ad ad

कारोबार


सेयर धितो कर्जाको जोखिम भार घट्यो, बढ्ला त सेयरबजार?

‘जोखिम भार घटाउँदा लगानीकर्ताको मनोबल बढ्छ’
सेयर धितो कर्जाको जोखिम भार घट्यो, बढ्ला त सेयरबजार?

केशर बोगटी
मंसिर २२, २०८० शुक्रबार १३:१९, काठमाडौँ

सेयरबजार अहिले साढे १८ सय विन्दुमा छ। बजारमा लगानीयोग्य रकम (तरलता) अधिक हुँदा समेत सेयरबजार बढ्न नसकिरहेको बेला शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तीन महिने समीक्षा सार्वजनिक गरेको छ। 

यसले जोखिम भारमा लचिलो हुँदै केही हदसम्म लगानीकर्तालाई राहत दिएको छ। यस्तो अवस्थामा पुँजीबजार कति खुसी होला आगामी दिनले देखाउला। 

कोभिड महामारीताका ३२ सय विन्दुसम्म पुगेको बजार अहिले साढे १८ सयमा झरेको छ। सोही १८ सयको विन्दु नै तल्लो विन्दु रहेको आम लगानीकर्ताको बुझाइ छ। 

यद्यपि, बजार १८ सय विन्दु नजिक पुग्दा सेयर किन्ने र थोरै बढ्नेबित्तिकै नाफा बुक गर्ने प्रवृत्तिले बजारले लय समाउन सकेको थिएन। कारण, सेयर कर्जाको जोखिम भार उच्च नै रहेको लगानीकर्ताको गुनासो थियो। 

गत साउनसम्म २५ लाखको जोखिम भार १०० प्रतिशत थियो भने त्योभन्दा माथिको हकमा १५० प्रतिशत थियो। साउनमा ५० लाखसम्मको सेयरधितो कर्जाको जोखिम भार १०० प्रतिशतमा घटाइएको थियो। 

यसरी सानो कर्जाको मात्रै जोखिम भार घटाउँदा त्यसले बजारलाई थप उचाइ दिन सकेन। 

तर, अहिले फेरि लगानीकर्ताको मागमा लचिलो बन्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् सेयरधितो कर्जाको जोखिमभार घटाइदिएको छ। 

योसँगै अब ५० लाखमाथिको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारिएको छ। यसले ठूला लगानीकर्ता राहत मिल्ने देखिएको छ। 

५० लाखमाथिको कर्जाको जोखिम भार घटाउँदा यसले बजारलाई लयमा फर्काउने जानकार बताउँछन्। 

बैंकहरूमा अधिक तरलता भएको बेला राष्ट्र बैंकले घटाएको जोखिमभारले बजार सकारात्मक हुने उनीहरूको भनाइ छ। 

हाल बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ। वित्तीय संस्थाहरूसँग मात्रै झण्डै खर्ब लगानीयोग्य रकम छ। कर्जाको ब्याजदर पनि निरन्तर घट्दै गइरहेको छ।

मौद्रिक नीति समीक्षाले अझै ब्याजदर घटाउनेछ। मौद्रिक नीतिको समीक्षामा नीतिगत दर १ प्रतिशतले घटाएसँगै ब्याजदर घट्ने देखिएको हो। 

अधिक तरलता भएका बेला ब्याजदर घट्दै जानु बजारको लागि सकारात्मक हुन्छ। 

यसै पनि अर्थतन्त्रमा शिथिलताका कारण कर्जाको माग बढ्न सकेको छैन भने बैंकहरू पनि नउठ्ने ठाउँमा कर्जा प्रवाह गर्न चाहिरहेका छैनन्। यद्यपि, बैंकहरूले समेत सेयर धितो कर्जा र अटो कर्जा सहज रूपमा दिइरहेका छन्। 

सेयर कर्जा सहज भएका बेला जोखिमभार घटेकाले लगानीकर्ताको मनोबल बढ्ने देखिन्छ। र, यस्तो कर्जा बढ्ने र बजार लयमा फर्किने जानकार बताउँछन्। 

यसअघि बजार सामान्य अंकले बढ्नासाथ नाफा बुक गर्ने प्रवृत्तिले बजार बढ्न नसकेको उनीहरू बताउँछन्। 

जोखिम भार घट्नु, बजारमा अधिक तरलता हुनु र बैंकहरूले यस्तो कर्जा सहज प्रवाह गर्नु बजारको लागि सकारात्मक हुने उनीहररूको बुझाइ छ। 

साथै, पछिल्लो सेयर धितो कर्जाको प्रवाह बढ्दै गइरहेको छ। साउनदेखि असोजसम्म सेयरधितो कर्जा ४.५ प्रतिशत अर्थात् ३ अर्ब ३३ करोडले बढेको छ। 

५० लाखमाथिको सेयरधितो कर्जाको समेत माग बढ्दै गइरहेको छ। जोखिम भार घटेपछि अब यस्तो कर्जा अझै बढ्ने देखिन्छ। 

जोखिम भार घटाउनु सकारात्मक : लगानीकर्ता  
सेयर लगानीकर्ता छोटेलाल रौनियार सेयरकर्जाको जोखिम भार घटाउनु सकारात्मक रहेको बताउँछन्। 

राष्ट्र बैंकले नीतिगत दर घटाएर ब्याजदर पनि घटाउन संकेत गरेको छ। यसले लगानीकर्ताको मनोबल बढ्ने रौनियार बताउँछन्।

‘बैंकहरूमा तरलता अधिक छ। यस्तो अवस्थामा बैंकहरूको ब्याजदर घट्दै जानु सकारात्मक कुरा हो’, उनले भने, ‘नीतिगत दरले ब्याजदर घट्न मुद्दत गर्छ। जसले गर्दा लगानीकर्ताको मनोबल बढ्ने देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .