धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको छ। बोर्ड सदस्यहरूले विरोध जनाए पनि बोर्डले अर्थ मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको हो।
अदालत र संसदीय समितिबाट फुकुवा भएको भन्दै बोर्डका अध्यक्ष रमेश हमालले प्रक्रिया अघि बढाउने सम्बन्धमा पत्र लेख्ने निर्णयको माइन्युट गराएका हुन्।
बैठकमा अध्यक्ष हमाललाई बोर्ड सदस्यहरूले आरोप नलाग्ने गरी प्रक्रिया बढाउन र सोहीअनुसारको काम गर्न भनेका थिए। नयाँ स्टक एक्सचेन्जको सम्बन्धमा बजारमा धेरै चर्चा रहेकोले आरोप नलाग्ने गरी काम गर्न सदस्यहरूले आग्रह गरेका हुन्।
अर्थले प्रस्ताव लगेर मन्त्रिपरिषदले निर्णय गरेको अवस्थामा निजी क्षेत्रको यो पहिलो स्टक एक्स्चेन्ज हुनेछ। नयाँ स्टकको प्रक्रिया अघि बढाउन बुधबार बिहान बोर्ड बैठक बसेको हो।
गत शुक्रबार सञ्चालक समितिको बैठक राखेर अर्थ मन्त्रालयलाई सहजीकरण तथा निर्देशनका लागि भन्दै बोर्डले पत्र लेखेको थियो। अर्थ मन्त्रालयले सोमबार नयाँ स्टक लाइसेन्स दिने विषयमा यसअघि मन्त्रिपरिषद्ले भनेबमोजिम नभएकोले थप प्रक्रिया पूरा गर्नुपर्ने भन्दै जवाफ पठाएको थियो।
थप प्रक्रियाको लागि पत्र पठाउने सम्बन्धमा आजको बैठक बोलाइएको हो। बोर्ड बैठकले पत्र पठाउने निर्णय गरेको छ।
तर सदस्यहरूले नयाँ स्टकको विषयले बोर्ड बदनाम भइसकेको भन्दै अध्यक्ष हमालसँग विरोध जनाएका थिए।
निजी क्षेत्रको प्रतिनिधित्व गर्ने सुरकृष्ण वैद्यको उपस्थिति नै थिएन भने राष्ट्र बैंकको प्रतिनिधित्व गर्ने प्रकाश श्रेष्ठले विरोध जनाएका थिए। नेपाल सरकारको प्रतिनिधित्व गर्ने सहसचिवहरू भने मौन रहे।
स्वतन्त्र र विज्ञ सदस्यहरूको समेत विरोध आएको एक सदस्यले जानकारी दिए। उनका अनुसार नयाँ स्टकको सम्बन्धमा अध्ययन समिति गठनको समेत माग भएको छ।
उनी भन्छन्, ‘अर्थ मन्त्रालयले प्रक्रियाको विषयमा प्रश्न उठाएपछि तेस्रो पक्षको समेत संलग्नतामा अध्ययन कमिटी गठन गर्नुपर्छ भनेर बैठकमा माग भएको थियो।’
तर हमालको दबाबमा प्रक्रिया अघि बढाउने पत्र लेख्ने निर्णय भएको छ। बैठकपछि अध्यक्ष हमालले अनौपचारिक रुपमा ११ गतेदेखि आफू बिदा बस्ने जानकारी समेत गराएका छन्।
उनको कार्यकाल यही पुस २३ गतेपछि सकिँदै छ। त्यसअघि नै नयाँ स्टकको लाइसेन्सको प्रक्रिया टुङ्ग्याउने तयारीमा सरकार छ।
नयाँ लाइसेन्सका लागि तीन कम्पनीको आवेदन परेको छ। हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज प्रतिस्पर्धामा छन्। हिमालयनमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट प्रमुख सेयरधनी छन्।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष शतिस मोर, ज्योति ग्रुप सौरभ ज्योति छन्।
नेपालका लागि मिस्सुबिसी कम्पनीको आधिकारिक विक्रेता आशिष श्रेष्ठ, रमेश कर्पका रोहित गुप्ता, मेरिएट होटलका सञ्चालक शशिकान्त अग्रवालल, दुगर्ड ग्रुपका विवेक दुगड र राजेन्द्र खेतान छन्।
नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी छ। रवीजंग लामिछाने, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुप यसमा मुख्य लगानी छ।
त्यस्तै, अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती छन्।
Shares

प्रतिक्रिया