देशैभरका एक दर्जन ठूला सहर घरजग्गा कारोबारको मुख्य केन्द्र बनिरहेको देखिएको छ।
हाल उपमहानगर रहेका देशका अधिकांश ठाउँमा घरजग्गाको उच्च कारोबार देखिएको हो।
पछिल्लो एक दशकमा सबैभन्दा धेरै घरजग्गा कारोबार लुम्बिनी प्रदेशमा भएको छ। लुम्बिनीका ३ जिल्लामा सर्वाधिक घरजग्गा कारोबार भएको हो।
दोस्रो धेरै कारोबार कोशी र तेस्रोमा बागमती प्रदेशमा भएको छ।
घरजग्गा कारोबार जनसंख्यासँग प्रत्यक्ष जोडिन्छ। त्यसकारण बसाइँसराइले पनि यसलाई प्रभाव पार्ने गरेको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार ३२ जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक छ। २०६८ को जनगणनामा २७ जिल्लामा ऋणात्मक वृद्धिदर थियो।
तथ्यांकका जानकारहरु मुख्यतः बसाइँसराइकै कारण तराईका जिल्लामा बढी जनसांख्यिक चाप बढेको बताउँछन्।
राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले तराईका जिल्लामा बसाइँसराइकै कारण जनसंख्या वृद्धि भएको बताए।
उनका अनुसार मधेश प्रदेशमा जन्मदर बढ्दा जनसंख्या बढे पनि अरु जिल्लामा बसाइँसराइ नै मुख्य कारक बनेको छ।
‘जनसंख्या ऋणात्मक भएका जिल्ला हेर्दा नजिकै नयाँ सहरमा बसाइँसराइ भएको देखिन्छ’, रेग्मी भन्छन्, ‘बसाइँसराइबाटै सहरहरुमा चाप बढ्दै गएको छ।’
सबैभन्दा बढी बसाइँसराइ काठमाडौं उपत्यकाको भक्तपुर जिल्लामा भएको छ।

भक्तपुरमा ३.३२ प्रतिशत वार्षिक वृद्धिदर हुँदा दोस्रो धेरै रुपन्देहीमा २.३० र त्यसपछि क्रमशः चितवनमा २.१०, बाँकेमा १.९७, सुनसरीमा १.९४, दाङमा १.९४ र झापामा १.९३ प्रतिशत जनसंख्या वृद्धि भएको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघका उपाध्यक्ष राजकुमार राई कोशी प्रदेशमा ५–६ वर्षअघि तराईका जिल्लामा बढी घरजग्गा कारोबार हुने गरेकोमा अहिले ठप्प भएको बताउँछन्।
‘देशभर व्यावसायिक रुपमा घरजग्गाको कारोबार हुनसकेको छैन। पहाडबाट बसाइँसराइ गरी तराई आउँदा बढी खरिदबिक्री भएका थिए’, झापाका व्यवसायी राई भन्छन्, ‘गाउँपालिका घोषणा भएसँगै बसाइँ पहाडबाट तराई झर्नेमा कमी आएको छ। अहिले व्यावसायिकभन्दा पनि व्यावहारिक कारोबार मात्रै हुने गरेका छन्।’
देशैभर कहाँ कस्तो छ घरजग्गा कारोबार?

कोशीमा सबैभन्दा बढी इटहरी, दमक र बेलबारी
कोशी प्रदेशका ३ जिल्लामा घरजग्गा कारोबारमा बढ्दो क्रममा देखिन्छ।
पूर्वका पहाडी जिल्लाबाट तराईमा बसाइँसराइ बढ्दा झापा, मोरङ र सुनसरीमा घरजग्गाको बढी कारोबार भएको छ।
चालू आर्थिक वर्षको ५ महिनामा झापाको भद्रपुरमा ५ हजार ९७९ र दमकमा ३ हजार ८ लिखत पारित भएका छन्। मोरङको विराटनगरबाट ३ हजार ६४६, बेलबारीबाट ५ हजार ९९८ कारोबार भएका छन्। सुनसरीको इनरुवा कार्यालयमा ७ हजार ५३९ लिखत पारित भएको छ।
कोशीको पुरानो सहर विराटनगर हो। हाल विराटनगर महानगरपालिका भएको छ। पहाडी जिल्लाबाट बसाइँ सरी आउने विराटनगरभन्दा बढी पूर्वपश्चिम राजमार्ग आसपास बेलबारी, विराटचोक, उर्लाबारीमा घरजग्गाको बढी कारोबार हुनथालेको देखिन्छ।
आर्थिक वर्ष २०७७/०७८ मा दमकमा २२ हजार ७६२ र भद्रपुरमा ९ हजार ७८९ लिखत पारित भएको थियो। सो समयमा मोरङको बेलबारीमा ४४ हजार ६५१, विराटनगरमा २६ हजार २७७ र सुनसरीको इनरुवामा १६ हजार ४०४ लिखत पारित भएका छन्।
आर्थिक वर्ष २०७९/०८० मा झापाको भद्रपुरमा ६ हजार ३४५ र दमकमा ५ हजार ७८३ लिखित पारित भएकामा मोरङको बेलबारीमा १२ हजार ६१९, विराटनगरमा ७ हजार ३१७ र सुनसरीको इनरुवाबाट १३ हजार ९६२ लिखित पारित भएको छ।
कोशीका ३ जिल्लामध्ये केही वर्षअघि झापाको दमक र बिर्तामोड, मोरङको पूर्वपश्चिम राजमार्ग आसपास बेलबारी क्षेत्रमा बढी घरजग्गा कारोबार भएको थियो। सुनसरीको धरान र इनरुवामा मालपोत कार्यालय छन्। घरजग्गा कारोबार भने इटहरी क्षेत्रमा बढी हुने गरेको व्यवसायी बताउँछन्।
महासंघका उपाध्यक्ष राई ३ जिल्लामा बढी कारोबार हुने गरेको बताउँछन्।
‘५–६ वर्षअघिसम्म इटहरी, दमक, बिर्तामोडमा सबैभन्दा बढी कारोबार हुने गरेको थियो’, उनी भन्छन्, ‘अहिले पूर्व–पश्चिम राजमार्गआसपास नै नयाँ सहरको रुपमा विकासित भइरहेका छन्।’
१२ वर्षअघि ०६९/०७० मा दमक कार्यालयबाट ८ हजार ७५ लिखत पारित भएको थियो। सोही समयमा मोरङको विराटनगरमा ३२ हजार १६, बेलबारीमा २९ हजार ३३३ लिखत पारित भएका थिए।
आर्थिक वर्ष २०७०/०७१ मा चन्द्रगढीमा ३० हजार १३, दमकमा १६ हजार ९३१ लिखत पारित हुँदा सुनसरीबाट ५० हजार ८१८ लिखत पारित भएका छन्। त्यो समयमा मोरङको विराटनगरबाट ३१ हजार ५२७ र बेलबारीबाट ३१ हजार ५५१ कारोबार भएका छन्।
२०७२/०७३ मा झापाको चन्द्रगढी कार्यालयमा ३७ हजार ७८१ र दमकमा २० हजार ५२६ लिखत पारित भएका छन्। त्यस्तै सुनसरीको इनरुवामा ४९ हजार ५०४ र मोरङको विराटनगरबाट २५ हजार ९७७ तथा बेलबारीबाट ३५ हजार १६६ लिखत पारित भएका छन्।

बर्दिबासमा घटे, राजविराज र निजगढमा कारोबारी आकर्षित
मधेश प्रदेशमा घरजग्गाको व्यावसायिक कारोबार १२ वर्षअघि महोत्तरीको बर्दिबासमा बढी हुने गरेकोमा पछिल्लो समय सप्तरीको राजविराजमा हुनथालेको छ। राजविराजमा विमानस्थलबाट नियमित उडान सुरु भएसँगै जग्गा कारोबार बढी भएको देखिन्छ।
निजगढ विमानस्थल निर्माण हुने हल्लाका बीच ३ वर्षअघिसम्म घरजग्गाको कारोबारको आकर्षण केन्द्र बनेको थियो। मधेशको पुरानो सहर जनकपुर हाल उपमहानगरपालिका भएको छ। बीपी राजमार्ग खुलेसँगै बर्दिबास क्षेत्रमा घरजग्गाको कारोबारमा बढेकोमा पछिल्ला वर्षहरुमा सामान्य कारोबार हुँदै आएको छ।
०६९/०७० मा धनुषाबाट ३१ हजार ७९६, बाराबाट २४ हजार ४२१ लिखत पारित भएका छन्। ०७०/०७१ मा धनुषामा ३१ हजार १०३, सप्तरीमा २९ हजार ३०८ र बारामा २४ हजार ४२१ लिखत पारित भएका थिए।
आर्थिक वर्ष २०७२/०७३ मा मधेश प्रदेशमा सप्तरीको राजविराजमा २१ सय ९७ र कञ्चनपुरमा ३८ सय २३ करोबार भएका थिए। २०७२ को संविधानमार्फत संघीय व्यवस्थामा गएसँगै मधेश प्रदेशको राजधानी जनकपुरधाममा घरजग्गा कारोबारमा वृद्धि भएको छ।
‘३–४ वर्षअघिसम्म नेपालमा घरजग्गाको आकर्षणको केन्द्र बारा जिल्ला बनेको थियो’, जग्गा तथा आवास विकास संघ बाराका अध्यक्ष लक्ष्मण कँडेलले भने, ‘अहिले बारा क्षेत्रमा बैंकको कारोबार सल्टाउने र परिवारिक बाँडफाँटबाहेकका कारोबार नै हुन छाडेका छन्।’
सरकारले बनाएको समितिले गरेको अध्ययनमा काठमाडौं उपत्यकाका धेरै सहकारीले तराईका जग्गामा लगानी गरेको देखिएको छ।
जग्गाको कित्ताकाट रोक्ने, कसिलो मौद्रिक नीतिले पछिल्लो समय घटेको घरजग्गाको व्यापार फस्टाउन नसकेको व्यवसायी बताउँछन्।
‘मधेशको धेरै ठाउँमा सहकारीले लगानी गर्दा कारोबारहरु बढेका थिए’, कँडेल भन्छन्, ‘घरजग्गामा लगानी गर्ने धेरै सहकारी डुब्दा यो क्षेत्रको कारोबार पूरै ठप्प भएको छ।’
२०७९/०८० मा महोत्तरीको बर्दिबासमा ११ हजार ०८८ लिखित पारित भएका छन्। त्यस्तै दोस्रोमा वीरगन्जको पर्सामा ११ हजार ८३२ कारोबार भएका छन् भने तेस्रोमा बारा जिल्लामा भएका छन्। कलैयामा ५ हजार ७३१ कारोबार भएको थियो।
आर्थिक वर्ष २०७८/०७९ मा सिरहामा १६ हजार ४७३ र धनुषाबाट १७ हजार ६२७ कारोबार भएका छन्। त्यसैगरी बाराको कलैयाबाट ७ हजार ४५४ र सिमरामा २ हजार ७९ लिखित पारित भएका छन्।
आर्थिक वर्ष २०७७/०७८ धनुषामा ३५ हजार ९८२ लिखत पारित भएकामा बाराको कलैयामा २५ हजार ३०८ यस्तो कारोबार भएको देखिएको छ।
चालू आर्थिक वर्षमा धनुषाको जनकपुरधामबाट ५ हजार ६३१ हुँदा राजविराजबाट ५ हजार ५८१ र बाराको कलैयामा ३ हजार ४५६ लिखत पारित भएका छन्।

उपत्यकाबाहिर जग्गा खोज्न काभ्रे र चितवन
बागमती प्रदेशमा सबैभन्दा बढी कारोबार काठमाडौं उपत्यकाकै ३ जिल्लामा हुने गरेको छ। पछिल्लो दशक काठमाडौं उपत्यकाको पनि भक्तपुरमा धेरै घरजग्गा खरिदबिक्री भएका छन्। एक दशकअघि भक्तपुरका खुल्ला ठाउँ अहिले घरै घरले भरिँदै गएका छन्।
बागमती प्रदेशमा काठमाडौं उपत्यकाबाहिर चितवन र काभ्रेमा कारोबार हुने गरेको छ। चालू आर्थिक वर्षमा काभ्रेमा ३ हजार १०२ र भरतपुरमा ३ हजार ९४ लिखत पारित भएका छन् भने उपत्यकाको लगनखेलमा ३ हजार ७५५ र भक्तपुरमा ३ हजार ९८५ लिखत पारित भएका छन्।
२०७८/०७९ मा काभ्रेपलाञ्चोकमा ८ हजार ४०८ र भरतपुर चितवनमा ११ हजार २३५ लिखत पारित भएको छ। २०७९/०८० काभ्रेपलाञ्चोकमा ४ हजार ६१७ र भरतपुरबाट ६ हजार ६७२ लिखित पारित भएको देखिन्छ।
एक दशकअघि बढी कारोबार हुने काभ्रेमा पछिल्लो समय कारोबारमा गिरावट आएको छ। ०७०/०७१ मा काभ्रेपलाञ्चोकमा १३ हजार ५२ लिखत पारित भएका थिए। सो बखत भक्तपुरमा २३ हजार ३११ लिखत पारित भए।
जग्गा तथा आवास व्यवसायी संघ काभ्रेका अध्यक्ष लक्ष्मण कर्माचार्यले कोशीपारिबाट बसाइँ सरेर आउनेले काभ्रेमा बढी जग्गा खरिद गर्ने बताउँछन्।
‘पहिला काठमाडौंको साँखु, भक्तपुरतिरै पुग्ने दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, रामेछापका मानिस अहिले काभ्रेमा खरिद गर्न लागेका छन्’, अध्यक्ष कर्माचार्य भन्छन्, ‘अहिले बैंक तथा सहकारीबाट ऋण लिएर जग्गा खरिद गर्ने कम छन्। आवश्यक परे मात्रै खरिद गर्ने बढी देखिन्छन्।’
०७२/०७३ मा काभ्रेपलाञ्चोकमा सबैभन्दा धेरै १७ हजार ८१० कारोबार भएको थियो। त्यसअघि ०७१/०७२ चितवनमा १६ हजार ८९८ लिखत पारित भएको थियो भने ०६९/०७० मा मकवानपुरमा ६ हजार १९३ लिखत पारित भएको थियो।
जग्गा तथा आवास संघ चितवनका अध्यक्ष बाबुराम अधिकारी बसाइँसराइको कारण भरतपुरमा बढी कारोबार भएको बताउँछन्।
‘बसाइँसराइको कमी र बैंकहरुले ऋण लगानी नगर्दा पछिल्लो समय कम छ’, अधिकारीले भने, ‘यसअघि गोरखा, लमजुङ, धादिङ, बाग्लुङका बढी मानिसले चितवनमा आउँदा बढी कारोबार भएको थियो।’
संविधान जारीपछि हेडौँडालाई अस्थायी राजधानी घोषणा भएसँगै कारोबार बढेको थियो। स्थायी राजधानी कायम भए पनि आकर्षण घटेको व्यवसायी बताउँछन्।

पर्यटकीय राजधानी पोखराबाहिर नवलपुर ठूलो सहर बन्दै
गण्डकी प्रदेशको राजधानी पोखरामा घरजग्गा कारोबार बढी हुने गरेको छ। त्यसपछि तनहुँ र नवलपुरमा बढी कारोबार हुने गरेको छ।
तनहुँमा पृथ्वीराजमार्गमा पर्ने दमौली, डुम्रे क्षेत्रमा कारोबार भइरहेको छ भने गण्डकी प्रदेशको एक मात्र तराई जिल्ला नवलपुरको गैडाकोट, कावासोती क्षेत्रमा बढी कारोबार हुने गरेको छ।
०७९/८० को तथ्यांक हेर्दा पोखराबाट ६ हजार ४८६ र लेखनाथबाट ४ हजार ६९९ लिखित पारित भएको थियो। नवलपुरको कावासोतीमा ६ हजार ४८६ लिखित पारित भएको थियो। २०७८/०७९ मा पोखरामा ६ हजार ६६६, लेखनाथमा ४ हजार ८८८ लिखत कारोबार भएको छ। नवलपुरमा ५ हजार ९८२ रहेको छ।
०७७/०७८ मा तनहुँमा १७ हजार ५८६, नवलपुरमा ८ हजार ९०५, कास्कीले ९ हजार ४७३ र लेखनाथमा ९ हजार ४७३ लिखत पारित भएका छन्।
गण्डकी प्रदेशको केन्द्र पोखरा महानगरपालिका हो। म्याग्दी, बाग्लुङ, गोरखा, मनाङ, मुस्ताङका ‘लाहुरे’कै कारण पोखरामा कारोबार बढ्यो। अहिले पनि बसाइँसराइको कारण पोखरामा आर्थिक वृद्धिदर उच्च छ।
०६९/०७० मा तनहुँमा १३ हजार २८५ लिखत पारित भएको थियो। सोही समय कावासोतीमा २० हजार १५२ कारोबार भएको थियो। आर्थिक वर्ष २०७१/०७२ मा तनहुँमा १४ हजार ३ लिखत पारित भएको थियो भने ०७२/७२ मा कास्कीमा ४२ हजार ४५९ लिखत पारित भएको थियो। कावासोतीमा ७ हजार ७६४ भएको थियो।
चालू आर्थिक वर्षको ५ महिनामा पोखरामा २ हजार ३८२ कारोबार हुँदा तनहुँमा १ हजार ७४४ करोबार भएका छन् भने कावासोतीमा २ हजार ७८ कारोबार भएका छन्।

लुम्बिनीमा कपिलवस्तु र बर्दियामा कमी, रुपन्देही, दाङ र बाँकेमा बढी
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा कारोबार हुने गरेको छ।
लुम्बिनीका तराईको नवलपरासी र बर्दियामा कम कारोबार हुँदा रुपन्देही, दाङ, बाँकेमा कारोबार एक दशकदेखि नै बढी छ। पछिल्लो समय कपिलवस्तुमा समेत कारोबार बढ्दै गएको तथ्यांकले देखाउँछ।
चालू आर्थिक वर्षमा बुटवलमा ३ हजार ४१६ र भैरहवाबाट ३ हजार ३३९ लिखत पारित भएका छन्। कपिलवस्तुको तौलिहवामा ३ हजार ८७४ कारोबार भएको छ। दाङको घोराहीमा ३ हजार ३४८, तुल्सिपुरमा ३ हजार ३७८ कारोबार भएका छन्। बाँकेमा ३ हजार ६६४, कोहलपुरमा ३ हजार १४१ करोबार भएका छन्। बर्दियाको गुलरियामा १९९१ वटा मात्रै कारोबार भएका छन्।
जग्गा तथा आवास विकास संघ दाङका अध्यक्ष श्रीधर महरा बसाइँसराइकै कारण दाङ उपत्यकामा बढी कारोबार भएको बताउँछन्।
‘रुकुम, रोल्पा, प्युठान, सल्यानका मानिसले दाङलाई केन्द्र बनाए,’ अध्यक्ष महराले भने, ‘सानातिना व्यवसाय गर्नेहरुले २–३ वटै घडेरीमा लगानी गर्दा व्यावसायिक कारोबार बढ्यो। अहिले घर बनाउन र व्यवसाय गर्नेले मात्रै खरिद गरेका छन्।’
लुम्बिनीको अस्थायी राजधानी बुटवल तोकिएको थियो। तर प्रदेश सभाले दाङको देउखुरीलाई राजधानी घोषणा गर्यो। प्रदेश सरकारले ३ पालिकामा कित्ताकाट नै रोकेको छ।
‘दाङमा प्रदेश राजधानी घोषणा गरेपछि धेरै कारोबार हुन पाएको छैन’, महरा भन्छन्, ‘लमही क्षेत्रमा केही बढे पनि बाहिरबाट आएर ठूलो लगानी भएको छैन।’
०७७/०७८ मा रुपन्देहीको भैरहवाबाट २२ हजार २२६, बुटवलबाट ५ हजार ८७७ लिखत पारित भएका छन्। तौलिहवा कपिलवस्तुमा १७ हजार ५२ रहेको छ। दाङको घोराहीमा १३ हजार २३९, तुल्सीपुरमा ५ हजार ७४९ लिखत पारित भएका छन्। बाँकेको नेपालगन्जमा ३६ हजार ३८१ भएका छन्।
०७९/०८० मा बुटवलबाट ८ हजार ५७ लिखित पारित हुँदा भैरहवाबाट ६ हजार १९९ लिखित पारित भएको थियो। दोस्रोमा दाङ जिल्ला रहेको छ। दाङको घोराहीबाट ५ हजार ४१९, तुल्सिपुरबाट ५ हजार ८५७ र लमहीबाट १५ सय ४ लिखत पारित भएका छन्।
गुल्मी, पाल्पा, अर्घाखाँचीबाट बसाइँसराइ हुँदा रुपन्देहीमा सबैभन्दा बढी कारोबार भएको देखिन्छ। कपिलवस्तु र नवलपरासी क्षेत्रमा समेत ३ जिल्लाबाटै बसाइँसराइ गरी आउने धेरै छन्। दाङको घोराही र तुल्सिपुरमा प्युठान, रुकुम, रोल्पा, सल्यानबाट बसाइँसराइ भई खरिद गर्ने बढी छन्।
‘पहाडका ४–५ जिल्लाबाट बसाइँसराइ भएर रुपन्देहीमा आउँदा कारोबारसंगै मूल्य अस्वाभाविक रुपमा बढ्यो’, घरजग्गा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दशरथ पौडेलले भने, ‘गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान र पश्चिम बाग्लुङका मानिसले घडेरी खरिद गरे। अहिले वृद्धिदर केही कमी आएको छ।’
दशकअघि ०६९/०७० मा कपिलवस्तुमा २१ हजार २८५, रुपन्देहीमा ४० हजार ७८८, दाङमा २९ हजार १०८ लिखत पारित भएका थिए।
आर्थिक वर्ष २०७२/०७३ मा भैरहवाबाट ३४ हजार १८५ र बुटवलबाट ३० हजार ४६५ लिखत पारित भएका थिए। सो समयमा दाङको घोराहीमा २२ हजार १५, तुल्सिपुरमा ९ हजार ७९२ लिखत पारित भएका थिए।
लुम्बिनीमा रुपन्देहीको बुटवल उपमहानगर र सिद्धार्थनगर, दाङको घोराही र तुल्सीपुर, बाँकेको कोहलपुर र नेपालन्जलाई जोडेर महानगर बन्ने गतिमा बढेका छन्।

कर्णालीको एक मात्र केन्द्र सुर्खेत
कर्णाली प्रदेशमा घरजग्गा कारोबार प्रदेश राजधानी सुर्खेतमा मात्रै हुने गरेको छ। सुर्खेतमा वीरेन्द्रनगर र मेहलकुनाबाट मालपोतका सेवा प्रदान हुँदै आएको छ। वीरेन्द्रनगरबाट बढी कारोबार हुँदै आएको छ। चालू आर्थिक वर्षमा सुर्खेतमा २ हजार ३०४ कारोबार भएको छ।
आर्थिक वर्ष २०७९/०८० मा वीरेन्द्रनगर कार्यालयबाट २६ सय ९९ र मेहलकुनाबाट १४ सय ८ कारोबार भएका थिए। २०७८/०७९ मा वीरेन्द्रनगरबाट ३ हजार ७१५ कारोबार भएको थियो।
कर्णालीका अधिकांश जिल्ला विकट रहेका छन्। धेरै ठाउँमा सडक सुविधा समेत पुगेको छैन। पैसा कमाउनेहरुको केन्द्र सुर्खेतको वीरेन्द्रनगर रोजाइमा परिरहेको तथ्यांकले देखाउँछन्।
०६९/०७० मा सुर्खेतमा ९ हजार १५३ लिखत पारित भएकामा ७०/०७१ मा सुर्खेतमा ९ हजार ३९२ लिखत पारित भएका थिए। ०७१/०७२ मा ८ हजार ९४ लिखत पारित भए भने ०७२/०७३ मा सुर्खेतबाट १० हजार १७४ लिखत पारित भएका छन्।

सुदूरपश्चिमका पहाडी धनगढी र अत्तरियामा
सुदूरपश्चिममा कैलालीको धनगढीमा सबैभन्दा बढी घरजग्गा कारोबार हुने गरेको छ। एक दशकअघि महेन्द्रनगरमा कारोबार बढी देखिए पनि धनगढीको तुलनामा केही घटेको देखिन्छ। सुदूरपश्चिमका पहाडी जिल्लाबाट कैलालीको अत्तरिया र धनगढी क्षेत्रमा बढी बसाइँसराइ हुँदा कारोबार बढी देखिन्छ।
कैलालीमा बसाइँ सरेर अछाम, बझाङ, डोटीका बढी रहेका छन् भने कञ्चनपुरमा बैतडी र दार्चुलाबाट बसाइँ सर्ने धेरै छन्। सुदूरपश्चिमका पहाडीहरु मुख्यतः धनगढी, अत्तरिया, टीकापुर र महेन्द्रनगरलाई केन्द्र बनाएका छन्।
चालू आर्थिक वर्षमा सुदूरपश्चिममा ६ हजार ५९८ लिखत पारित हुँदा टीकापुरमा १९ सय ३६ मात्रै भएको छ। कञ्चनपुर (महेन्द्रनगर)मा १९ सय ८ लिखत पारित भएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा धनगढीबाट ९ हजार ४८० लिखत पारित हुँदा टीकापुरबाट २ हजार ३५५ लिखत पारित भएको थियो।
२०७९/०८० मा कैलालीको धनगढीमा सबैभन्दा बढी ९ हजार ४८० लिखत पारित भएको थियो। सोही समय टीकापुरमा २ हजार ३७४ लिखित पारित भएको थियो।
०६९/०७० मा कैलालीमा ३ हजार ३५७, कञ्चनपुरमा ९ हजार ३५७ करोबार भएका छन्। ०७०/०७१ मा टीकापुरमा ८ हजार ७९६, कैलालीमा ३ हजार १४१ लिखत पारित भएको थियो। उक्त वर्ष कञ्चनपुरमा ८ हजार ९७४ लिखत पारित भएको थियो।
Shares

प्रतिक्रिया