ad ad

कारोबार


गभर्नरको ‘ब्रिफ्रिङ’– बोर्ड सदस्य रहेका अर्थसचिवले समय नै दिँदैनन्

गभर्नरको ‘ब्रिफ्रिङ’– बोर्ड सदस्य रहेका अर्थसचिवले समय नै दिँदैनन्

दीपक भट्ट
मंसिर १७, २०८० आइतबार १८:२९, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थसचिव कृष्णहरि पुस्करले समय नै नदिएको बताएका छन्। 

राष्ट्र बैंक बोर्ड सदस्य समेत रहेका पुस्करले राष्ट्र बैंकका लागि समय दिन नचाहेको भन्दै अन्य बोर्ड सदस्यसामु ‘ब्रिफ्रिङ’ गरेका हुन्।

चालू आर्थिक वर्षको तीन महिनाको आर्थिक अवस्थाको तथ्याङ्क नेपाल राष्ट्र बैंकले कात्तिक २५ गते नै सार्वजनिक गरेको थियो। 

सोही तथ्यांकमा आधारित भएर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको ‘रिभ्यू’ गर्ने गर्छ। यहीअनुसार केन्द्रीय बैंकले हरेक तीन महिनामा मौद्रिक नीतिको समीक्षा गर्दै आएको छ। चालू आर्थिक वर्षको पहिलो समीक्षामा केही ढिलाइ हुनपुगेको छ। 

बोर्ड सदस्यहरुले मौद्रिक नीतिको समीक्षामा ढिलाइ भएको बारे बोर्ड प्रमुख समेत रहेका गभर्नर महाप्रसाद अधिकारीलाई प्रश्न गरेपछि उनले त्यस्तो ब्रिफिङ गरेका हुन्। 

एक सदस्यका अनुसार अधिकारीले मौद्रिक नीतिको समीक्षाजस्तो एजेण्डा रहेको बोर्ड बैठकमा अर्थसचिव कृष्णहरि पुस्कर उपस्थित नभइदिँदा उक्त एजेण्डा प्रस्तुत हुन नसकेको बताएका हुन्। 

ती सदस्यले भने, ‘कृष्णहरि सरले बैठकमा आउने नआउने जानकारी दिनुभएको छैन। त्यसकारण पनि केही ढिला भएको हो।’

तर मौद्रिक नीतिको लागि धेरै ठूलो असर भने नगरेको ती सदस्यले बताए। यद्यपि हरेक एजेण्डामा अर्थसचिव सहभागी रहेको खण्डमा राम्रो हुने गभर्नर अधिकारीको भनाइ छ। 

नेपाल राष्ट्र बैंकको बोर्ड बैठक यही मंसिर १२ गते बसेको थियो। तर उक्त बैठकमा अर्थसचिव सहभागी थिएनन्। त्यस्तै त्योभन्दा अघिल्लो बैठकमा समेत अर्थसचिवको सहभागिता थिएन।

नेपाल राष्ट्र बैंकको बोर्ड प्रमुख गभर्नर रहने व्यवस्था छ। सदस्यहरुमा अर्थसचिव, डेपुटी गभर्नरद्वय रहन्छन्। अन्य सदस्यहरुमा विज्ञहरु नियुक्त हुन्छन्। अहिले चिन्तामणि शिवाकोटी, शंकर प्रसाद आचार्य र रविन्द्र प्रसाद पाण्डे सदस्य छन्। 

अर्थ मन्त्रालयको अर्थसचिव जो रहन्छ, उसलाई नै राष्ट्र बैंकको सदस्य बनाइनेमा असोज ४ गते पुस्करले सदस्यको शपथ लिएका थिए।

पुस्करले समय किन दिएनन्? 
बेला–बेलामा गभर्नर र अर्थ मन्त्रालयको सम्बन्धबारे चर्चा हुने गरेको छ। यसअघि पनि जनार्दन शर्मा अर्थमन्त्री रहँदा बोलचाल समेत नभएको चर्चा थियो। 

त्यस्तै अहिले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग समेत सम्बन्ध राम्रो नभएको चर्चा हुने गरेको छ। तर पुस्कर बैठकमा सहभागी नहुनुमा भने अर्थ मन्त्रालयको सम्बन्धको विषय नभएको ती सदस्य बताउँछन्। 

उनी भन्छन्, ‘अर्थ मन्त्रालयको सम्बन्धलाई नै लिएर त हैन तर गभर्नरले स्पष्ट एजेण्डाहरु दिएर बैठक बोलाउँदैनन्, त्यसकारण पनि अर्थसचिवले बैठकलाई महत्त्व नदिएको देखिन्छ।’

गभर्नरले करिब १ वर्षयता बैठक बोलाउँदा एजेण्डाहरु समेत दिएर बैठक बोलाएका छैनन्। 

‘कुनै विषयहरु अध्ययन गरेर आउनुपर्ने खालका समेत हुन्छन्, तर अध्ययन गर्ने समय नहुँदा अर्थसचिवलाई मात्रै हैन हामीलाई नै गाह्रो परेको छ’, ती सदस्यको दाबी छ। 

उनका अनुसार बैठक बसेको १÷२ घण्टामा नै निर्णय गर्नुपर्ने आशयका साथ गभर्नरले बैठक बोलाउँछन्। त्यसकारण सबै बोर्ड सदस्यलाई समस्या हुने गरेको उनको भनाइ छ। 

आउँदो मंगलबारलाई समेत राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको छ। तर उक्त बैठकको लागि पनि एजेण्डाहरु तोकिएको छैन। उक्त बैठकमा भने अर्थसचिव पुस्कर सहभागी हुने नहुने हेर्न बाँकी रहेको ती सदस्य बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .