स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जलविद्युत् कम्पनीहरुलाई साधारण सेयर निष्काशनको स्वीकृति नदिए आन्दोलन गर्ने चेतावनी दिएको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले उक्त चेतावनी दिएका हुन्।
धितोपत्र बोर्डको पाइपलाइनमा ३७ जलविद्युत् कम्पनीले आईपीओ निष्काशनको अनुमति कुरिरहेका छन्। यी कम्पनीको १८ अर्ब २६ करोडबराबरको सेयर अनुमतिको पर्खाइमा छ।
आन्दोलनबाट सरकार बनेकाले आईपीओ अनुमतिका लागि शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
‘आईपीओ अनुमति पाउन बिचौलियाको पछि लाग्नुपरेको छ’, उनले भने, ‘नयाँ सरकार आएको छ, जेनजी र हाम्रो माग एउटै छ। समयमा काम होस् भन्ने चाहना हो।’
त्यसैगरी उनले निःशुल्क सेयरको माग उठ्न थालेको भन्दै इप्पानले आईपीओ रोकिँदा स्थानीयले पाउने सेयर पनि जारी गर्न नसकिएको बताएको छ।
अहिले सेयर माग गर्दै स्थानीयले आन्दोलन गर्ने वातावरण तयार भइरहेको उल्लेख गरे।
इप्पानका उपमहासचिव प्रकाश दुलालले २०७२ सालमा गरिएको सम्झौताअनुसार भोटेकोशीको सेयर दिने सहमति भएको बताए। यसमा निःशुल्क सेयर दिने कुरा नभएको उनको स्पष्टोक्ति छ।
धितोपत्र बोर्डका कारण आईपीओ निष्काशन गर्न नपाउँदा कम्पनीमा ताला लागेको र अब बोर्डमा तालाबन्दी गर्नुपर्ने देखिएको उनले बताए। बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कमिसन माग गरेको भन्दै मिडियामार्फत बाहिर ल्याएको पनि उनले खुलाए।
उनले जेनजीको सरकार हो भने बर्खास्त गर्नुपर्ने उल्लेख गर्दै कमिसन खान पाइन्छ भने अध्यक्ष बोर्डमा बसिरहेको बताए।
पढ्नुहोस् इप्पानको धारणा
Shares

प्रतिक्रिया