प्रतिव्यक्ति १६ डलर लिने एक्स (पूर्वट्विटर) नेपालको कर कार्यालयमा दर्ता हुन बहानाबाजी गरिरहेको छ।
मेटा, टिकटकलगायत सामाजिक सञ्जाल दर्ता हुँदा करिब ५० लाख नेपाली प्रयोगकर्ता रहेको एक्स भने दर्ता नभएको हो।
विश्वका ट्रिलिनेयर (१० खर्ब डलर सम्पत्ति भएको व्यक्ति) हुनलागेका इलोन मस्कको कम्पनी एक्सले नेपालीबाट पैसा उठाए पनि कर तिरेको छैन। सरकारले २०७९ बाट सामाजिक सञ्जाल कर कार्यालयमा दर्ता भई १३ प्रतिशत भ्याट र साढे २ प्रतिशत डिजिटल सर्भिस ट्याक्स तिर्नुपर्ने व्यवस्था गरेको थियो।
नेपालमा प्रयोग हुने मुख्य सामाजिक सञ्जाल दर्ता भए पनि सब्स्क्राइब गरेर पैसा लिने एक्स अझै दर्ता भएको छैन। एक्सको ‘ब्लु टिक’ लिन न्यूनतम ३ डलरदेखि अधिकतम १६ डलर मासिक तिर्नुपर्छ। वार्षिक रुपमा ३२ डलरदेखि १६८ अमेरिकी डलरसम्म रहेको छ।
एक्सले ३ तहका सब्स्क्राइब गर्न मिल्ने व्यवस्था गरेको छ। मासिक ३ डलर पर्ने बेसिक टाइअर प्याकेजमा विज्ञापन केही मात्रामा कम आउँछन्। मासिक ८ डलरको प्रिमियम टाइअरमा ५० प्रतिशत कम र मासिक १६ डलरको प्रिमियम प्लस टाइअरको प्याकेज लिँदा कुनै पनि विज्ञापन नआउने एक्सले जनाएको छ।
नेपालमा हालको एक्स अर्थात् यसअघि ट्विटरलाई बौद्धिक वर्गले प्रयोग गर्ने सामाजिक सञ्जालको रुपमा व्याख्या गरिए पनि पछिल्लो समय जथाभावी ‘कन्टेन्ट’ आउन थालेपछि प्रयोगकर्ता घटेका छन्। एक्सको विकल्पमा लिंक्डइन र थ्रेड्समा प्रयोगकर्ता बढेको देखिन्छ।
ठूला करदाता कार्यालयका अनुसार एक्सले दर्ता गर्ने इच्छा देखाए पनि विभिन्न प्राविधिक कारण औँल्याउँदै आएको छ। पछिल्लो समय सरकारले टिकटकमा प्रतिबन्ध लगाएको (हाल प्रतिबन्ध हटाइसकेको)ले एक्सले आफूमाथि पनि प्रतिबन्ध लगाउन सक्ने आशंका व्यक्त गर्दै आएको छ।
‘एक्सका प्रतिनिधिहरुले बारम्बार सरकार परिवर्तन हुने गरेको र सामाजिक सञ्जालसम्बन्धी नीति पनि परिवर्तन हुने हो कि भन्ने आशंका गरिरहेका हुन्छन्’, एक कर अधिकृतले नेपालखबरसँग भने, ‘एक्समार्फत कुनै नेता वा दलको विरोध हुनथालेमा बन्दै गराउँछन् कि भन्ने संशय देखिन्छ।’
सामाजिक सञ्जालहरुले नेपालमा दर्ता र सूचीकरणको लागि नेपालमा स्पष्ट ऐन नभएको बताउँदै आएका छन्। एक्सले दर्ता गर्न इन्कारभन्दा पनि एजेन्टको खोजीमा रहेको बताउने गरेको छ।
‘नेपालमा टेलिकम, एनसेल, वर्ल्डलिंक, भायनेटलगायत इन्टरनेट सेवा प्रदायकको लागि एउटै गेटवे आवश्यक पर्छ’, ठूला करदाता कार्यालयका एक कर अधिकृतले भने, ‘कुनै एजेन्टले जिम्मेवारी लिएर समन्वय गरे दर्ता गर्छु भन्दै आएका छन्।’
ठूला करदाता कार्यालयमा माइक्रोसफ्टले दर्ता गर्नका लागि एजेन्ट नपाएर लामो समय रुमलिएको थियो। अहिले एक्सले दर्ता गर्ने प्रतिबद्धता व्यक्त गरे पनि एजेन्ट नभेटाएको अनौपचारिक रुपमा बताउने गरेको छ।
‘विश्वका धनाढ्य इलोन मस्कको कुनै पनि कम्पनी अहिलेसम्म नेपालमा दर्ता भएका छैनन्’, अर्का कर अधिकृतले थपे, ‘स्टारलिंकहरुको पनि चर्चा हुन्छ। कानुनी अप्ठ्यारो देखाउँछ। एक्स पनि अहिलेसम्म दर्ता भएको छैन।’
नेपालमा दर्ता हुनेमा गुगल एसिया, एनसीएस पार्सन, लिंक्डइन, मेटा प्लेटफर्म, माइक्रोसफ्ट, अमेजन वेब सिरिज, अमेजन सर्भिस, गुगल आयरल्यान्ड, टिकटक, एडोब सिस्टम, नेटफ्लिक्स छन्।
त्यसैगरी जोहो कर्पाेरेसन, गुगल डिजिटल इंक, प्रोम्याट्रिक जापान कम्पनी, इब्स्को इन्टरनेसनल इंक, एप्पल डिस्ट्रिब्युसन इन्टरनेसनल लिमिटेड, पिअर्सन एजुकेसन लिमिटेड, एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स दर्ता छन्।
एक्सबाहेक सब्स्काइब गर्दा शुल्क लिने युटुब समेत दर्ता भएको छैन। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता भएको भाइबर समेत कर कार्यालयमा दर्ता छैन। नेपालमा स्न्यापच्याट, टेलिग्रामलगायत सामाजिक सञ्जालका प्रयोगकर्ता बढी रहे पनि दर्तामा छैनन्।
नेपालमा विज्ञापन र सब्सक्राइब गरेर कर रकम उठाए पनि दर्ता नहुने कम्पनीलाई सरकारले कारबाही गर्न सक्दैन।
‘ठूला कम्पनीलाई कारबाही गर्ने हाम्रो ल्याकत छैन। सामाजिक सञ्जाल बन्द गराउँदा दूरसञ्चार सेवा प्रदायकको व्यापार नै घट्छ’, सञ्चार मन्त्रालयका एक अधिकारीले भने, ‘टिकटक प्रतिबन्ध लगाउँदा नेपाललाई नै घाटा भएको देखिन्छ। फकाएर उनीहरुलाई सरकारको नियमनमा ल्याउनुपर्छ।’
नेपालमा कति छन् सामाजिक सञ्जाल प्रयोगकर्ता?
ग्लोबल स्टार्टको तथ्यांकअनुसार नेपाली सोसल मिडियामा सबैभन्दा बढी हिस्सा फेसबुकको छ। नेपालमा यसका ९१.०६ प्रतिशत प्रयोगकर्ता छन्। एक्स (ट्विटर)को ५.९३ प्रतिशत, युट्युबको १.९ प्रतिशत, इन्स्टाग्रामको ०.५७ प्रतिशत र लिंक्डइनको ०.३१ प्रतिशत छ। तर एकै व्यक्तिले यी सबै सामाजिक सञ्जाल प्रयोग गर्ने नै धेरै रहेका छन्।
नेपालीको इन्टरनेट पहुँच ४९.६ प्रतिशत छ। १ करोड ५४ लाखले इन्टरनेट सेवा प्रयोग गर्ने तथ्यांक छ। इन्टरनेट प्रयोगकर्तामध्ये १ करोड ३५ लाखले सामाजिक सञ्जाल प्रयोग गर्छन्। जुन नेपालको जनसंख्याको ४३.५ प्रतिशत हो। नेपालमा सामाजिक सञ्जाल प्रयोग गर्ने अधिकांशले फेसबुक प्रयोग गर्छन्।
मेटाका अनुसार १ करोड ३५ लाख प्रयोगकर्ताले विज्ञापन हेर्ने गरेको र १ करोड ७० लाखसम्म पहुँच हुने उल्लेख गरेको छ। २०२३ को तुलनामा २०२४ मा १.१ प्रतिशतले वृद्धि भएको छ।
डाटा रिपोर्टलका अनुसार २०२४ को सुरुवातमा एक्सका प्रयोगकर्ता ४६ लाख ६१ हजार रहेको देखिएको थियो। एक्सले नेपालमा विज्ञापन गर्दा साढे ४६ लाख जनसंख्यामा पुग्ने दाबी गर्दै आएको छ।
यद्यपि यो मासिक प्रयोगकर्ताको तथ्यांकसंग मेल नखान सक्छ। सन् २०२३ देखि २०२४ को बीचमा एक्स प्रयोगकर्ता घटेको देखिएको छ। १ वर्षमा ८८ हजार प्रयोगकर्ताले एक्स छाडेको देखिन्छ। महिनामा र वर्षमा एक्टिभ हुने अकाउन्टको आधारमा प्रयोगकर्ता फरक देखिन्छ।
इन्टरनेट प्रयोगकर्ताका आधारमा ३ प्रतिशतले एक्स चलाउँछन्। २१.३ प्रतिशत प्रयोगकर्ता महिला छन् भने ७८.७ प्रतिशत पुरुष रहेका छन्।
Shares

प्रतिक्रिया