नेपाल वायुसेवा निगमले जापान उडानको नयाँ तालिका सार्वजनिक गरेको छ। निगमले भदौ १२ देखि वाइडबडीमार्फत प्रत्येक मंगलबार, बिहीबार र शनिबार राति २ः४० बजे जापान उडान गर्ने भएको हो।
निगमले यसअघि असार १९ गते काठमाडौंबाट जापानको ओसाका उडान भर्ने तालिका सार्वजनिक गरेको थियो।
जापानको ओसाका अन्तर्राष्ट्रिय विमानस्थलमा जुलाई ४ तारिखदेखि दैनिक तीन उडान भर्ने गरी उडान अनुमति पाएपछि सोही अनुमतिको आधारमा आगामी भदौ १२ देखि आफ्नै वाइडबडीमार्फत जापान उडान गरिने नेपाल एयरलाइन्सका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए।
निगमले आगामी दिनमा पनि पुरानै तालिकाअनुसार जापानको लागि उडान भर्ने जानकारी दिएको छ । जसअनुसार नेपालबाट जहाज २ः४० बजे उड्नेछ भने ओसाकाबाट जापानको समयअनुसार दिउँसो १ः५५ मा उडान भर्नेछ। अहिले छोटो दूरीको उडान गर्दै आइरहेको निगमको वाइडबडी जहाजले एक वर्षपछि जापानमा उडान गर्ने भएको हो।
यसअघि ओसाका विमानस्थलले भूमि व्यवस्थापन ‘ग्राउड ह्याण्डलिङ’को विषय टुङ्गो लगाउन नसक्दा जापान उडान केही समय लम्बिएको थियो।

प्रतिक्रिया