कारोबार


राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण

राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण

नेपालखबर
फागुन २६, २०७६ सोमबार ७:१४,

रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्राे लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण गरिएको छ।

४० मेगावाट क्षमताको आयोजना कार्यालय र कर्मचारी आवासका लागि वि.सं. २०६७ मा १० भवन निर्माण सुरु गरेको थियो। पहिलेको ठेकेदार कम्पनीले अधकल्चो बनाएर छाडेको भवन उसँग सम्झौता रद्द गरेर नयाँ ठेक्का प्रक्रियाबाट पूरा गरिएको रघुगङ्गा हाइड्रो लिमिटेडका सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठले बताए।

गोरखा कन्ट्रक्शन एण्ड स्वच्छन्द जेभीसँग विसं २०६७ कात्तिक ४ गते रु ११ करोड १० लाख ६७ हजारमा ठेक्का सम्झौता भएको थियो। १८ महिनामा भवन बनाइसक्ने सम्झौता गरेका दुई कम्पनीको आन्तरिक द्वन्द्वले ढिलासुस्ती भएपछि विसं २०७५ कात्तिक ९ गते रद्द गरिएको थियो।

चार भवन बनाएको ठेकेदारले एउटा भवनको जगसमेत हालेको थिएन । सिभिल महाशाखा प्रमुख श्रेष्ठका अनुसार अधुरा पाँच भवन बनाउन दुई प्याकेजमा ठेक्का सम्झौता गरिएको थियो। नयाँ ठेक्काबाट झ्यालढोका राख्ने, टायल बिछ्याउने, वायरिङ, पलम्बिङसम्बन्धी काम गरेको हो। एक करोड २७ लाखमा सम्झौता गरेको जम्बुदीप कन्ट्रक्शनले तीन र ७९ लाख ७२ हजारमा सम्झौता गरेको दावा–त्रिशक्तिले दुई भवन सकेर हस्तान्तरण गरेका हुन्।

जम्बुदीपले लक्ष्यभन्दा एक महिनाअघि नै काम सकेको थियो। एक करोड ३५ लाख लागतमा एक/एकतले दुई स्टोर र चमेना गृहको भवन निर्माणको ठेक्का मूल्याङ्कनको चरणमा रहेको श्रेष्ठले बताए। भवन निर्माणमा ढिलाइ हुँदा कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडको कार्यालय बेनी र काठमाडौँबाट सञ्चालन गरिएको थियो।

भवन बनेपछि सबै कार्यालय पिप्लेबाटै सञ्चालन गरिएको कम्पनीका प्रशासन प्रमुख मदन गिरीले बताए। आयोजनाको सुरुङ, विद्युत्गृह र बाँध निर्माणको काम तीव्रगतिमा अघि बढेको छ। वि.सं. २०७४ मङ्सिर ५ गते छ अर्बमा सम्झौता गरेको भारतीय जेपी एसाेसिएट्सले सिभिल निर्माणको कामलाई तीव्रताका साथ अघि बढाएको जनाएको छ।

भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋणमा निर्माण गर्न लागिएको आयोजनाको २६ महिनाको भौतिक प्रगति २२ प्रतिशत पुगेको छ। ठेक्का अवधि ४५ महिनाको हो। घुमाउने तालबाट दग्नाम र झिँको सिमानामा बन्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग बनाइएको छ।

पहुँचमार्गमा नाली र पर्खाल निर्माण भइरहेको छ। बाँधतर्फ जाने बाटोमा पर्ने बुक्लस्थित रघुगङ्गा नदीमाथि बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ। झिँ र दग्नामको सीमामा बाँध बन्ने आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहने छ । पिप्लेको तिल्केनीचौरमा विद्युत्गृह बन्नेछ।

भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)सँग एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा आयोजनाको इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको रघुगङ्गा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। कम्पनीको अवधारणा र इञ्जिनीयरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट बनाउन लागिएको हो। रघुगङ्गा हाइड्रो लिमिटेड विद्युत् प्राधिकरणको सहायक कम्पनी हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad