कारोबार


तेल र सुनको आयात घट्दा लकडाउनमा जोगियो २८ अर्ब

तेल र सुनको आयात घट्दा लकडाउनमा जोगियो २८ अर्ब

सन्तोष न्यौपाने
बैशाख १७, २०७७ बुधबार १२:९,

डेढ महिनादेखिको लकडाउनका कारण आर्थिक अवस्था कमजोर बनिरहेको बेला मुलुकबाट बाहिरिन सक्ने २८ अर्ब रुपैयाँ भने जोगिएको छ।

चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको तथ्यांकअनुसार तेल र सुनको आयातमा उल्लेख्य कमी हुँदा उक्त रकम बाहिरिनबाट रोकिएको हो।

भन्सार विभागको तथ्यांकअनुसार डिजेल, पेट्रोल, हवाइ इन्धन र सुन आयातमा २८ अर्बले कमी आएको छ।

चैत ११ देखि लगाइएको लकडाउनका कारण यातायात पूर्णरुपमा बन्द छ भने विकास निर्माण काम पनि रोकिएका छन्। सोही कारण तेलको खपत छैन।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५/०७६ को पहिलो नौ महिनामा १ खर्ब ४६ अर्ब ६६ करोडभन्दा धेरैको इन्धन र सुन आयात भएको थियो। सोही अवधिमा चालू आर्थिक वर्षमा १ खर्ब १८ अर्ब ६३ करोडभन्दा धेरैको उक्त वस्तुहरु आयात भएका छन्।

यस हिसाबले हेर्दा एक महिनाको अवधिमा मुलुकमा २८ अर्ब ३ करोड १३ लाखभन्दा धेरैको तेल र सुनको आयातमा कमी आएको छ।

सरकारले विलासी वस्तु आयातमा कमी ल्याउने नीतिका कारण सुन, महंगा कारको आयातमा कमी आएको अर्थविद् केशव आचार्यले बताए।

‘सुन नेपालको आवश्यकताको कुरा होइन’, आचार्यले भने, ‘महंगा कार, सुन जस्ता लक्जरी वस्तुको आयात घटाउनु सरकारको नीति पनि हो। यस दृष्टिकोणबाट हेर्दा यो राम्रो पक्ष हो।’

तेल आयातलाई दुई तरिकाबाट हेर्न सकिने आचार्यको भनाइ छ। पहिलो हो, विदेशी मुद्रा सञ्चितिमा कमी आउन पाउँदैन। शोधनान्तर बचत बढाउन यसले सहयोग गर्नेछ।

‘यसको एउटा फाइदा भनेको राष्ट्रबैंकको विदेशी विनिमयको मौज्दात त कम घट्नु हो’, आचार्यले भने, ‘यस हिसाबले हेर्दा यो राम्रो कुरा हो।’

अर्को पक्ष भनेको तेल आयात कमी हुँदा मुलुकको राजस्वदेखि विकास निर्माणमा कमी आएको बुझ्नुपर्ने हुन्छ। तेलको व्यापार गर्न नपाउँदा मुलुकलाई आउने राजस्व घट्छ।

साथै, सानादेखि ठूला विकास निर्माणका काम पनि हुँदैनन्। यातायातका साधनसँगै उद्योग, कलकारखाना, सिनेमा हलजस्ता ठूला क्षेत्र बन्द छन्। ठूला मात्रामा तेल खपत गर्ने जलविद्युत् आयोजना, खानेपानी आयोजना, सडक आयोजना बन्द छन्।

यसै कारणले डिजेल, प्रोट्रोल, एटीएफको माग नहुँदा लकडाउनपछि यी वस्तुको खतपमा कमी आएको छ।

‘यी वस्तु सरकारले नियन्त्रण गर्न खोजेरभन्दा पनि आफैँ घटेका हुन्’, आचार्यले नेपालखबरसँग भने।

विकास निर्माणका काम नहुनु भनेको मुलुकको विकास खर्च कम हुनु हो।

यस अवधिमा डिजेल र सुन आयातमा उल्लेख्य कमी आएको छ। विवरणअनुसार डिजेलको आयात गत आर्थिक वर्षको नौ महिनाभन्दा यो वर्षको उक्त अवधिमा १३ अर्ब ३८ करोड ५१ लाखले कमी आएको छ। गत वर्ष ८४ अर्ब ५२ करोड रुपैयाँ बराबरको डिजेल आयात भएकोमा चालू आवमा ७१ अर्ब १३ करोड ५० लाख रुपैयाँको आएको छ।

sun ra tel copy

त्यस्तै, यो वर्षको नौ महिनामा सुनको आयातमा १२ अर्ब ५४ करोड रुपैयाँले कमी आएको छ। गत वर्ष २६ अर्ब रुपैयाँबराबरको सुन आयात भएकोमा चालू आवमा १३ अर्ब ४६ करोड रुपैयाँबराबरको आयात भएको छ।

त्यस्तै, हवाइ इन्धनको आयातमा पनि १ अर्ब ७८ करोड ९५ लाखले कमी आएको छ। गत वर्षको पहिलो नौ महिनामा १० अर्ब ३८ करोड रुपैयाँबराबरको हवाइ इन्धन आयात भएको चालू आवको सोही अवधिमा ८ अर्ब ५९ करोड ५८ लाख रुपैयाँबराबरको आयात भएको छ।

चालू आवको नौ महिनामा पेट्रोलको आयातमा ३१ करोड ६२ लाखले कमी आएको छ। गत वर्षको नौ महिनामा ८४ अर्ब ५२ करोडको पेट्रोल आयात भएकोमा चालू आवको नौ महिनामा ७१ अर्ब १३ करोडको आयात भएको छ।

अर्कोतिर, तेलको मूल्य विश्वमै इतिहासकै सबैभन्दा सस्तो भएको छ। विश्वभर कोरोना भाइरस संक्रमणका कारण तेलका माग नहुँदा सस्तो भएको हो। विश्वमा पहिलोपटक तेलको मूल्य नकारात्मक भएको थियो।

यसकारणले पनि नेपालमा आउने तेल पनि केही सस्तो भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad