सेयरबजारमा नेप्सेले करिब ६ महिना लगाएर २८ सयको विन्दु पार गरेको छ।
यो अवधिमा तीन पटकसम्म सूचकले २८ सयको अवरोध पार गर्न खोजे पनि सकेको थिएन।
२०८१ भदौ २ गते ३०४७ अंकको अधिकतम विन्दु चुमेर फर्किएको नेप्से भदौ भदौ ११ गते २८ सयको विन्दुमा थियो। त्यसयता पटक–पटक सूचकले सो अवरोध पार गर्न खोजे पनि नसकेपछि ६ महिनादेखि समग्र बजार ‘साइड ड्रिफ्ट जोन’मा थियो।
गत फागुन ४ गतेबाट सूचकले वृद्धिको बाटो समातेपछि भने २८ सयको अवरोध सहज रुपमा पार गरेको हो।
फागुन ४ गतेयताको ८ कारोबार दिनमा नेप्से सूचक १३७ अंकले बढिसकेको छ भने कारोबार रकम साढे ११ अर्बमा पुगेको छ।
गत हप्ताभर नै बढेको नेप्से यो हप्ताभर पनि हरियाली नै बन्न पुग्यो। समग्रमा पछिल्लो ८ दिन निरन्तर नेप्से बढेको हो। बजारले यस्तो वृद्धि २०८० जेठमा देखाएको थियो। यद्यपि सूचक बढे पनि बजार त्यसबेला स्थिर भने हुनसकेको थिएन।
गत भदौमा पनि बजारमा बढ्ने घट्ने मिश्रित प्रवृत्ति देखिँदै सूचक ३ हजारको विन्दुमा पुगेको थियो। अहिले भने बजारले ८ दिनसम्म निरन्तर बढेर २८ सयको अवरोध पार गरेको छ।
सूचक बढ्न यो हप्ता मौद्रिक नीतिले विशेष भूमिका खेल्न पुग्यो। बजारमा लगानी गर्न तयार लगानीकर्ताहरु सकारात्मक सूचनाको पर्खाइमा थिए।
लगानीकर्तामा राष्ट्र बैंकले मौद्रिक समीक्षामा सेयरबजारलाई सकारात्मक प्रभाव पार्ने गरी नीति समीक्षा गर्ने अपेक्षा थियो। सेयर लगानीकर्ताले खासै नरुचाएका गभर्नर महाप्रसाद अधिकारीले अन्तिम समीक्षा गर्दा लगानीमैत्री नीति ल्याउने अपेक्षाले पनि बजारमा सकारात्मक माहोल सिर्जना गरेको थियो।
उचारचढावका २ साता
फागुन ४ गतेबाट बढ्न थालेको नेप्सेले दुई हप्ता अर्थात् ८ दिनमा अधिकतम विन्दु २८२७ अंकसम्म छुन पुग्यो भने न्यूनतम विन्दु २६७५ अंकसम्म ओर्लिन पुग्यो।
यो अवधिमा लगानीकर्ताले अधिकतम ११ अर्ब ४७ करोडको कारोबार गर्दा न्यूनतम कारोबार ८ अर्ब ४५ करोडसम्म गरे।
समग्रमा बजार यो अवधिभर उत्साहपूर्ण नै रहन पुग्यो भने बंैकिङ लगानीकर्ताको पुँजी पनि ४.३६ प्रतिशतले बढेको छ। फागुन ४ गते ४४ खर्ब ७८ अर्ब रहेको समग्र बजार पुँजीकरण फागुन १३ गते आइपुग्दा ४६ खर्ब ७४ अर्ब पुगेको हो।
पछिल्लो दुई साता बजारमा ठूला उतारचढाव नदेखिँदा लगानीकर्ता यो अवधिभर बजारलाई लिएर उत्साहित नै बन्न पुगे। यसले आगामी साता पनि बजारप्रति लगानीकर्ताको आत्मविश्वास बढाउने सम्भावना बढाएको छ।
कारोबार रकम पनि क्रमशः बढ्दै जानुले निष्क्रिय बस्न रुचाएका लगानीकर्ता बजारमा फर्किन थालेको देखाउँछ।
पिभोट क्याल्कुलेसनले गरेको आगामी संकेत
बजार विश्लेषण तथा सूचकको उतारचढावलाई क्याल्कुलेट गर्ने पिभोट क्याल्कुलेसनले आगामी हप्ता बजार बढेको खण्डमा ३०६१ अंकसम्म पुग्न सक्ने देखाउँछ।
जसमा बजार बढेको सूचकले पहिलो प्रतिरोधको सामना २८४९ नजिक, दोस्रो प्रतिरोध २८८३ अंक र तेस्रो प्रतिरोध २९७२ अंक नजिक देखाउँछ। क्याल्कुलेसनले देखाएको प्रतिरोधलाई सामना गर्दै सूचक अगाडि बढेको खण्डमा भने नेप्से सूचकले अन्तिम प्रतिरोध २०६१ अंकमा पाउने देखाउँछ।
यस्तै बजार घटेको खण्डमा भने सूचकले पहिलो टेवा २७६० अंक नजिक पाउने देखाउँछ। यस्तै सो टेवा पनि भत्काएर सूचक ओरालो लागेको खण्डमा दोस्रो टेवा २७०४ अंक र तेस्रोे टेवा २६१५ अंकसम्म पाउने देखिन्छ।
तेस्रो टेवा पनि भत्काएर सूचक तल ओर्लिएमा भने सूचक २५२६ अंकसम्म ओर्लिन सक्ने पिभोट क्याल्कुलेसनले देखाउँछ।
Shares

प्रतिक्रिया