कारोबार


भारतबाट ल्याइएका मुर्रा राँगा कहाँ राखिन्छन्?

भारतबाट ल्याइएका मुर्रा राँगा कहाँ राखिन्छन्?

नेपालखबर
मंसिर ७, २०८० बिहिबार ११:८, काठमाडौँ

भारत सरकारबाट सहयोगस्वरुप प्राप्त मुर्रा राँगा नेपाल भित्रिएका छन्। दुईवटा ट्रकमा नेपालगञ्ज नाका हुँदै बुधबार १५ वटा मुर्रा राँगा नेपाल भित्रिएका हुन्।

भारतमा विकास गरिएका उच्च क्षमताको मुर्रा जातका भैँसीले एक बेतमा तीन हजार लिटर भन्दा धेरै दूध दिने गरेको छ।

पशु विभागका अनुसार नेपालमा स्थानीय भैंसीको औसत दूध उत्पादकत्व करिब नौ सय लिटर जति मात्रै छ। मुर्रा क्रस ब्रिड भैँसीको दूध उत्पादन क्षमत औसत एक हजार पाँच सय लिटर छ।

शुद्ध नश्लका मुर्रा भैँसीको औसत उत्पादकत्व एक बेतमा करिब २३ सय लिटर छ।

‘बढी दूध उत्पादकत्वको गुण भएका राँगा नेपाल ल्याएर प्रजनन्मा लगएमा नेपाली भैंसीको औसत उत्पादनमा समेत गुणात्मक वृद्धि हुन्छ,’ विभागका महानिर्देशक डा. उमेश दाहालले भने।

भैँसीको उत्पादकत्वमा वृद्धि गर्न उच्च उत्पादन गुण भएका मुर्रा राँगा नेपालमा भित्र्याउन विभागले प्रयास गरेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारत सरकारले उन्नत जातका मुर्रा राँगा सहयोग दिने सहमति भएको थियो।

पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार सोही सहमति अनुसार बुधबार राति जमुनाह नाका हुँदै मुर्रा राँगा नेपाल भित्रिएका हुन्।

‘क्वारेन्टाइन प्रक्रिया पूरागरी नेपाल ल्याइएका ती राँगा लहान, पोखरा र बाँकेस्थित गौघाटमा रहेका राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखेर वीर्य उत्पादनमा प्रयोग गरिनेछ,’ ढकालले भने। 

राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा ७, राष्ट्रिय पशु प्रजनन् कार्यालय लाहानमा ५ र राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगञ्जमा ३ वटा राखिने छ। मुर्रा राँगाको जमेको वीर्यको माग पाँच वर्षमा दुई गुणा र १० वर्षमा करिब पाँच गुणा बढ्ने विभागको अनुमान छ। 

नेपालको कृषि अर्थतन्त्रमा धान पछि भैँसीपालन सबैभन्दा धेरै योगदान गर्ने क्षेत्रमा पर्छ।  

देशको कुल दूध र मासु उत्पादनमा भैँसीको योगदान करिब क्रमशः ५७ र ३८ प्रतिशत रहेको छ। भैंसी पालन नेपालमा दूध उत्पादनको प्रमुख स्रोत हो। 

भैँसी पालनबाट मासु उत्पादनको अतिरिक्त खेतबारी जोत्न, गोबर, गाडा तान्न, छाला, हाडखोडसमेत प्रयोग हुन्छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयबाट प्रकाशित पछिल्लो तथ्याङ्कले नेपालमा करिब २९ लाख भैंसी रहेको देखिएको छ । जसमध्ये उन्नत तथा वर्णशङ्कर भैंसी २६ प्रतिशतको हाराहारीमा छन्। 

१४ लाख ६४ हजार मेट्रिक टन दूध भैंसीबाट र १ लाख ९४ हजार मेट्रिक टन मासु राँगा, पाडा तथा भैंसीबाट उत्पादन हुँदै आएको छ। नेपालमा लिमे, पारकोटे, गड्डी जातका स्थानीय भैंसी र मुर्रा शुद्ध नश्ल र मुर्रा क्रस ब्रिड भैँसीका प्रजातीहरू रहेका छन्। 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .