कारोबार


भरिभराउ कुलेखानी जलाशय (तस्बिर)

असोज १२ गते खतराको तह पार गरेको जलाशयमा अहिले कति छ पानी?
भरिभराउ कुलेखानी जलाशय (तस्बिर)

मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलविद्युत् अयोजनाको जलाशय


जनार्दन पोखरेल
असोज ३०, २०८१ बुधबार १२:२६, काठमाडौँ

यस वर्ष पर्याप्त वर्षा भएकाले मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलविद्युत् अयोजनाको जलाशय भरिभराउ छ। 

यही असोज १२ गते जलाशयमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको थियो। त्यतिबेला आयोजनाको ड्याम फुट्ने खतरा बढेपछि आयोजनाका दुवै ढोकाबाट पानी छाडेर जलाशयमा पानीको सतह झण्डै एक मिटर घटाइएको थियो।

जलाशयबाट छाडिएको पानीले ड्याम तलको क्षेत्रमा बाढीको सिर्जना हुँदा ठूलो जनधनको क्षतिसमेत भएको थियो। 

जलासय क्षेत्रमा यस वर्ष ठूलो वर्षा भएकाले आयोजनामा अहिले पर्याप्त पानी जम्मा भएको कुलेखानी जनविद्युत् आयोजना (प्रथम)का प्रमुख इन्जिनिय तारादत्त भट्टले बताए। 

‘कुलेखानी जलायको पूर्ण क्षमता समुद्र सतहबाट १ हजार ५३० मिटर हो,’ इन्जिनियर भट्टले नेपालखबरसँग भने, ‘यस वर्ष पर्याप्त वर्षा भएकाले जलासयमा अहिले पर्याप्त पानी जम्मा भएको छ।’ 

गत असोज १२ गते कुलेखानीमा पानीको सतह १ हजार ५३१ मिटर पुगेको थियो। त्यो भनेको आयोजनाको क्षमताभन्दा पानी एक मिटर बढी हो। बुधबार बिहानको मापनअनुसार कुलेखानीमा अहिले १५ सय २९.५७ मिटर पानी छ। यो भनेको आयोजनामा अहिले पानीको गहिराई झण्डै ८० मिटर छ। दुई दिनअघिबाट आयोजना सञ्चालनमा गर्न थालेकाले पानीको सतहट अब क्रमश: घट्ने भट्टले बताए। 

गतवर्ष जलाशयमा पानीकाे सतह अधिकतम १ हजार ५२३ दशमलव ५ मिटर पुगेकाे थियो। यस वर्ष जलाशयमा गत वर्षभन्दा झण्डै आठ मिटर धेरै पानी जम्मा भएको भट्टले जानकारी दिए। 

दुई वर्षअघि कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२९.९ मिटर पुगेको थियो। 

पूर्ण क्षमतामा चल्दा कुलेखानी प्रथमबाट ६० मेघावाट, कुलेखानी दोस्रोबाट ३२ मेघावाट र कुलेखानी तेस्रोबाट १४ मेघावाट विद्युत उत्पादन हुन्छ। 

नेपालको एकमात्र जलाशययुक्त कुलेखानी आयोजनाबाट विशेषगरी सुख्खायाममा विद्युत् उत्पादन गर्ने गरिएको छ। तर, यस वर्ष माथिल्लो तामाकोसीसहित देशका धेरै विद्युत् आयोजनामा बाढीपहिराेले क्षति गरेकाले जलाशय दसैँकै बेलासमेत सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको भट्टले बताए। 

कुलेखानी आयोजना मुलुकमा बिजुली नपुग्दा मात्रै चलाउने गरिएको छ। नत्र अधिकांश समय आयोजना बन्द अबस्थामा रहन्छ। 

‘तर, यस वर्ष अन्य आयोजना बाढी-पहिरोले बन्द हुँदा कुलेखानी जलाशय वर्खाकै बेलासमेत सञ्चालन गर्नुपर्ने अवस्था आयो। हिजो (मंगलबार) मात्रै आयाेजना ६१४ मेगावाट चलेको छ,’ इन्जिनियर भट्टले भने, ‘अहिले पनि प्लान्ट चलिरहेको छ। अब हामी पानीको यही लेबल मेन्टेन गर्दै आवश्यक परेको बेला आयोजना सञ्चालन गर्दै जान्छौँ।’

उनले आयोजना सञ्चालन हुँदा जलाशयमा पानीको लेबल ८/१० सेन्टिमिटर तलमाथि भइरहेने बताए। यस वर्षको बर्खा सकिएकाले अब यो भन्दा पानीको लेबल नबढ्ने भट्टको अनुमान छ।

कुलेखानी जलासयमा ड्यामदेखि मार्खुसम्म सात किमी लामो पानीको सतह छ। भट्टका अनुसार आयोजनाबाट १४ सय ८३ मिटरसम्म पानी चलाउन मिल्छ। अहिले कुनै ठाउँमा १४ सय ७०, कुनै ठाउँमा १४ सय ६७ मिटर पानी छ। कुलेखानीमो पानीको गहिराईको लेबल पनि फरक फरक छ। 

‘यसमा पानी पूणरुपमा जम्मा हुँदा ८० मिटरसम्म गहिरो हुन्छ,’ इन्जिनियर भट्टले भने, ‘तर, बाढी पहिरोले आयोजनामा ढुंगामाटो थुप्रिँदा पानी रहने केही भाग पुरिएको छ। ५० सालको बाढीले पनि केही गहिराईलाई पुरेको थियो। अस्तीको बाढीले पनि त्यसमा थप क्षति पुगेको हाम्रो अनुमान छ।’

गत वर्ष मापन गर्दा आयोजनाको गहिराई समुद्र सतहबाट १४५६ देखि १४६५ सम्म थियो। 

२०५० सालदेखि आयोजनाको सतहमा जमेको ढुंगामाटो सफाइ गरिएको छैन। खोलानालाहरुबाट आएको ढुंगामाटो त्यहाँ थुप्रिएर बसेको भट्टले बताए। ‘मार्खुमा सडक खन्दा निस्केको माटो पनि त्यही जलासयमा हालिदिदएका छन्। यसले पनि जलाशयकाे गहिराई घटेको छ,’ भट्टले भने। 

तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad