कारोबार


पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको लागि निरन्तर प्रयास भइरहेको छ : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको लागि निरन्तर प्रयास भइरहेको छ : मन्त्री पाण्डे

नेपालखबर
असार ३०, २०८२ सोमबार १६:५९, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिँदै मन्त्री पाण्डेले विमानस्थलको दिगो सञ्चालनका लागि आवश्यक कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा रहेको बताएका हुन्।

उनले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्न विभिन्न प्रकारका सहुलियतहरू प्रदान गरिएको र यसले उडान सङ्ख्या वृद्धि हुने सम्भावना रहेको उल्लेख गरे। हाल हिमालयन एयरलाइन्समार्फत पोखरा–ल्हासा मार्गमा नियमित उडान भइरहेको र अन्य विमान कम्पनीहरूसँग पनि समन्वय तथा छलफल गरी उडान विस्तारको प्रयास भइरहेको उनले जानकारी दिए।

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधारलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताए।

उनले भने, “वायुसेवा निगमको विद्यमान संरचनामा व्यवस्थापकीय सुधार गर्ने, रणनीतिक साझेदार भित्र्याएर सञ्चालन गर्ने वा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्पहरूसहित सुझावहरू प्राप्त भएका छन्। ती विकल्पहरूबारे विस्तृत अध्ययन र छलफल गरी निगमको संस्थागत र संरचनागत सुधार कार्य अघि बढाइनेछ।”

पर्यटनमन्त्री पाण्डेले हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन मन्त्रालयले उच्च प्राथमिकता दिएको बताए।

उनका अनुसार हालसम्म नेपाल सरकारले ४७२ वटा हिमाल आरोहणका लागि खुला गरिसकेको छ। ती हिमालहरूको प्रचार–प्रसार र प्रवर्द्धनका कार्यहरू तीव्र रूपमा भइरहेका छन्। साथै, ८ हजार मिटरभन्दा अग्ला हिमालहरूको बारेमा आधारभूत जानकारी समेटिएको पुस्तिका प्रकाशन गरी सूचना प्रवाह तथा प्रचार–प्रसारको काम भइरहेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad