नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन २०८३ ले गरेको करसम्बन्धी संशोधन तथा नयाँ व्यवस्थाबमोजिम विद्युत्मा मूल्य अभिवृद्धि कर लागु हुने व्यवस्था भएअनुसार साउन १ गतेदेखि मूल्य अभिवृद्धि करमा दर्ता भएको जानकारी गराएको छ।
विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार मूल्य अभिवृद्धि कर ऐनमा भएको व्यवस्थाबमोजिम आन्तरिक राजस्व विभागबाट विद्युत् सेवामा मूल्य अभिवृद्धि कर असुल गर्नेसम्बन्धी निर्देशिका, २०८३ अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएको मितिदेखि नै विद्युत्मा कर बिजक जारी गर्नुपर्ने कानुनी व्यवस्था छ। सोहीबमोजिम साउन १ देखि मासिक विद्युत् महसुल बिजकमा नियमानुसार मूल्य अभिवृद्धि कर समावेश गरी जारी गरिएको हो।
हेर्नुहोस् पूरा सूचना
नेपाल विद्युत् प्राधिकरण
प्रधान कार्यालय, दरबारमार्ग, काठमाडौँ
विषयः मूल्य अभिवृद्धि करसम्बन्धी सार्वजनिक सूचना।
मूल्य अभिवृद्धि कर ऐनमा भएको व्यवस्थाबमोजिम श्री आन्तरिक राजस्व विभागबाट विद्युत् सेवामा मूल्य अभिवृद्धि कर असुल गर्नेसम्बन्धी निर्देशिका, २०८३ जारी भएबमोजिम मूल्य अभिवृद्धि करमा दर्ता भएको मितिदेखि नै विद्युत्मा कर बिजक जारी गर्नुपर्ने कानुनी व्यवस्था रहेकोले नेपाल विद्युत् प्राधिकरणले मिति २०८३ साल श्रावण १ गतेदेखि मासिक विद्युत् महसुल बिजकमा नियमानुसार मूल्य अभिवृद्धि कर समावेश गरी जारी गर्दै आएको बेहोरा जानकारी गराइन्छ।
प्राधिकरणबाट विद्युत् खपतको आधारमा मासिक रूपमा बिलिङ हुने गरेको र २०८३ साल असार महिनामा खपत भएको विद्युत्को बिलिङ २०८३ श्रावणमा जारी गर्दा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा द्विविधा उत्पन्न भएकोले प्राधिकरणको मिति २०८३।०४।०८ को पत्रबाट श्री आन्तरिक राजस्व विभाग तथा श्री ठुला करदाता कार्यालयलाई स्पष्ट पारिदिन अनुरोध भएको थियो।
उक्त विषयमा श्री आन्तरिक राजस्व विभागबाट मिति २०८३।०४।११ गतेको सूचनामार्फत २०८३ साल आषाढ ३२ गतेसम्मको विद्युत् उपभोग/खपतबापतको बिलिङ २०८३ साल श्रावण वा सोभन्दा पछि भए तापनि २०८३ साल श्रावण १ भन्दा अगाडि उपभोग/खपत भएको विद्युत् शक्तिमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची-१ समूह २: आधारभूत आवश्यकताका वस्तुहरूमा विद्युत् शक्ति (२७१६.००.००) समावेश भएको हुँदा सो अवधिको त्यस्तो सेवा खपतमा मूल्य अभिवृद्धि कर छुट हुने भएकाले मूल्य अभिवृद्धि कर आकर्षित नहुने गरी सार्वजनिक सूचना जारी भएअनुरूप ग्राहकले भुक्तानी गरिसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी (Advance) कायम गरी आगामी २०८३ साल भाद्र महिनाको बिलमा समायोजन गरिने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
Shares

प्रतिक्रिया