भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सडक विभागअन्तर्गत विभिन्न कार्यालयका टोलीलाई वर्षाजन्य प्रकोप हुनुभन्दा अघि नै आआफ्ना स्थानमा पुगिसक्न निर्देशन दिएका छन्।
जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि असोज २० गतेसम्म देशव्यापी वर्षा हुने भन्दै चेतावनी जारी गरेपछि त्यसबाट हुने सम्भावित विपद्विरुद्ध तयारी गर्न सम्पूर्ण डिभिजन प्रमुख, योजना प्रमुखलाई आफ्ना कार्यालयका अपरेटर तथा इन्जिनियर लिएर जोखिम क्षेत्रमा पुग्न मन्त्री घिसिङले भनेका हुन्।
उनले नागढुंगा-मुग्लिन, नारायणगढ-मुग्लिन, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्नेलगायत सडकमा बढी तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
‘विज्ञका विश्लेषण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी भएको सूचनालाई आधार मान्दा भोलिसम्म हाम्रा सम्पूर्ण डिभिजन प्रमुख, योजना प्रमुखहरू आफ्ना कार्यालयका अपरेटर तथा इन्जिनियरहरूका साथ आफ्नो स्थानमा सुरक्षित रूपमा पुग्नु बुद्धिमानी ठहर्छ’, घिसिङले जारी गरेको निर्देशनमा भनिएको छ, ‘प्रकोपछि चाहेर पनि जान नसक्ने अवस्था आउन सक्छ। यहाँहरू आआफ्नो स्थानमा सुरक्षित पुगेर ब्याकअप प्लानसहित सम्भावित प्रकोपका लागि तयार हुनुहोला। नागढुंगा-मुग्लिन, नारायणगढ-मुग्लिन, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्नेलगायत सडकहरूमा हामी बढी तयारी अवस्थामा रहनुपर्नेछ।’
दसैँको बिदामा पनि मन्त्री घिसिङ बीपी राजमार्ग अनुमगनमा खटिएका थिए।
Shares

प्रतिक्रिया