तीन महिनामा पहिलोपटक सेयर कारोबार रकमले १२ अर्ब नाघेको छ।
२०८१ फागुन २० गते २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर बिक्रीपछि १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँको कारोबार भएको थियो।
त्यसको तीन महिना लामो समयपछि आज बिहीबार १२ अर्बको सेयर खरिदबिक्री भएको हो। अघिल्ला लगातार दुई दिन १० अर्ब हाराहारीमा कारोबार भएको थियो।
बिहीबार १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यो कुल २ करोड ८६ लाख कित्ता सेयर बिक्रीपछिको कारोबार रकम हो।
आजको कारोबारलाई ङादी ग्रुप पावर एउटैको १ अर्ब ८ करोडको योगदान मिलेको छ। त्यसैगरी सानिमा माई हाइड्रोपावरको ७५ करोड, राधी विद्युतको ५३ करोड, युनिभर्सल पावर कम्पनीको ४८ करोड, बुटवल पावर कम्पनीको ४६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।
बजार परिसूचक नेप्से भने यस दिन ९.०८ अंकले घटेको छ। योसँगै २६५५.३८ विन्दुमा कायम भएको छ। यस दिन बजारमा कारोबार भएकामध्ये ९९ वटा सेयरको मूल्य बढ्दा १४९ वटाको घटेको नेप्सेले जनाएको छ।
साताको अन्तिम दिन प्योर इनर्जीको ९.९९ प्रतिशतले सेयर बढ्दा चन्द्रागिरि हिल्सको ६.९१, तेह्रथुम पावर कम्पनीको ६.१७, रसुवागढी हाइड्रोको ५.४७ र पञ्चकन्या माई हाइड्रोको ५.१३ प्रतिशतले सेयर मूल्य बढेको छ।
तर आज गुराँस लघुवित्तको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका हुन्। उनीहरुले प्रतिकित्ता २७४.८० रुपैयाँ नोक्सानी व्यहोरेका छन्। बाँकी कम्पनीहरुको सेयर अधिकतम ७.११ प्रतिशतसम्मले घटेको छ।
Shares

प्रतिक्रिया