बैंक तथा वित्तीय संस्थाहरुले स्थायी निक्षेप सुविधाअन्तर्गत आइतबार खर्ब रुपैयाँ बढी रकम जम्मा गरेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार असार १५ गते आइतबार वाणिज्य बैंकहरुले कुल १ खर्ब ८० अर्ब ५५ करोड रुपैयाँबराबरको निक्षेप राखेका हुन्।
चालू आर्थिक वर्षको हालसम्म वाणिज्य बैंकहरुले यो सुविधाअन्तर्गत १ खर्ब ९७ अर्बबराबर राखिसकेका छन्।
बैंकहरुले अधिक तरलता भएको अवस्थामा स्थायी निक्षेप सुविधा अर्थात् एसडीएफ प्रयोग गर्नका लागि राष्ट्र बैंकले २०८० फागुन १ गतेबाट यो सुविधा कार्यान्वयनमा ल्याएको थियो।
हप्तामा तीन दिन प्रयोग गर्न सकिने गरी स्थायी निक्षेप सुविधा कार्यान्वयनमा आएसँगै बैंकहरुले राष्ट्र बैंकमा तल्लो दरमै रकम राख्दै आएका छन्। स्थायी निक्षेप सुविधा प्रत्येक आइतबार, मंगलबार र बिहीबार उपलब्ध गराउँदै आएको छ।
यसअघि वाणिज्य बैंकहरुले असार १२ गते १ खर्ब १९ अर्ब रकम राष्ट्र बैंकमा राखेका थिए। उक्त रकम आइतबार परिपक्व हुने भएपछि बैंकहरुले पुनः तीन दिनका लागि १ खर्ब ८० अर्ब बढी निक्षेपमा राखेका हुन्।
Shares

प्रतिक्रिया