कारोबार


‘कोमा’मा हेटौँडा सिमेन्ट उद्योग, कसरी दिन्छ ३०९ कर्मचारीलाई तलब?

तीन महिनादेखि सिमेन्ट उत्पादन बन्द, तलबमा मासिक करोडभन्दा बढी खर्च
‘कोमा’मा हेटौँडा सिमेन्ट उद्योग, कसरी दिन्छ ३०९ कर्मचारीलाई तलब?

हेटौँडा सिमेन्ट उद्योग र इन्सेटमा महाप्रबन्धक वसन्तकुमार पाण्डे


सुनिता विष्ट
माघ १२, २०८१ शनिबार ११:१६, हेटौँडा

सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग अहिले मर्नु न बाँच्नुको दोसाँधमा छ। निजी सिमेन्ट उद्योगहरूले एकछत्र बजार कब्जा गरिरहँदा सरकारी स्वामित्वको यो सिमेन्ट उद्योगचाहिँ ‘कोमा’मा छ भन्दा फरक नपर्ला (कोमा भनेको चिकित्सकीय भाषामा अचेत अवस्थामा पुगेको बिरामी, जो फर्किने अवस्था कम हुन्छ)।

न सिमेन्ट उत्पादन गरिरहेको छ न त उद्योग बन्द नै भएको छ। उद्योगले आर्थिक संकट सामना गरिरहँदा सिमेन्ट उत्पादन अन्योल बनेको छ। निजी सिमेन्ट उद्योगका उत्पादनले बजार ढाकिरहँदा सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग कतिबेला बन्द हुने हो, कुनै ठेगान छैन।

हेटौँडा सिमेन्ट उद्योग आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म १ अर्ब रुपैयाँभन्दा बढी घाटामा छ। पछिल्लो तीन वर्षमा मात्रै यस उद्योगको घाटा ३५ लाखभन्दा बढी रहेको उद्योग प्रशासनको तथ्यांक छ।

एकातर्फ निजी क्षेत्रको लगानी रहेका उद्योगसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता, अर्कातर्फ पुरानो उत्पादन उपकरण। सिमेन्ट उत्पादकका लागि आवश्यक कच्चा पदार्थको निरन्तर मूल्य वृद्धि, उत्पादन लागतभन्दा कम मूल्यमा सिमेन्ट बिक्री वितरण गर्नुपर्ने बाध्यताबीच उद्योग दिन प्रतिदिन टाट पल्टने स्थितिमा पुगेको छ।

तथ्यांक हेर्दा हरेक वर्ष उद्योगको घाटा १० देखि १२ करोड रुपैयाँ बढिरहेको छ। 

उद्योग व्यवस्थापनले विभिन्न उपकरण मर्मत गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो। झण्डै तीन महिनासम्म बन्द रहेको सिमेन्ट कारखाना अब कहिले खुल्छ, कुनै योजना छैन।

वि. सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ देखि सिमेन्ट उत्पादन थालेको थियो। अहिले उद्योगका मेसिन पुरानो हुँदा सिमेन्ट उत्पादनमा समस्या भएको प्राविधिकहरू बताउँछन्। निजी सिमेन्ट उद्योगसरह नै सिमेन्ट उत्पादन गर्न प्लान्ट नयाँ प्रविधिको भित्र्याउन आवश्यक रहेको उनीहरूको भनाइ छ। 

उपकरण मर्मतसम्भार गरी गत मंसिर पहिलो साता नै उत्पादन सुरु गर्ने योजना रहे पनि उपकरण मर्मत नसकिएकाले सुरु गर्न नसकिएको उद्योग प्रशासन प्रमुख तथा सूचना अधिकारी हरेराम आचार्य बताउँछन्। उनका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत भदौ तेस्रो साता सिमेन्ट उत्पादन थालिएको थियो। तर असोजदेखि बन्द भयो।

हेटौँडा सिसेन्ट उद्योगका मेसिनरी औजार र प्लान्ट पुरानो हुँदा कोइला र विद्युत् बढी लाग्ने गरेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डे बताउँछन्। आर्थिक वर्ष २०६६/६७ देखि २०६७/६८ सम्म दुई वर्ष नाफामा रहेको उद्योग आर्थिक वर्ष २०६८/६९ देखि २०७०/७१ सम्म तीन वर्ष पुनः घाटामा गएको तथ्यांकले देखाउँछ।

यस्तै उद्योगले आर्थिक वर्ष २०७१/७२ देखि आव २०७४/७५ को ४ वर्षे अवधिमा पुनः नाफा गरे पनि त्यसयता उद्योग निरन्तर घाटामा देखिन्छ।

महाप्रबन्धक पाण्डे आएयता मात्र ३५ करोड घाटा

महाप्रबन्धक वसन्तकुमार पाण्डे।

उद्योगमा २०७८ चैत २८ गते महाप्रबन्धक बनेर आएका हुन्- वसन्तकुमार पाण्डे। उनी उद्योगमा आउँदा सिमेन्ट उद्योगको घाटा ८५ करोड रुपैँया थियो। त्यसयता बर्सेनि १०/१२ करोड घाटा थपिँदै जाँदा अहिले कूल घाटा १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी पुगेको महाप्रबन्धक पाण्डे बताउँँछन्। 

उनको कार्यअवधि आउँदो चैत मसान्तमा सकिँदै छ। आफ्नो कार्यकालमा उपलब्धिमूलक काम गर्न नसकेको खिन्नता व्यक गर्दै पाण्डेले भने, ‘उद्योगलाई चलायमान बनाउँछु भनेरै आएको थिएँ। तर सोचेजस्तो भएन। सिमेन्ट उत्पादन नै राम्रोसँग गर्न पाएनौँ। अलिअलि भएको उत्पादन कर्मचारीको तलब खर्चमै सीमित भयो।’

उनले थपे, ‘उद्योग चलायमान बनाउनपर्छ भनेर संघको उद्योग मन्त्रालय र अर्थ मन्त्रालय त कति धाएँ, धाएँ तर सरकोकारवाला निकायले कुनै चासो देखाएनन्।’

तलबमै जान्छ मासिक करोडभन्दा बढी  
उद्योग निरन्तर घाटामा रहँदा कर्मचारीको तलबमा भने ठूलो रकम खर्च भइरहेको छ। उद्योगमा स्वीकृत दरबन्दी ६५५ जना छ तर हाल महाप्रबन्धकदेखि प्रशासन तथा प्राविधिक कर्मचारीसम्म १६६ जना कार्यरत छन्।

उनीहरूको तलबमा मासिक ७६ लाखभन्दा बढी खर्च हुने गरेको प्रशासन प्रमुख हरेराम आचार्यले जानकारी दिए। 

उनका अनुसार त्यसबाहेक दैनिक ज्यालामा ९० जनाले उद्योगमा काम गरिरहेका छन्। उनीहरूलाई ज्याला दिँदा मासिक २२ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ भने सुरक्षा गार्ड ५३ जना कार्यरत छन्। उनीहरूको मासिक तलबमा १४ लाखभन्दा बढी खर्च हुने गरेको छ। 

सबै किसिमका गरी कूल ३०९ जना कर्मचारी रहेको यस सिमेन्ट उद्योगमा मासिक १ करोड १२ लाखभन्दा बढी रकम तलबमै खर्च हुने गरेको छ। यसबाहेक इन्धन, भत्तालगायतको शीर्षकमा पनि उद्योगले कर्मचारीको खातामा रकम हाल्दिने गरेको छ।

सिमेन्ट उत्पादन बन्द उद्योगमा के काम गर्छन् त कर्मचारी?
पक्कै जिज्ञासा लाग्न सक्छ- तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योगमा यत्तिका कर्मचारीले कामचाहिँ के गर्छन् त?

उद्योग प्रशासन प्रमुख आचार्यका अनुसार उद्योग बन्द रहे पनि कर्मचारीहरूले दैनिक हाजिर गरिरहेका छन्। सिमेन्ट उत्पादन बन्द रहे पनि प्रशासन र प्राविधिक काम भइरहने उनको भनाइ छ। 

‘उद्योगका सिमेन्ट उत्पादन भएन भनेर जागिरमै नआउने कुरा भएन,’ उनले भने, ‘आइरहनुभएको छ। हाजिर गरेपछि तलब उपलब्ध गराउनैपर्‍यो। अहिले मासिक १ करोड १२/१५ लाख रुपैयाँ तलबमा खर्च हुने गरेको छ।’

कसरी खान्छन् तलब?
सिमेन्ट उद्योग आफैँ घाटामा रहेको र उत्पादन ठप्प भएको अवस्थामा कर्मचारीलाई दिने तलब व्यवस्थापन कसरी भइरहेको छ?

नेपालखबरको प्रश्नमा प्रशासन प्रमुख तथा सूचना अधिकारी आचार्यले भने, ‘सधैँ उद्योग चलेको छैन। उद्योगमा उत्पादन भएको सिमेन्ट बजारमा गएर रकम आएपछि सोही रकमले तलब खाने काम भइरहेको छ।’ 

उनका अनसार चालु आर्थिक वर्षमा उद्योगले ८ करोड ७७ लाख ५० हजार रुपैँयाको सिमेन्ट बिक्री गरेको थियो। सोही रकमबाट कर्मचारीलाई उद्योगले तलबभत्ता खुवाइरहेको छ। तर पछिल्लो समय तलब पनि दिन नसकिने अवस्थामा पुगिएको प्रशासन प्रमुख आचार्य बताउँछन्। 

६ महिनामा २२ दिन उत्पादन
चालु आर्थिक वर्षको हालसम्म हेटौँडा सिमेन्ट उद्योगले जम्मा २२ दिन सिमेन्ट उत्पादन गरेको छ। यस अवधिमा १ लाख ३५ हजार बोरा सिमेन्ट उत्पादन भएको थियो। 

जसलाई प्रतिबोरा ६५० रुपैयाँ (भ्याट सहित) का दरले बिक्री गरिएको उद्योगले जनाएको छ। 

एक दिन सिमेन्ट उत्पादन गर्दा कोइलामा मात्रै ३३ लाख ६० हजार रुपैयाँ खर्च हुने गरेको छ। 

तथ्यांकअनुसार २२ दिन उद्योग चल्दा कोइलामा मात्रै ७ करोड ३९ लाख २० हजार रुपैयाँ खर्च भयो। जबकि सिमेन्ट बिक्रीबाट जम्मा ८ करोड ७७ लाख ५० हजार रुपैयाँ आम्दानी भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad