कारोबार


प्रतिबन्धित भेपजन्य वस्तुको अवैध बिक्रीवितरणमा ‘थर्मल गन ग्याङ’, प्रशासनले ८ महिनादेखि गरेन कारबाही

प्रतिबन्धित भेपजन्य वस्तुको अवैध बिक्रीवितरणमा ‘थर्मल गन ग्याङ’, प्रशासनले ८ महिनादेखि गरेन कारबाही

बेला तीन हजार पर्ने थर्मलगन १५ हजारमा बेचेको आरोपमा २०७७ वैशाखमा व्यावसायी सुलभ अग्रवाल पक्राउ परेका थिए। त्यसयता ‘थर्मल गन ग्याङ’ भनेर यो समूहको चर्चा हुँदै आएको छ।


नेपालखबर
चैत १२, २०८१ मंगलबार ८:३२, काठमाडौँ

शंकर ग्रुपअन्तगर्तको जगदम्बा ओभरसिज प्रालिले स्वास्थ्यका लागि अति हानिकारक भेपजन्य वस्तु आयात गरी बिक्रीवितरण गरेको भेटिएको छ।

सिगरेट र लिकर (चुरोट र मदिरा) बिक्री गर्ने यस ग्रुपअन्तगर्तको जगदम्बा ओभरसिज प्रालिले नेपालमा प्रतिबन्धित यी वस्तु इन्डोनेसियाबाट आयात गरी बिक्री गरेको फेला परेको हो। 

स्वास्थ्यका लागि अति हानिकारक भेपजन्य टोबाको स्टिक्स बिक्रीवितरण गरेको भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा रहेको जगदम्बा ओभरसिजलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा ८ महिनाअघि पत्र पठाएको थियो। तर अहिलेसम्म सो पत्र प्रशासनमै अलपत्र छ भने जगदम्बा ओभरसिजलाई कुनै कारबाही भएको छैन। 

कोरोना महामारीको बेला तीन हजार पर्ने थर्मलगन १५ हजारमा बेचेको आरोपमा २०७७ वैशाखमा व्यावसायी सुलभ अग्रवाल पक्राउ परेका थिए। त्यसयता ‘थर्मल गन ग्याङ’ भनेर यो समूहको चर्चा हुँदै आएको छ। शंकर ग्रुपअन्तगर्तको जगदम्बा ओभरसिज प्रालि तिनै अग्रवालहरूको कम्पनी हो।

महामारीको समयमा अवैध रुपमा थर्मल गन बिक्री गर्ने समूहबाट नेपालले प्रतिबन्ध लगाएको वस्तु अर्कै नाममा आयात गरी बिक्रीवितरण गर्दा समेत प्रशासन मौन बस्नुलाई अर्थपूर्ण मानिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य कर कोषको सचिवालयले गत साउन २८ गते नै उक्त कम्पनीलाई कारबाही गर्न पत्र पठाएको थियो।  

उक्त कोषको सचिवालयका सदस्यसचिव गोपीकृष्ण रेग्मीले नेपालमा भेप र योजस्तै वस्तुको कारोबार वैधानिक नभएकोले प्रशासनलाई कारबाहीका लागि पत्रमार्फत सिफारिस गरेको पुष्टि गरे।

‘नेपालमा यी वस्तु ल्याएर बिक्री गर्नु अवैध भएकाले उजुरीको आधारमा जगदम्बा ओभरसिजलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरलाई पत्र पठाएका थियौँ’, रेग्मीले भने, ‘जिल्ला प्रशासन कार्यालयले के गर्‍यो भन्ने विषयमा थप जानकारी छैन।’

जगदम्बाले अन्तर्राष्ट्रिय टोबाको कम्पनी फिलिप मोरिस इन्टरनेसनल (पीएमआई)का उत्पादन नेपालमा बिक्री वितरण गर्दै आएको छ। 

पीएमआईको मुख्यालय अमेरिकी सहर न्युयोर्कमा छ। यसले सिगरेटको विकल्पमा ‘स्मोक फ्रि प्रोडक्ट’ वितरण गर्छ। पीएमआईको सम्बन्धन लिएर सन् २००५ मा स्थापना भएको पीटी हान्जया मन्डाला सम्पोर्ना टिबिकेबाट उत्पादित चुरोट जगदम्बाले पैठारी तथा बिक्रीवितरण गर्दै आएको छ। हिट नट बर्नअन्तर्गत पर्ने आईक्यू ओएसका फ्ल्यागसिप स्टोन स्थापना गरी टिबिकेले यसको उत्पादन गर्दै आएको छ। 

आयातकर्ताले टेरिया नामक टोबेको स्टिकको प्याकेज सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ९ र सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिका २०७१ ले तोकेको मापदण्डविपरीत आयात गर्दै बिक्रीवितरण गरेकाले कारबाही गर्न सचिवालयमा उजुरी परेको थियो। 

टेरिया भनेको आईक्युओएस इलुमा डिभाइसहरुसँग प्रयोगका लागि डिजाइन गरिएका टोबाको स्टिक्स हुन्। यसमा स्मार्टकोर इन्डक्सन प्रविधिको प्रयोग गरी टोबाको (सुर्ती)लाई जलाउन नभई तताउने काम हुन्छ। जसले धूवाँ र खरानी निकाल्दैन भने विविध स्वाद दिन्छ। 

एक किसिमको भेपजस्तै भए पनि यसले धूवाँ बाहिर निकाल्दैन। सचिवालयका सदस्यसचिव रेग्मीका अनुसार जगदम्बाले आयात गरी बिक्री गर्दा नेपालमा यसको प्याकेटबाहिर जनचेतनामूलक तस्बिरजन्य सामग्री छाप्नुपर्नेमा नछापेको समेत पाइएको छ। नेपालको कानुनले भेप र भेपजन्य वस्तुलाई आयातमा प्रतिबन्ध लगाएको कारण यसबारे पनि मन्त्रालयमा छलफल भई नियन्त्रण गर्ने निर्णय भएको रेग्मीले बताए। 

सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न सो कोष स्थापना गरिएको हो। स्वास्थ्य मन्त्रालयले चुरोटको तुलनामा भेप र योजस्ता सामग्री धेरै गुणा हानिकारक हुने ठहर गर्दै यसको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ। 

ऐनविपरीत सार्वजनिक स्थलमा धूमपान वा सुर्ती सेवन गरेको, उत्पादक वा व्यवस्थापकले ऐनबमोजिम गर्नुपर्ने कुराहरु पूरा गरे वा नगरेको सम्बन्धमा निरीक्षण गर्ने समितिको कामको लागि नेपाल सरकारले कुनै अधिकृत कर्मचारीलाई निरीक्षकको रुपमा तोक्ने व्यवस्था छ।

नेपाल सरकारले २०७४ मंसिर १० मा प्रत्येक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको हकमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतलाई निरीक्षक तोक्ने व्यवस्था गरेको छ। 

निरीक्षकले नै अनुसन्धान तहकीकात गर्ने र जिल्लाको प्रमुख जिल्ला अधिकारी मुद्दा हेर्ने अधिकारी हुने व्यवस्था रहेको हुँदा मन्त्रालयअन्तर्गतको सचिवालयमा प्राप्त उजुरी निवेदन आवश्यक कारबाहीको लागि पठाइएको छ। 

‘भेप र योजस्ता वस्तुको कारोबार गर्नु वैध होइन। नेपालमा कसैले कुनै अर्को वस्तुको नाममा यस्ता वस्तु ल्याएर बिक्रीवितरण गरेको छ भने कारबाहीयोग्य हो’, रेग्मीले भने, ‘यसको नियन्त्रण सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रशासकीय प्रमुखले अनुगमन गर्ने कानुनी व्यवस्था छ।’

गत साउनयता ललितपुर जिल्ला प्रशासन कार्यालयमा सीडीओ र सहायक सीडीओ परिवर्तन भइसकेका छन्। गत साउनमा तुलसीबहादुर श्रेष्ठ सीडीओ र सहायक सीडीओमा कल्पना घिमिरे थिइन्। हाल सीडीओ रमेश ढकाल र सहायक सीडीओ गीता घिमिरे छन्। 

जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले जगदम्बा ओभरसिजले भेपजस्तै वस्तु बिक्रीवितरण गरेको विषयमा कारबाही गर्न निरीक्षण समिति गठनको तयारी भइरहेको बताइन्। 

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जगदम्बा ओभरसिजले भेपजस्तै वस्तु बिक्रीवितरण गरेको विषयमा कारबाही गर्नू भन्ने पत्र आएपछि प्रक्रिया बढेर रोकिएको रहेछ’, घिमिरेले नेपालखबरसँग भनिन्, ‘अब फेरि सहायक प्रमुख जिल्ला अधिकारी स्वयं वा तोकेको निरीक्षण अधिकारीसहितको समिति बन्छ र अनुगमन गर्छ।’

उनले समितिले स्थलगत निरीक्षण गरेपछि मात्रै यसको बिक्रीवितरण भइराखेको छ वा छैन भन्न सकिने बताइन्। 

‘नेपालमा भेप र यस्ता वस्तुको आयात प्रतिबन्ध रहेकाले भन्सारबाटै नेपाल नछिर्नुपर्ने हो’, उनले भनिन्, ‘भन्सारबाट अवैध रुपमा कसरी आयात भई बजारमा बिक्री भएको विषयमा अनुगमन भई कारबाही भइसकेको अवस्था छैन।’

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले भन्सारमा भेप भनी कुनै वस्तु पास नहुने बताए। 

‘नेपालमा भेप आयात खुल्ला छैन। कसैले भेप ल्याए पनि हामीले भन्सार जाँचपास गर्दैनौँ’, चौधरीले भने, ‘नेपाली बजारमा भेप बिक्रीवितरण भइरहेको छ भने अवैध रुपमा भित्रिएको हो।’

भन्सार विभागका महानिर्देशक महेश भट्टराई पनि स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार नेपालमा भेप प्रतिबन्धित रहेको बताउँछन्। 

‘भन्सारको सूचीमा प्रतिबन्धित वस्तु भएकाले नाकामा भेटिए नियन्त्रण गरी नष्ट गर्दै आएका छौँ’, भट्टराईले भने, ‘बजारमा उपलब्ध भएका भेपको नियन्त्रण गर्ने नगर्ने स्वास्थ्य मन्त्रालयको विषय हो। स्वास्थ्य मन्त्रालयको पत्रअनुसार आयात रोकिएको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad