कारोबार


बजेट राम्रो आयो, अब पूर्ण र सफल कार्यान्वयन होस् : महासंघ

बजेट राम्रो आयो, अब पूर्ण र सफल कार्यान्वयन होस् : महासंघ

नेपालखबर
जेठ १८, २०८२ आइतबार १३:१५, काठमाडौँ

नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको प्रशंसा गर्दै पूर्ण सफल कार्यान्वयन हुनुपर्ने बताएको छ।

यही १५ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷२०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेका थिए।

‘बजेटमा आएका कुराहरुले समग्र मुलुकको अर्थतन्त्रलाई सकारात्मक र उत्साहवद्र्धक बनाएको कुरा हामीले महशुस गरेका छौँ’, महासंघले भनेको छ, ‘तुलनात्मक रुपमा बजेटमा समेटिएका हाम्रो अर्थतन्त्रका सबल पक्षहरुमा कृषि, पर्यटन, ऊर्जा, आफ्नै कच्चा पदार्थमा आधारित उद्योग, सुचना प्रविधिको विकास लगायतका बिषयहरु समेटिनुले सिंगो अर्थतन्त्रका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ।’ 

स्टार्टअप र साना तथा मझौला व्यवसायीहरुलाई समेत सहयोग पुग्ने गरी आएको रोजगार प्रवद्र्धन कार्यक्रमले भविष्यमा रोजगारमूलक ग्रामीण अर्थतन्त्र सबल बन्दै जाने देखिएको महासंघले उल्लेख गरेको छ।

‘विगत लामो समयदेखि नेपाली अर्थतन्त्रमा देखिएको निराशालाई चिर्न यस बजेटले धेरै ठूलो योगदान पुर्याएको छ। जसलाई सिंङ्गो निजी क्षेत्र र आम जनसमुदायले सकारात्मक किसिमले अगाडि बढाउनुपर्दछ’, महासंघले भनेको छ। 

नेपाली अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान पुर्याउने क्षेत्रको पहिचान र तिनको सुधार गर्दै ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतभित्र मुद्रास्फीति कायम राख्ने बजेटको उद्देश्य निकै प्रशंसनीय रहेको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ। 

‘विगत लामो समयदेखि हामीले उठाउदै आएका निजी क्षेत्रका साझा सवालहरु र सरकारले यसको जगमा रहि निजी क्षेत्रको समेत संलग्नतामा बनाइएको आर्थिक सुधार आयोगका सुझावहरु क्रमशः कार्यान्वयन गर्दै जाने कुराको आश्वासन समेत समेटिएकाले औपचारिक रुपमा राज्यको ड्राइभिङ सिटमा राजनीतिक पार्टी र जनताका प्रतिनिधि बसे पनि अनौपचारिक रुपमा निजी क्षेत्र पनि राज्यको अर्थतन्त्रको ड्राइभिङ सिटमा बसिरहेका छन् भन्ने कुरा राज्यले सुनिश्चितता गरेको महशुस भएको महासंघको भनाइ छ। 

‘यसले आगामी दिनमा नेपालको अर्थतन्त्र गुणात्मक परिणामसहित सकारात्मक दिशामा अगाडि बढ्ने विश्वास लिएका छौँ’, महासंघले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad