनको भनाइ छ।

‘ठूला जहाजमा धेरै यात्रु अट्छन्। त्यसैले भाडा केही कम भएको हुनसक्छ,’ भुलले भने, ‘काठमाडौं–धनगढी नेपालको सबैभन्दा लामो दुरीको उडान हो। त्यसैले भाडा बढी छ।’

अघिल्लो वर्षको तुलना भाडा बढी हुनु भ्याट थप मुख्य कारण भएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .