नेपाल आयल निगम लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न सम्भव नभएको बताएको छ।
आइतवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव तथा नेपाल आयल निगम लिमिटेडका अध्यक्ष मधुसुदन बुर्लाकोटीले यस्तो बताएका हुन्।
उनले विमानस्थलभित्र रहेको अयाल निगमको इन्धन भण्डारणलाई तत्काल विमानस्थल बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताए।
प्राविधिक कारणले पनि बाहिर स्थानान्तरण गर्न नसकिने भन्दै विमानस्थलभित्रै भण्डारण गर्नु आफूहरूको बाध्यता भएको उनको भनाई थियो।
यद्यपी प्रधानमन्त्रीको निर्देशन अनुरुप आफूले काठमाडौं उपत्यकाका केही स्थानहरूमा विकल्प खोजिरहेको भन्दै राजनीतिक तहबाट स्वीकृत हुन बाँकी रहेको उनले जानकारी दिए।
अध्यक्ष बुर्लाकोटीले राजनीतिक तहले स्वामित्व नलिएसम्म सो स्थानबारे आफूले अहिले नै खुलाउनु उपयुक्त नहुने बताए। उनले विमानस्थल भित्रको इन्धन भण्डारणलाई सम्भव भएसम्म सुरक्षित तवरले राखिएको बताए।
नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण गर्न निगम तयार भएपनि जग्गा अभावका कारण सम्भव नभएको बताए। उनले जग्गा उपलब्ध हुन सकेमा आफूहरूले तुरुन्त काम अगाडी बढाउने स्पष्ट पारे।
उनले निगमले स्थानान्तरणका लागि बजेट छुट्याएर राखेको भएपनि जग्गा प्राप्ति नहुँदा गर्न नसकिएको बताए।
उनले भने, ‘हामीले डीपीआर गर्न पाइरहेका छैनौँ। गत आर्थिक वर्षमा पनि हामीले बजेट राख्यौँ। डीपीआर गर्न सुरु गर्न खोज्यौँ तर जग्गा उपलब्ध भएको छैन। हाम्रो जग्गाका इस्युहरु छन्। हाम्रो ३२ रोपनी जग्गा यतापट्टी छ। ५ रोपनी भाडामा लिएका छौँ। सम्बन्धित निकायले पनि हामीसँग यो जग्गाको विषय सल्ट्याउनुपर्यो।’
उनले आयल निगमलाई तुरुन्त जग्गा उपलब्ध गराउनका लागि नार्कलाई निर्देशन दिन पनि समितिलाई आग्रह गरे।
Shares

प्रतिक्रिया