कारोबार


आन्दोलनरत कर्मचारीले खोलेनन् नेप्सेका अध्यक्ष र सीईओको कार्यकक्षमा लगाइएको ताला

आन्दोलनरत कर्मचारीले खोलेनन् नेप्सेका अध्यक्ष र सीईओको कार्यकक्षमा लगाइएको ताला

फाइल तस्बिर


नेपालखबर
असोज २०, २०८२ सोमबार १५:१५, काठमाडौँ

राजीनामा माग्दै आन्दोलनमा उत्रिएका नेपाल स्टक एक्सचेन्जका कर्मचारीहरूले आन्दोलनलाई दशैँपछि पनि निरन्तरता दिने भएका छन्।

नेप्से सिध्याउने खेलमा नेप्सेकै अध्यक्ष र सीईओ लागेको आरोपसहित आन्दोलनमा उत्रिएका कर्मचारीहरूले सोमबार पनि उनीहरूको कार्यकक्षमा ताला नखोलेका हुन्।

कर्मचारीहरूले अध्यक्ष हेमन्त बस्याल र सीईओ चूडामणि चापागाईंले स्वार्थसमूहलाई फाइदा पुग्ने गरी नेप्से सिध्याउनतिर लागेको आरोपसहित असोज ७ गतेबाट दुवैको राजीनामा माग्दै कार्यकक्षमा ताला लगाएका थिए। 

त्यसयता निरन्तर कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका कर्मचारीहरूले माग सम्बोधन नभएसम्मका लागि आन्दोलनलाई निरन्तरता दिने जनाएका छन्।

नेप्से कर्मचारी संघले असोज ८ गते विज्ञप्ति जारी गर्दै ६ महिनाअघि नियुक्त भएका अध्यक्ष बस्यालले नेप्सेलाई सुधार्नुको साटो थप कमजोर बनाउने काम गरेको आरोप लगाएका छन्।

अध्यक्ष हेमन्त बस्यालको कन्सल्टेन्सी र नेप्सेबीच पुरानो भुक्तानी विवाद रहेकै अवस्थामा उनी नेप्सेको अध्यक्षमा स्वार्थ बाझिने गरी नियुक्त भएको र सोलगत्तै उनले पुरानो हिसाब मिलाउने गलत उद्देश्यसहित नेप्सेमा प्रवेश गरेर समग्र संस्थालाई नै कमजोर बनाएको कर्मचारीहरूले बताएका छन्।

अध्यक्षले आएको ६ महिना बितिसक्दा समेत नेप्से पुनर्संरचना गर्न कुनै कदम नचालेको बरु नेप्सेको छवि धुमिल बनाउन तल्लीन रहेको कर्मचारीहरूको भनाइ छ। 

‘अर्थ मन्त्रालयमा पेस गरेको नेप्से पुनर्संरचना प्रस्तावलाई असफल बनाउन उनी सक्रिय देखिएको र सञ्चारमाध्यममा नेप्सेको स्वामित्वमा पुनर्संरचना हुनुहुँदैन भन्ने अभिव्यक्ति दिँदै सुधारको नाममा सतही परिवर्तन मात्र गर्ने तर मूल समस्यालाई जस्ताको तस्तै राख्ने रणनीति अपनाइएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसले सर्वसाधारणमा नेप्सेले केही गर्न सक्दैन भन्ने सन्देश जाने र स्वार्थी व्यापारी समूहलाई फाइदा पुग्ने स्पष्ट छ।’ 

उनीहरूले नेप्सेमा हुने ठूला खरिद प्रक्रियामा अनावश्यक हस्तक्षेप गर्ने, सोबाट कमिसन लिएर तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई चढाउने स्वार्थसहित अध्यक्ष बस्याल नेप्सेमा प्रवेश गरेको आरोप लगाइएको छ।

उनले राजीनामा दिनुपर्ने कर्मचारीको माग छ। असोज ७ गतेबाट आन्दोलन सुरु गरे पनि कर्मचारीहरूले बिहीबारदेखि भने हातमा कालोपट्टी बाँधेर धर्नामा बस्ने र प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा ताला लगाएर सीईओ र अध्यक्षको राजीनामाको माग गरेका थिए।

बीचमा दशैँ परेसँगै रोकिएको आन्दोलन दशैँ सकिएलगत्तै निरन्तर गर्ने योजना रहेको कर्मचारी तथा संघका सचिव पूजन ज्ञवालीले बताए।

उनका अनुसार नेप्सेका कुनै काम पनि प्रभावित नहुने गरी विरोधस्वरूप हातमा कालोपट्टी बाँध्ने तथा सीईओ र अध्यक्ष दुवैको कार्यकक्षमा ताला लगाएर आन्दोलनलाई निरन्तरता दिने योजना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad