कारोबार


कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

नेपालखबर
साउन २७, २०८२ मंगलबार १२:३८, चितवन

चितवनका किसानले पालेका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ। यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो।

कार्यालयका प्रमुख डा.विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो। कार्यालयले एलाइजा प्रविधिबाट गरेको परीक्षणका क्रममा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको हो।

९२ नमूना परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमूनामा यो रोगको पुष्टि भएको श्रेष्ठले बताए। यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्छ । जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्ने गरेको उनले बताए । उनले भने, ‘प्रत्यक्ष रूपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ।’

यस रोग लागेका कुखुरामा रक्तअल्पदा हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्ष्यण देखा पर्छ। उनले भने, ‘कुखुराले चारा खाने, हिँडडुल गर्ने गरे पनि यसको प्रभाव दीर्घकालीन रूपमा पर्ने भएकाले बेवास्ता गर्नु हुँदैन।’

नेपालमा यो रोग काठमाडौँमा पहिलोपटक दुई वर्षअघि देखिएको उनले जानकारी दिए। कुखुरालाई यो रोगबाट बचाउन ‘चिकेन एनेमिया भाइरस’ विरुद्धको भ्याक्सिन दिनुपर्ने उनले बताए। ब्रोइलरको माउ र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्ने उनकाे भनाई छ।

चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना यो प्रयोगशालामा परीक्षण हुँदै आएको छ। गत आर्थिक वर्षमा प्रयोगशालाले दुई हजार ५०० किसानका सात हजार कुखुराको परीक्षण गरेको छ। जसबाट ‘लो प्याथोनिक एभिएन इन्फुलुन्जा’ (एच–नाइन) ४८ वटामा, रानीखेत १३ वटामा, गम्बारो १२२ वटामा र आइबी ९इन्फुलुन्जा व्रोङ्गकाइटिस० दुई वटामा देखिएको श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सोही अवधिमा एक हजार १२० वटा कुखुराको कलेजो परीक्षण गरिएको थियो । सो परीक्षणबाट इकोलाई सात सय ८५ वटामा र साल्मोनेला एक सय १२ वटामा देखिएको उनले बताए । जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन्।

फार्ममा दाना, पानी, औषधि, भुसलगायत सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उनी बताउँछन्। बजारमा निःसङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्ने हुन्छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad