कारोबार


काठमाडौंका सडकले रातारात फेर्दै छन् रूप (भिडियो)

काठमाडौंका सडकले रातारात फेर्दै छन् रूप (भिडियो)

बसन्त अर्याल/प्रविन कोइराला
फागुन २८, २०७६ बुधबार १२:५,

केही समय अघिसम्म काठमाडौंका सडक धूलाम्य हुन्थे। पैदल हिँड्नेहरु धूलोबाट जोगिन मुख छोप्दै सरकारलाई गाली गर्थे।

सर्वसाधारणलाई धूलोले र सवारीसाधनका चालकहरुलाई सडकको खाल्टाखुल्टीले आजित बनाएको थियो। सबैले मन्त्रीदेखि नेतासम्मलाई सडक नबनाएको भन्दै गाली गर्थे र भन्थे, ‘सडक टाल्न र चिल्लो पार्न मोदी नै आउनुपर्ने रहेछ!’

हुन पनि सरकारको आँखा छिमेकी देशका प्रधानमन्त्री र राष्ट्रपति आउँदा मात्रै सडकमा जान्थ्यो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चिनफिङ आउँदा उनीहरु हिँड्ने रुटमा त्यसबेला सडक रातारात पिच गरेर रंगरोगन गरिएको थियो।

सुशील कोइराला प्रधानमन्त्री हुँदा भएको सार्क सम्मेलन होस् वा केपी ओली प्रधानमन्त्री हुँदा भएको बिमस्टेक सम्मेलनमा, दुबै समय काठमाडौंमा सडक चिल्लो पारियो, किनारामा गमला उभ्याइयो र सडक चिटिक्क देखियो।

अहिले नेपालमा कुनै सभा, सम्मेलन हुनलागेको छैन र छिमेकी देशबाट अतिथि पाहुना पनि कोही आउनलागेका हैनन्। तर रातारात उपत्यकाका सडक पिच गर्ने काम भइरहेको छ।

भौतिक मन्त्रीमा वसन्त कुमार नेम्वाङ आएपछि उपत्यकाको सडकले रुप फेर्न थालेका हुन्। बिग्रिएर धूलो जमेको तथा खाल्टा परेका सडकमा ओभरले (कालोपत्रे) गरेपछि धूलो उड्न कम हुँदै गएको छ।

जो राति आफैँ सडक पुगेर ओभरले हेर्छन्
कुवेर नेपाली सडक विभागअन्तर्गत काठमाडौं डिभिजन कार्यालयका प्रमुख हुन्। उनी मातहत ४१ किलोमिटर सडक पर्छ। नेपाली दिउँसो कार्यालय जान्छन् भने रातको समयमा आफ्नो माताहतमा काम भइरहेको ठाउँमा पुग्छन्।

मंगलबार राति १० बजे उनी बालुवाटार क्षेत्रमा भेटिए। जहाँ सडक कालोपत्रे भइरहेको थियो। त्यसबाहेक टोखा सडक खण्डमा पनि कालोपत्रे गर्ने काम भइरहेको थियो।

‘बालबच्चा छन् भनेर घरै बस्ने कुरा भएन, आफ्नो जिम्मेवारी पूरा गर्नुपर्यो’, नेपालीले मंगलबार राति बालुवाटारमा नेपालखबरसँग भने।

नेम्वाङ भौतिकमन्त्री भएयता दैनिकी नै परिवर्तन भएको उनी बताउँछन्। उपत्यकामा दिउँसो काम गर्दा ट्राफिक जाम हुने भएकाले रात परेपछि काम हुन्छ। राति काम गर्दा सजिलो र अवरोध नहुने उनी बताउँछन्।

Main_image_road_pitch_1.jpg

कुनै दिन एउटा समूह परिचालन भएको हुन्छ भने कुनै दिन दुई/तीन समूहले उपत्यकामा कालोपत्रेको काम गरिरहेका हुन्छन्।

कालोपत्रेको लागि मौसमले पनि साथ दिनुपर्ने उनको भनाइ छ। जाडोको मौसम वा वर्षा हुने समयमा काम गर्न मिल्दैन। त्यसैले एक महिना अघिबाट रातको समयमा पनि काम गरिरहेका छन्।

चैतसम्म सबै सडक कालोपत्रे : सडक विभाग
‘चैत मसान्तसम्म काठमाडौं उपत्यकाका सबै सडक कालोपत्रे भइसक्छन्’, उनले भने, ‘५० प्रतिशत काम सम्पन्न भइसक्यो।’

सडकमा कस्तो काम भइरहेको छ भनेर मन्त्रालयले अनुमगन समेत गर्ने गर्छ। भौतिक पूर्वधार तथा यातायातमन्त्री आफैँ कालोपत्रे भइरहेको ठाउँमा अनुगमनमा हिँड्ने गरेका छन्।

मंगलबार राति मन्त्रालयका सचिव देवेन्द्र कार्की बालुवाटारमा भएको काम हेर्न पुगेका थिए।

‘म सधैँ राति आउन सम्भव त हुँदैन। हाम्रो संयन्त्रले काम गर्ने हो। साथीहरुको हौसला बढाउन समय भएसम्म फिल्डमा आउँछु’, बालुवाटारमा कार्कीले भने।

ठूला व्यक्ति राजधानी आउँदा तथा सम्मेलन हुँदा मात्रै सडक कालोपत्रे हुन्छ भन्ने धारणा परिवर्तन गर्न लागेको उनको दाबी छ।

‘रातारात काम गर्नुपर्ने अवस्थाको अत्य गर्न खोजेका हौं,’ सचिव कार्कीले भने, ‘देशको राजधानी सधैं अप टु डेट होस् भनेर काम गरिरहेका छौँ। ठेक्का लागिसकेका सबै काम एक महिनाभित्र सक्छौँ।’

केहीमा भने अझै ठेक्का लाग्न बाँकी रहेको उनले बताए। मन्त्रालय मातहत रहेका मुख्य सडक सुधार गर्ने कार्कीको भनाइ छ।

‘तर मुख्य सडक जोड्ने सहायक सडक हाम्रो मातहत पर्दैनन्, तिनलाई कसरी व्यवस्थित गर्ने भनेर छलफल गर्दै छौँ’, उनले भने।

कर्मचारीको व्यवस्थापन
सरकारी कर्मचारीले ढिलासुस्ती गर्छन् र कामै गर्दैनन् भन्ने मानसिकता रहेको छ। सडकमा मजदुर मात्रै होइन, सडक विभागका इन्जिनियरहरु पनि खटिएका छन्।

‘दिनको समयमा कागजको काम गर्छौं। राति सडकमा आउनुपर्छ’, एक कर्मचारीले भने, ‘काम गर्दैनौं भन्ने कुरा त भएन तर रातको समयमा काम गर्ने कर्मचारीलाई विशेष सुविधा दिनुपर्छ।’

सचिव कार्की भने कर्मचारीले योगदान गर्नुपर्ने बताउँछन्।

Main_image_road_pitch_4.jpg

‘बाह्रै महिना रातभर काम त गर्दैनौं। अब एक/डेढ महिनामा यो काम सकिन्छ। केही साथीलाई असुविधा पनि भएको होला’, उनले भने, ‘मैले केही गरिरहेको छु भनेर आत्मसन्तुष्टि हुने हो।’

उनले सबै कर्मचारीलाई दिनरात काममा नलगाएको दाबी गरे।

‘रातभर काम गर्नुभयो भने दिउँसो फुर्सदा होला। सिफ्टअनुसार काम गरिरहनुभएको छ’, उनले भने ।

मर्मतको लागि दोब्बर बजेट
खाल्टाखुल्टी पुर्न सरकारले यो पटक दोब्बर बजेट छुट्याएको छ।

‘गत वर्ष ४ अर्ब जस्तो बजेट छुट्याउँथ्यो भने अहिले ८ अर्ब बजेट छुट्याइएको छ,’ कार्कीले भने, ‘त्यसैले विगतभन्दा काम पनि डबल हुनुपर्यो। राम्रो हुनुपर्यो।’

उनले पहिला काम गर्ने प्रयास गरे पनि धेरै ध्यान पुर्याउन नसकिएको स्वीकार गरे। यो पटक अर्थ मन्त्रालय आवश्यक बजेट उपलब्ध गराउन तयार रहेको उनले जानकारी दिए।

‘काठमाडौंबाहिर पनि प्राथमिकता दिएका छौँ’
उपत्यका मात्रै होइन उपत्यकाबाहिरका हाइवे सडकमा पनि खाल्टाखुल्टी परेका छन्। त्यसलाई सरकारले कसरी ध्यान दिएको छ त?

सचिव कार्कीले भने, ‘हामीले काठमाडौंमात्र होइन काठमाडौं बाहिरलाई पनि विशेष प्राथमिकता दिएका छौं। देशभरमा राजमार्गलाई खाल्टाखुल्टीमुक्त बनाउने काम भइरहेको छ।’

केही ठाउँमा खाल्टाखुल्टी पुर्नेमात्रै नभई रिह्याब (पूरै बनाउनुपर्ने) नै गर्नुपर्ने ठाउँ छन्’, उनले भने।

अब नेपालमा पनि सधैँ चिल्ला सडक बनाउने प्रयासमा रहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad