कारोबार


अलमलिएको सेयरबजारमा छैनन् कमाउने लगानीकर्ता

२७२ मध्ये ९ कम्पनीको मात्रै सय रुपैयाँमाथिको आम्दानी
अलमलिएको सेयरबजारमा छैनन् कमाउने लगानीकर्ता

नेपालखबर
असार ८, २०८२ आइतबार १४:१०, काठमाडौँ

२६ सयवरिपरि नेप्से सूचक रुमलिइरहँदा सेयरबजारमा लगानीकर्ताले कमाउनेभन्दा धेरै सम्पत्ति गुमाइरहेका छन्।

सेयरबजारलाई बढाउने सूचकहरु सुधारिँदै जाँदा पनि बजारमा सकारात्मक माहोल बन्न नसक्दा कमाउने लागनीकर्ता घट्दै गएका हुन्।

गत एक महिनामा २७२ कम्पनीमध्ये ९ वटा कम्पनीले मात्रै कित्तामा १ सय रुपैयाँमाथिको कमाइ गर्दा अन्यको आम्दानी नगन्य छ। नेपाल स्टक एक्सचेजका अनुसार जेठ महिनामा ९ वटा कम्पनीको कित्तामा एक सय रुपैयाँभन्दा धेरैले बढ्दा १७ कम्पनीको मूल्य १ सयभन्दा धेरैले घट्न पुगेको छ। 

सूचीकृत कम्पनीमध्ये २२ कम्पनीको जेठ महिनाभर सेयर खरिदबिक्री हुन सकेन भने बाँकी २ सय ५० कम्पनीमध्ये जम्मा ९ वटाका लगानीकर्ताले मात्रै महशुुस गर्ने गरी नाफा कमाए। यो अवधिमा ओम मेगाश्री फम्र्यास्युटिकल्स, सप्तकोशी विकास बैंक, चन्द्रागिरि हिल्स, बुटवल पावर कम्पनी, राधी विद्युत् कम्पनी, रिभरफल्स पावर कम्पनी, सुपर मादी हाइड्रोपावर, युनिलिभर र आत्मनिर्भर लघुवित्तको मूल्यमा सय रुपैयाँमाथिको वृद्धि देखिएको छ। 

भर्खरै दोस्रो बजारमा कारोबारमा आएको ओम मेगाश्री फम्र्यास्युटिकल्सको मूल्यमा ९१९ रुपैयाँको वृद्धि देखिँदा युनिलिभरको ५५५ र आत्मनिर्भरको सेयरमा प्रतिकित्ता ४६१ रुपैयाँको वृद्धि देखिएको छ। अन्यको भने १ सयदेखि २ सय रुपैयाँसम्मको मात्र वृद्धि भएको छ।

बैंकहरुको ब्याज सस्तिएर सेयर धितो कर्जा लैजाने लगानीकर्ताको संख्या अत्यधिक बढेको छ। वैशाख मसान्तसम्म लगानीकर्ताले ३५ अर्ब बराबरको कर्जा लगेका छन्। सेयरकर्जामा मात्रै वैशाख महिनासम्म आइपुग्दा ३९ प्रतिशतको वृद्धि देखिए पनि त्यसले बजारमा सेयरको माग बढाउन नसकेको हो। 

मागमा निरन्तर कमी आउँदा समग्र बजारले २६ सय अंकको यात्रालाई पार गरेर उकालो लाग्नसकेको छैन।  

सेयर लगानीकर्ता सुदेश सिटौला जेठ महिनामा छोटो समयका कारोबारीले समेत कमाउन नसकेको बताउँछन्। लगानीकर्तामा बजार बढ्ने नबढ्ने अनिश्चितता कायम रहँदा त्यसले बजारमा माग घटाएको उनको बुझाइ छ। 

‘जेठमा सर्ट ट्रेडरले पनि कमाउन पाएनन्, जम्मा ९ वटा कम्पनीका सेयरधनीले कित्तामा १ सय माथिको मात्रै कमाइ गर्न सकेका छन्। अधिकांश कम्पनीको आम्दानी कित्तामा १० रुपैयाँसम्म पनि बढ्न सकेको छैन’, उनले भने। 

सिटौलाले भनेजस्तै जेठ महिनामा प्रतिकित्तामा १० रुपैयाँभन्दा थोरै आम्दानी गर्ने कम्पनीहरु ५२ वटा छन्। जुन कुल कारोबारमा आएका कम्पनीको २० प्रतिशत हो।  

बजारमा लगानीकर्ताको आत्मविश्वास फर्किन नसक्दा मूल्यमा ठूलो अन्तर देखिन छोडेको उनी बताउँछन्। 

‘अहिले आईपीओबाहेकका कम्पनीको मूल्य त्यति धेरै बढेको छैन, बजार अनिश्चित बन्दा सेयर खरिद गर्न लगानीकर्ता हिच्किचाउँदै आएका छन्, यसले पनि सेयर मूल्यमा ठूलो अन्तर देखिन छोडेको हो’, उनले भने। 

जेठ महिनाभर नेप्से सूचकमा पनि ठूलो अन्तर देखिन सकेन। यो एक महिनामा सूचक ८ अंकले मात्रै बढेको छ। जेठ महिनाको पहिलो कारोबार १ गते २६०७ सूचकबाट हुँदा अन्तिम कारोबार दिनमा सूचक २०२८ अंकमा भएको हो। समग्र महिनाभरको सूचक वृद्धि भने जम्मा ८ अंकको मात्रै देखिएको थियो। 

कर्जाको ब्याज एकल अंकमा पुग्नु, सेयरधितो कर्जामा लाग्दै आएका सीमाहरु हट्नु र कर्जा सहजीकरण हुनुजस्ता कारणले पनि बजारमा सकारात्मक माहोल सिर्जना गर्नसकेको छैन। आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक जुटिरहँदा सेयर बजारमैत्री मानिने विश्वनाथ पौडेल गभर्नरमा छन्। उनले बजारलाई उत्पादनमूलक क्षेत्रसँग जोड्नुपर्ने धारणा राख्दै बजार सुधारका लागि पहल गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।

मौद्रिक नीति निर्माणकै लागि धितोपत्र बजारलाई बुझेका व्यक्ति धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवत बहादुर कार्कीको संयोजकत्वमा अध्ययन समिति समेत निर्माण गरेका छन्। यसले बैंकिङ क्षेत्रको नीति निर्माणमा सेयर बजारमैत्री नीति आउने देखिन्छ। यी यावत् सूचनाले बजारमा सकारात्मक माहोल सिर्जना गर्नुपर्नेमा त्यसको कुनै पनि प्रभाव बजारमा देखिन छोडेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad