आकर्षक रोजगारीको प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमारमा पुगेका तीन दर्जन नेपालीको नेपाली राजदूतावास थाइल्यान्डले उद्धार गरी नेपाल पठाएको छ।
दूतावासका अनुसार ३७ जना नेपाली म्यान्मारमा अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा विभिन्न अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा लगाइएका थिए।
अक्टोबर १९ मा स्क्यामिङ्ग केन्द्रमा म्यानमार सुरक्षाकर्मीको छापा परेपछि भाग्ने क्रममा थाइल्याण्ड प्रवेश गरेका थिए। उनीहरूलाई नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उद्धार गरी बुधबार नेपाल एयरलाइन्सको उडान नं. आरए४०२ मार्फत नेपाल फर्काएको हो।
त्यसैगरी, म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्यान्डको मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ जना नेपालीहरूलाई यथाशीघ्र नेपाल फर्काउने गरी म्यानमार, कम्बोडिया तथा थाईल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको दूतावासले जनाएको छ।
नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया