जनकपुरमा एम्बुलेन्स चालकमाथि प्रहरीले कुटपिट गरी कानको जाली फुटाएको घटनाको दुई सातापछि फेरि उस्तै घटना दोहोरिएको छ।
लकडाउनमा स्थानीय सरकारले बाँडिरहेको राहत लिन गएका एक मजदुरलाई प्रहरीले कुटपिट गरी कानको जाली फुटाएको घटना सार्वजनिक भएको छ। जनकपुरधाम उपमहानगरपालिकाद्वारा वडा नं. ४ को तिरहुतिया गाछीमा वितरण भइरहेको राहत लिन पुगेका भारतको बिहार घर भइ जकपुरमा ठेला चलाइरहेका सुजितकुमार साहलाई प्रहरीले कुटपिट गरी कानको जाली फुटाएको हो।
‘तिहुतिया गाछीमा राहत वितरण भइरहेको थियो। त्यहाँ राहत लिन जाँदा भिडभाड भयो। प्रहरीले लाठी प्रहार गर्न थाल्यो। म त्यहिँ ढलेँ’ घटना सुनाउँदै मजदुर साहले भने, ‘प्रहरीले मलाई पाण्डे मेडिकलमा लग्यो। केहिबेर सामान्य उपचार गरेर मलाई केही औषधि दिइ घर फर्कायो।’
साह जनकपुरमा २० वर्षदेखि ठेला चलाएर जीवनयापन गर्दै आइरहेका छन्। लकडाउनमा घरमा खाद्यान्न सकिएपछि राहत लिन गएको बेला प्रहरीको कुटपिटबाट आफ्नो बाँया कानको सुन्ने क्षमता नै गुमेको उनले दुखेसो पोखे ।
प्रहरीले कुटेपछि कानको अवस्था देखाउँदै उनले भने, ‘प्रहरीको लाठी प्रहारबाट मेरो टाउको र यो कानमा चोट लाग्यो। कान नै रक्ताम्य भयो। अब यो कानले सुन्न सक्दिन। दुखिरहेको छ।’
उनले आफूमाथि कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग गरेका छन्।
घटनाका विषयमा धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले राहत लिन पुगेका ती व्यक्ति मदिरा सेवन गरेर होहल्ला गर्दा प्रहरीले एक लठ्ठी खुट्टामा हिर्काएपछि लडेर कानमा सामान्य चोट लागेको दाबी गरे।
गएको वैशाख २ गते पनि जनकपुरमै ट्राफिक प्रहरीले कुटपिट गरी एक एम्बुलेन्स चालकको कानको जाली फुटाइदिएका थिए। धनुषाको गणेशमानचारनाथ नगरपालिकाको गोदार हेल्थपोस्टका एम्बुलेन्स चालक २३ वर्षीय कृष्ण मण्डललाई जनकपुरको मुजेलिया स्थित ट्राफिक प्रहरी जवान श्रवण रोय राजपुतले कुटपिट गरी बाँया कानको जाली फुटाएका थिए ।
Shares

प्रतिक्रिया