नेपाल वायुसेवा निगमले नेपालको हवाइ सेवा युरोपियन युनियनको कालोसूचीमा नहट्नुको कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) भएको जनाएको छ।
प्राधिकरणले न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरु नेपालमा लागू गर्ने जिम्मेवारी पूरा गर्ने वर्तमान क्षमतामा विश्वस्त हुन नसकिएकोले सेफ्टी लिस्टबाट नहटेको उल्लेख गरेको हो।
नेपाल २०१३ देखि युरोपियन युनियनको सेफ्टी लिस्टमा छ। नेपालका सम्पूर्ण वायुसेवा प्रदायकहरुलाई सेफ्टी लिस्टबाट हटाउन गत सेप्टेम्बरमा अडिट गरेको थियो।
अडिटमा क्यानका कमजोरीहरु ३५ वटा र १३ सिफारिस, नेपाल एयरलाइन्सको २५ वटा फाइन्डिङस र २ वटा सिफारिस गरेको थियो। नेपालले बुझाएको रिपोर्ट १५ नोभेम्बर २०२३ को एयर सेफ्टी कमिटी बैठकमा प्रस्तुत भएका कार्ययोजनालाई विश्लेषण गर्यो।
ईयूले नेपालले हवाई सुरक्षाको क्षेत्रमा केही प्रगति हासिल गरेता पनि क्यानको न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरु नेपालमा लागू गर्ने जिम्मेवारी पूरा गर्ने वर्तमान क्षमतामा विश्वस्त हुन नसकिएकोले सेफ्टी लिस्टबाट हटाउन नसकिएको जनाएको छ।
ईयूले प्राधिकरण र वायुसेवा निगमका ‘सेफ्टी म्यानेजमेन्ट सिस्टम’लगायतका क्षेत्रहरुमा विशेष ध्यान दिई योजनाबद्ध ढंगले कार्यहरु गर्न सुझाव दिएको छ।
निगमले विज्ञप्ति जारी गर्दै प्राधिकरणको संगठनात्मक संरचनाको विषयमा प्रश्न उठाएको उल्लेख गरेको छ।
‘नेपाललाई ईयू सेफ्टी लिस्टबाट नहटाउनुको कारण क्यानको सम्बन्धित अन्तर्राष्ट्रिय हवाइ सुरक्षाका न्यूनतम मापदण्डहरु लागू गर्ने जिम्मेवारी पूरा गर्नसक्ने क्षमतामा उपर्युक्त बुँदागतरुपमा प्रश्न चिह्न रहेको स्पष्टसँग उल्लेख गर्दागर्दै पनि नेपाल वायुसेवा निगमको कमजोरीका कारण नेपाललाई ईयूले सेफ्टी लिस्टबाट नहटाएको भन्ने प्रचार गरिएको’ निगमले जनाएको छ।
यद्यपि ईयूले पठाएको पत्रमा नेपाल एयरलाइन्ससँग सम्बन्धित विषयहरुलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया