ad ad

कारोबार


दसैँमा अटो कारोबारमा रौनक, ४ अर्बले बढ्यो आयात

दसैँमा अटो कारोबारमा रौनक, ४ अर्बले बढ्यो आयात

वसन्त अर्याल
कात्तिक १२, २०८० आइतबार १६:११, काठमाडौँ

चालू आर्थिक वर्षमा गाडीको आयात करिब ४ अर्ब रुपैयाँले बढेको छ। विद्युतीय र पेट्रोल इन्जिनका कारको आयात बढेसँगै गाडीको आयात बढेको हो। 

अघिल्लो वर्ष पेट्रोल इन्जिनका गाडीको आयातमा प्रतिबन्ध हुँदा एकदमै न्युन मात्रामा आयात भएको थियो। अघिल्लो वर्ष साउन, भदौ र असोजमा १५ अर्ब २६ करोड रुपैयाँको गाडी तथा पार्टस् आयात भएकोमा अहिले  १९ अर्ब ९ करोड रुपैयाँको आयात भएको छ। 

भन्सार विभागको तथ्यांक अनुसार आइस इन्जिनका गाडीको तुलनामा विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ। पेट्रोल इन्जिनका कार १३ सय ५६ वटा भित्रिएका छन्। डिजेल इन्जिनका २३० वटा भित्रिएका छन्। जबकी ३ महिनामा २ हजार २७४ वटा विद्युतीय गाडी भित्रिएका छन्। 

अघिल्लो वर्ष असोजसम्म ७ सय ५ वटा गाडी आयात भएका थिए। गत वर्ष गाडी आयात प्रतिबन्धकाबीच भन्सारमा रोकिएका ४८३ वटा पेट्रोल इन्जिनका गाडी आयात भएका थिए। 
चारपांग्रे गाडीको आयात बढ्दा दुईपांग्रेको व्यापार भने घटेको छ। अघिल्लो वर्ष मोटरसाइकल तथा स्कुटरको आयात ५२ हजार १८१ रहेको थियो। 

चालु आर्थिक वर्षमा १० हजारले मोटरसाइकलको आयात घटेको छ। पछिल्लो ३ महिनामा ४२ हजार १ सय २ वटा मात्रै आयात भएका छन्। 

नाडा अटो मोबाइल्स एशोसिएसनका अध्यक्ष धुब्र थापाले नाडा अटो शो र दसैँको समयमा अटो व्यापार राम्रो भएको बताए। उनले नाडा अटो शोमा राम्रो बुकिङ हुँदा दशैंमा डेलिभरी भएको सुनाए। 

‘अघिल्लो वर्ष पेट्रोल गाडीको आयातमा प्रतिवद्ध हुँदा कम थियो। अहिले खुलेपनि धेरै बजार लिन सकेन,’ थापा भन्छन्, ‘विद्युतीय गाडीको भने धेरै नै व्यापार बढेको छ।’

उनले पेट्रोल इन्जिनका गाडीको बिक्री पुरानै अवस्थामा फर्किएको भए १२ अर्बले आयात बढ्ने देखिएको सुनाए।

 

चिनियाँ ब्रान्डको वर्चश्व
चालू आवमा ५० किलोवाटसम्मका विद्युतीय गाडी भारतबाट सबैभन्दा बढी आएका छन्। नाडा अटो शोमा सार्वजनिक भएको टाटा टियागोको ५०० बढी बिक्री हुँदा आयात ९४२ वटा भित्रिएका हुन्।

५० किलोवाट कमको एमजीको कोमेट समेत भारतमा उत्पादन भई नेपालमा भित्रिएको छ। 

इन्डोनेसियाबाट भित्रने विलिङ असोजमा ७ वटा रहेको छ। चाइनाबाट ५० किलोवाटसम्मका ५ वटा मात्रै भित्रिएका छन्। सेरेसले २ वटा ढोका भएको विद्युतीय कार भित्र्याएको छ। नाडा अटो शोमा राम्रै बुकिङ भएपनि नेपालमा भित्रिसकेको छैन। 

बीवाईडीको बजार चम्किँदा ५० देखी १०० किलोवाटका चाइनाबाट १ हजार ३५ गाडी भित्रिएका छन्। बीवाईडीको अट्टो ३ र नाडा अटो शो अघि सार्वजनिक गरेको डोल्फिनको आयात भएका छन्। चिनियाँ गाडीको आयात बढ्नुमा एमजी र नेटा ब्रान्डको उपस्थित रहेको छ। एमजीको एक्सजेट १०० र नेटा भी मोडल बढी बिक्री भएका छन्। 

भारतबाट ५० देखी १०० किलोावटसम्मका गाडीको आयातमा भने कमी आएको देखिन्छ। ३ महिनामा १३१ वटा मात्रै आयात भएका छन्। १०१ देखी २०० किलोवाटसम्म चाइनाबाट ८ वटा भित्रदा जर्मनीबाट २ वटा र कोरियाबाट २ वटा मात्रै भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ। २०१ किलोवाट माथीका चाइनाबाट ३ वटा गाडी आयात भएका छन्। 

अघिल्लो वर्ष चीनबाट विद्युतीय गाडीको आयात एकदमै कम रहेको थियो। १०० किलोवाटसम्मका चीनबाट ७५ वटा भित्रिदाँ भारतबाट ५०२ वटा गाडी भित्रिएका थिए।

कोरियाबाट १०९ वटा विद्युतीय गाडी भित्रिएका थिए। 

अटो व्यवसायीका अनुसार नाडा अटो शोमा बुकिङ भएका गाडी आयात भैसकेका छैनन्। केही ब्रान्डले डेलिभरी गरिसकेपनि केही आयात गर्ने प्रक्रियामै रहेका छन्। 

‘नाडामा बुकिङ भएका टाटा, बीवाईडी, एमजीले बढी डेलिभरी गरिरहेका छन्,’ नाडा अध्यक्ष थापाले भने, ‘सेरेस लगायतका ब्रान्डले अब डेलिभरी गर्ने तयारीमा छन्।’

उनले बुकिङ अनुसारको गाडी भित्रँदा विद्युतीय गाडीको आयात तथ्यांक अझै बढ्ने बताए। अहिले विद्युतीय गाडी आयात गरी स्टकमा राख्नुपर्ने अवस्था नभएको अटो व्यवसायीले बताएका छन्। 

विद्युतीय माइक्रो १२५ वटा आयात भएको छन्। जसमा ११ देखी १४ सिटसम्मका १०५ वटा र १४ देखी २५ सिटसम्मका २० वटा आयात भएका छन्। अघिल्लो वर्ष सुरुको ३ महिनामा २७ वटा मात्रै विद्युतीय माइक्रो आयात भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .